स्वास्थ्य कार्यालयको वार्षिक समीक्षा तथा कार्ययोजना गोष्ठी सुरु

पाल्पा, स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा वार्षिक समीक्षा तथा कार्ययोजना गोष्ठी तानसेनमा सुरु भएको छ ।जिल्लाका स्थानीयतहका स्वास्थ्य शाखा प्रमुख र अस्पताल एवं स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको गोष्ठीमा आर्थिक वर्ष २०७९/८० मा भए गरेका कामकाे प्रगति कार्यसम्पादनमा प्राप्त भएका उपलब्धि स्वास्थ्य सेवाको प्रगति समीक्षा गर्नुका साथै स्वास्थ्य क्षेत्रमा रहेका सम्भावना, अवसर र चुनौतीका विषयमा छलफल गरि चालु आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक कार्ययोजना तयार गरिने स्वास्थ्य कार्यालय प्रमुख डा.राजेन्द्र गिरीले जानकारी गराउनुभएकाे हाे ।

समीक्षा तथा कार्य प्रगति गोष्ठीमा जिल्लामा स्वास्थ्यकाे सेवा प्रवाहकाे अवस्था र गत वर्षको प्रगतिका विषयमा स्वास्थ्य कार्यालय पाल्पाका तथ्यांक अधिकृत टुकप्रसाद पोखरलले जानकारी गराउनुभएको थियो ।

स्वास्थ्य कार्यालयकाे समीक्षा गाेष्ठी कार्यक्रममा पाल्पा क्षेत्र नं. १ का संघीय सांसद नारायणप्रसाद आचार्यले आम नागरिकहरूले क्रमिक रुपमा स्वास्थ्य सेवालाई सहज रुपमा प्राप्त गर्ने अवस्था निर्माण भैरहेको बताउँदै उहाँले यस विषयमा स्वास्थ्यकर्मीहरुको सक्रियता प्रशंसायोग्य रहेको बताउनुभयो ।कार्यक्रममा संघीय सांसद आचार्यले कोभिड-१९ को संक्रमणका बेला स्वास्थ्यकर्मी हरूले गरेको काम र भूमिका निर्वाह महत्वपूर्ण रहेको स्मरण गर्दै उहाँले जिल्लाका ठूला अस्पतालहरुले अधिकार मात्र खोज्ने तर दायित्वका विषयमा भने गैर जिम्मेवार बन्दा पाल्पाली जनताले ती अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमकाे सेवा लिनबाट बन्चित हुन पुगेको संघीय सांसद आचार्यले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले लिखित रुपमा आउने प्रगति प्रतिवेदन अत्यन्तै राम्रो हुने गरेको बताउँदै सोही अनुसारको सेवा दुरदराजसम्म पुगेको ग्यारेण्टी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लामा सबैभन्दा पहिला स्वास्थ्य संस्थाको भौतिक पूर्वाधारकाे अवस्थालाई सुधार गरि दक्ष जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

अर्का प्रदेश सभा सदस्य खेमबहादुर सारुले पहिला स्वास्थ्य नै धन हो भन्ने भनाई परिर्वतन भएर पछिल्लो समय स्वास्थ्य नै जीवन भन्ने परिभाषा स्थापित हुँदै गएको बताउनुहुदै उहाँले शारीरिक स्वास्थ्यलाई महत्व दिएको भएपनि मानसिक तथा सामाजिक स्वास्थ्यका विषयमा गम्भीर हुन नसक्दा र स्वास्थ्य प्रति विशेष ध्यान दिन नसक्दा विभिन्न खाले समस्या समाजमा बढेर गएको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति पाल्पा प्रमुख टंकनाथ खनालले समीक्षा गाेष्टीमा बाेल्नुहुँदै उहाँले नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित हुनेगरी काम गर्नुपर्ने बताउँदै आम नागरिकको स्वास्थ्यमा पहुँच पुग्न नसकेकोले ती वर्गहरूमा सहज रुपमा कसरी स्वास्थ्य सेवा पुर्‍याउन सकिन्छ । त्यही अनुसारको आम नागरिककाे स्वास्थ्य सेवा पुर्‍याउने गरी समीक्षा गोष्ठीमा विचार राख्दै उहाँले स्वास्थ्य कार्यालयले त्यही अनुसारको कार्ययोजना तयार गरि कामलाई अघि बढाउनुपर्ने विषयमा जोड दिनुभयो ।

स्वास्थ्य कार्यालयकाे समीक्षा गोष्ठीमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले स्वास्थ्य कार्यालयकाे वार्षिक कार्यप्रगति समीक्षाबाट स्वास्थ्य सेवामा भएको उपलब्धी,सेवा सम्पादनकाे क्रममा देखिएका समस्याहरू र चुनौती सम्भावनाका विषयमा अर्थपूर्ण छलफल गरी कार्ययोजना निर्माणका लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँले राज्यबाट नागरिकको स्वास्थ्यमा लगानी बढेको कुरा नागरिकलाई बुझाउनुपर्ने आवश्यकता रहेको भन्दै उहाँले यसका लागि स्वास्थ्य कार्यालयबाट भएको कार्यसम्पादन प्रगति कम भएको बताउँदै यस विषयमा समस्याको पहिचान गरि त्यसको समाधान खोज्न समीक्षा गाेष्टी सफल हुनेमा आफुले विश्वास लिएको कुरा व्यक्त गर्नुभयो ।

समीक्षा गाेष्ठीमा कार्यालय प्रमुख डा. गिरीले जिल्लाको स्वास्थ्य अवस्थाको सुधारका लागि यथार्थ योजना बनाउनुपर्ने धारणा राख्दै उहाँले अहिले जिल्लामा बालविवाह एउटा सामाजिक सवाल बनेकोले यस विषयमा सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । कार्यालय प्रमुख डा.गिरीले स्वास्थ्य सेवा सुधारका लागि सेवामा गुणस्तरीय सेवा उपलब्ध हुनेगरी एकीकृत प्रसुति गृह सञ्चालन र दक्ष जनशक्तिकाे व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

सोमबारदेखि सुरु भएको गोष्ठीमा दश स्थानीय तहको प्रगति प्रस्तुती गरिएको छ । मंगलबार अन्य अस्पताल तथा स्वास्थ्य संग सम्बन्धित संस्थाहरुको प्रस्तुति, दुई स्थानीयतहलाई सम्मान गरिने स्वास्थ्य कार्यालय सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *