स्वास्थ्य संस्थामा प्रयाेग हुने पानी दुषित: भेटियाे काेलिफर्म

पाल्पा, जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा बिरामीले प्रयोग गर्ने पानी दूषित रहेको भेटिएको छ। जिल्लाका ८९ वटा स्वास्थ्य संस्थामा बिरामीहरूले प्रयोग गर्ने पानीको चेकजाँच गर्दा ३४ वटा स्वास्थ्य संस्थाको पानी दूषित रहेको भेटिएको हो।

स्वास्थ्य कार्यालय पाल्पाबाट जिल्लाका दुईवटा नगरपालिका सहित आठवटा गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा पिउने पानीको शुद्धता जाँच गर्दा रिब्दीकोट गाउँपालिकाका आठवटा स्वास्थ्य संस्थाहरूको पानी जाँच गरिएकोमा छ वटा स्वास्थ्य संस्थामा प्रयोग हुने पानीमा कोलिफर्म जीवाणु फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसूधन भट्टराईले जानकारी गराउनुभएकाे हाे । उहाँका अनुसार पानीमा भेटिएको कोलिफर्म तातो रगत भएका जीवजन्तु तथा मानिसको दिशामा पाइने एक प्रकारको जीवाणु हो उहाँले भन्नुभयो ।यस्तै माथागढीको १२ वटा स्वास्थ्य संस्थामा जाँच गरिएकोमा छ वटामा, बगनासकालीको आठ वटामा जाँच गर्दा छ वटा स्वास्थ्य संस्थाको पानी दूषित भेटिएको छ। रैनादेवी छहराको नौ वटामा जाँच गरिएकोमा तीन वटामा कोलिफर्म भेटियो भने तिनाउका आठ वटाको जाँच गर्दा तीन, रम्भाको आठमा दुई, निस्दीको आठमा तीन, रामपुरको छ वटा जाँच गरिएकोमा तीन र तानसेनको १२ को जाँच गर्दा एक वटा संस्थाको पानीमा कोलिफर्म जीवाणु फेला परेको भट्टराईले बताउनुभयो।

स्वास्थ्य कार्यालयले पिउने पानीको गुणस्तर सुधार तथा सचेतना अभिवृद्धि गर्न र पानीजन्य महामारीबाट बच्न यो वर्ष पानीको गुणस्तर चेकजाँच गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।जाँच गरिएकाे मध्ये ४० प्रतिशत पानी दूषित रहेको भेटिएकोले दुषित पानीको गुणस्तर सुधार गर्न सुझाव दिएको र पानीको गुणस्तर चेकजाँच पछि अधिकांश स्वास्थ्य संस्थाकाे पिउने पानीमा गुणस्तर सुधार हुने विश्वास लिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले स्वास्थ्य संस्थामा बिरामीले प्रयोग गर्ने पानी दूषित हुनु गम्भीर विषय भएकाले पालिका र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थाकै पानी दूषित देखिनु गम्भीर विषय हो। अझ आम नागरिक, विद्यालयका बालबालिका तथा होटलमा प्रयोग हुने पिउने पानीको अवस्था कस्तो होला ?” सर्वसाधारण नागरिकले प्रयोग गर्ने पानीको गुणस्तरबारे स्थानीय तह र खानेपानी कार्यालयले आवश्यक काम तथा जनचेतना अभिवृद्धिका कार्यक्रम गर्नुपर्नेमा प्रजिअ बास्तोलाले जोड दिनुभयो।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाका प्रमुख अनुप उपाध्यायले खानेपानीको शुद्धताका लागि उपभोक्तालाई सचेत बनाउने कार्य भइरहेको बताउनुभयो। पानी दूषित मानिसको व्यवहारका कारण पनि हुन सक्ने भएकाले दूषित भएको स्थानको पहिचान गरेर आवश्यक सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ। स्वास्थ्य कार्यालयले पानीको धमिलोपना, इकोली, कोलिफर्म, क्लोरिन, कन्डक्टिभिटी, पिएच लगायतका जाँच गरेको थियो। जिल्लाको स्वास्थ्य संस्थामा प्रयोग हुने पानीको गुणस्तर सुधार गर्न आगामी दिनमा पनि पानी जाँचको कार्य निरन्तर हुने कार्यालयका सूचना अधिकारी टीकाराम अधिकारीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *