स्वास्थ्यकाे क्षेत्रमा बेग्लै सोंच र अभियानमा हिड्दै : पूर्वखाेला

पाल्पा,पुर्वखोला गाउँपालिका स्वास्थ्य शाखाले आफ्नो पालिका अन्तर्गतका नागरिकहरुको सहज स्वास्थ्य सेवा उपचारका लागि नागरिकको स्वास्थ्यमा पहुँच पुर्‍याउन विशेष योजना सहितको कार्यान्वयन गर्ने साेँच र अभियानकाे थालनी गरेको छ । स्वास्थ्य शाखा मार्फत स्थानीय स्वास्थ्य चौकी र समुदाय स्तरसम्म पुगेर स्वास्थ्य सेवाका कार्यक्रमहरुलाई अगाडि बढाएको गाउँपालिका गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउँनुभयो । पूर्वखाेला गाउँपालिकाले लक्षित समुदायसम्म पहुँच पुग्ने स्वास्थ्य कार्यक्रम संचालन गर्दै आएको हाे ।

गाउँपालिकाले बेलाबेलामा स्वास्थ्य शिविरकाे सञ्चालन गर्दै जनस्तरमा नागरिकको स्वास्थ्य चेकजाँच र औषधी वितरण एवं निःशुल्क आँखा शिविर सञ्चालनबाट १०३८ जना बढीले सेवा लिएकाे जानकारी गाउँपालिका अध्यक्ष थापाले गराउँनुभयाे । उहाँले गाउँपालिकाभित्रका ६ वटा वडामै पुगेर निःशुल्क आँखा शिविर सञ्चालन गर्दै पुर्वखोला गाउँपालिकाको आयोजनामा पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनको प्राविधिक सहयोगमा भएको शिविरबाट वडा नं. १ मा १ सय ९३, वडा नं. २ मा १७०, वडा नं. ३ मा २७५, वडा नं. ४ मा ११४, वडा नं. ५ मा १९३ र वडा नं. ६ मा ९३ जना गरी जम्मा १०३८ जना नागरिकहरुले आँखा जाँच गराएका थिए ।

त्यस्तै वडा नं. १ मा २१ जना, वडा नं. २ मा १३ जना, वडा नं. ३ मा ९ जना, वडा नं. ४ मा १२ जना, वडा नं. ५ मा १५ जना र वडा नं. ६ मा ११ जना गरी ८२ जना नागरिकहरुको मोतियाबिन्दुको अपरेशन गर्नुपर्ने देखिएको थियो । जसमध्ये फागुन १९ र २० गते पुर्वखोलामै पुगेर डा. सुचनकुमार पुनको नेतृत्वमा रहेको टोलीले ६४ जना नागरिकको मोतियाबिन्दुको अप्रेसन गरेको र केही बिरामीहरुले आफूलाई सहज हुने स्थानमा गएर अप्रेसन गराउँनुभएको थियोे । पूर्वखाेला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बेलाबेलामा हुने स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण एवं औषधी वितरण शल्यक्रिया निःशुल्क रुपमा रहेको र सबै खर्चकाे प्रवन्ध गाउँपालिकाले गरेको बताउँनुभयो ।

गाउँपालिकाले समुदाय स्तरमा रहेका बिरामीहरु सदरमुकाम वा अन्य अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार गराउन जानलाई टाढा हुने भएकोले रोग लुकाएर वा नजचाएर बस्ने अवस्था रहने भएकोले गाउँपालिकाले वडास्तरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन पनि बिभिन्न खालका शिविर सञ्चालन गर्दै आएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताउँनुभयाे । गाउँपालिकाभित्र पाँच वटा वडामा महिलाहरूको पाठेघरको क्यान्सर र महिलाको स्वास्थ्य परीक्षण शिविर सञ्चालन भइ सकेको र बाँकी रहेकोमा पनि छिटैनै यो शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । आगामी दिनमा पनि समुदायको मागअनुसार स्वास्थ्य शिविर सञ्चालन गर्दै जाने प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले बताउनुभयो । छिटै गाउँपालिका स्तरीय मुटुरोग सम्बन्धी शिविर सञ्चालनकाे तयारी भइरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउँनुभयाे ।

जिल्लामै नमुना कार्यक्रम
स्वास्थ्य क्षेत्रमा पुर्वखोला गाउँपालिकाको बेग्लै पहिचान छ । यो गाउँपालिकामा सुरुवातको समयदेखि नै नमुना कार्यक्रमहरू सञ्चालन हुँदै आएको छन् । पालिकाका सबै वडाहरुमा बर्थिङ सेन्टर सञ्चालन गर्ने पुर्वखोला जिल्लामै पहिलो गाउँपालिका हो । यस पालिकाले अघिल्लो वर्ष देखि नै सुरु भएको ४० वर्ष उमेर समूह माथिका ब्यक्तिहरुमा हुने मधुमेह र उच्चरक्तचाप सम्बन्धी स्क्रिनिङ कार्यक्रम जिल्लाकै नौलो कार्यक्रम रहेको छ । पूर्वखाेला गाउँपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिने गरी याेजना अघि बढेको स्वास्थ्य शाखा प्रमुख ढकालले बताउँनुभयो । समुदाय स्तरमा बढ्दो रुपमा रहेको नसर्ने रोगको उच्च स्थिति न्यूनीकरण गर्नका लागि यो कार्यक्रम प्रभावकारी हुने बिश्वास गाउँपालिकाले लिएको छ । त्यस्तै टिबी (क्षयरोगका बिरामीको खोज पड्ताल) को स्क्रिनिङ कार्यक्रमलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । यो कार्यक्रमलाई समुदाय स्तरमा पुग्ने गरि गाउँघर क्लिनिकसम्म पुर्‍याउने गरी योजना रहेको स्वास्थ्य शाखा प्रमुख ढकालले बताउँनुभयो ।
उहाँले यो गाउँपालिकाले वडा स्तरसम्म पनि बर्थिङ सेन्टरको ब्यवस्था गरेपछि घरमा सुत्केरी हुने महिलाहरुको संख्या सुन्य भएको छ । २०७५ सालदेखि नै गाउँपालिकाभित्रका कोही पनि महिला घरमा सुत्केरी नभएको र केही समयमै यो गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी सुनिश्चित गाउँपालिका घोषणा गर्ने तयारी रहेको र यसको सम्पूर्ण प्रक्रिया पूरा भएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताउनुभयो । गाउँपालिकाले नियमित गर्भ जचाउने गर्भवतीहरुलाई अण्डा उपलब्ध गराउँदै आएको छ । त्यस्तै सुत्केरी गराउन ल्याउने सहयोगीलाई ५ सय र सुत्केरी महिलालाई ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । त्यस्तै रेफर गर्नुपर्ने अवस्था आएमा गर्भवती महिलालाई एम्बुलेन्स भाडा समेत पालिकाबाट उपलब्ध गराउदै आएको छ । त्यस्तै सुत्केरीलाई खानाको ब्यवस्था पनि गरिएको छ ।

त्यस्तै गाउँपालिकाको स्वास्थ्य शाखा मार्फत जेष्ठ नागरिकको घरदैलोमा पुगी स्वास्थ्य परीक्षण तथा औषधी बितरण कार्यक्रम पुर्वखोला गाउँपालिकाले प्रदेशमै पहिलोपटक सूरु गरेको थियो । यो वर्ष पनि उक्त कार्यक्रमले निरन्तरता पाउने बताइएको छ । पुर्वखोला गाउँपालिकाको बीरकोटमा निर्माणाधिन पन्ध्र शैयाकाे अस्पताल निर्माण कार्य झण्डै ७० प्रतिशत सम्पन्न भएको छ । यो अस्पताल निर्माण सम्पन्न भएपश्चात बीरकोट स्वास्थ्य चौकीलाई समेत सोही अस्पतालमा स्थानान्तरण गरी थप गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउँनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *