स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै पूर्वखोला गाउँपालिका

पाल्पा, पूर्वखोला गाउँपालिकाले हरेक नागरिकको सहज पहुँच हुने गरी स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा पालिकाभित्रका रहेका सबै स्वास्थ्य संस्थामा स्तनपान सप्ताह, भिटामिन “ए” कार्यक्रम, क्षयरोग खोजपडताल कार्यक्रम गरेको छ । जस अनुसार देवीनगरमा १२ जनाको परीक्षण गर्दा २ जना पोजिटिभ भेटिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभएकाे छ। यसका साथै सिलुवामा ५५ जनाको खकार संकलन गरेकोमा २ जना पोजेटिभ भेटिएपछि उनीहरुको उपचार सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख ढकालले  बताउँनुभयाे।

गाउँपालिकाभित्र अहिले ३६ जना नयाँ तथा दोहोरिएका क्षयरोगीलाई प्रत्यक्ष निगरानीमा राखी उपचार गर्दै आएको गाउँपालिकाले जनाएको हाे । गाउँपालिकामा स्वास्थ्य सम्बन्धी कार्यक्रमको समीक्षा, विभिन्न तालिम तथा दिवस मनाइएको छ । यसका साथै विकटबस्तीका जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने गरी २ नं. वडाको धुसेनीमा गाउँघर क्लिनिक स्थापना गरिएको अध्यक्ष नुनबहादुर थापाले बताउनुभयाे । उहाँले गाउँपालिकाबाट प्राप्तहुने स्वास्थ्य सेवा सम्वन्धि विषयमा जनचेतना कार्यक्रम महत्वपूर्ण हुने बताउँदै समुदायस्तरमा गएर सरुवा रोग तथा नसर्ने रोग सम्बन्धी सचेतनाका कार्यक्रम गर्दै आएको बताउनुभयाे । गाउँपालिकाले यसका साथै समुदायमा हुने बालविवाह न्यूनीकरणका लागि किशोर किशोरी तथा आमा समूहलाई जनचेतनामुलक कार्यक्रम गर्दै त्यसको न्यूनीकरण गर्न विषेश याेजना सहित अघि बढिरहेको जानकारी दिनुभयो ।

गर्भवती महिलाहरुहरुको स्वास्थ्यलाई ध्यानमा राखेर सुरु गरेको भिडियो एक्सरे सेवामा अहिले सम्म १ सय ९७ जनाले सेवा लिएकाे अध्यक्ष थापाले बताउँदै जसले गर्दा महिलाहरूका लागि नियमित स्वास्थ्य चेकजाँच गर्न सुविधा मिलेको र स्थानीय स्तरमै स्वास्थ चेकजाँच गर्न पाउँदा गाउँपालिका बाहिर गएर खर्चिने समयकाे बचत समेत भएको अध्यक्ष थापाले बताउनुभएको हाे । उहाँले अहिलेसम्म संस्थागत सुत्केरी हुनेको संख्या एक सय जना पुगेको जनाउँदै गाउँपालिकामा रहेका २ सय २० जना बच्चालाई पूर्णखोप लगाइएको छ  भन्नुभयो ।

त्यस्तै चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म १६ हजार ३ सय ७२ जना नयाँ बिरामीले स्वास्थ्य संस्थाबाट औषधि उपचार सेवा लिएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताउनुभयाे । उहाँले सुरक्षित गर्भपतन सेवा सबै स्वास्थ्य चौकीमा सुरुवात गरिएको बताउँदै हालसम्म ४० जनाले गर्भपतन सेवा लिएको जानकारी दिदै उहाँले गाउँपालिका भित्रका हाल सम्म १ सय ८५ जना गर्भवती महिलाहरुलाई संस्थागत सुत्केरी सुनिश्चित गर्न ४ पटक परीक्षण गर्नेलाई अण्डा वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताउनुभयो । उहाँले त्यस्तै गाउँपालिकाले मृगौला प्रत्यारोपण गरेका बिरामी र डायालाईसिस गरिरहेका बिरामी हरूसंगै क्यान्सर भएका बिरामी ३१ जनालाई मासिक यातायात खर्च उपलब्ध गराउँदै प्रत्येक व्यक्तिको बैंक खातामा जम्मा गरिदिने व्यवस्था गरिएको छ । जटिल खालको रोग लागेका १४ जनालाई नेपाल सरकारले दिने बिपन्न नागरिक औषधि उपचार खर्चको लागि सिफारिस गरिएको, महिलाहरूको पाठेघरको क्यान्सर सम्बन्धी शिविर संचालन गरी ४ सय २७ जनालाई स्वास्थ्य सेवा दिएको बताउँदै ६ वटै वडामा आँखा शिविर संचालन गरी २५ जना बिरामीको मोतिबिन्दुको शल्यक्रिया गरिएको गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम अन्तरगत ६ सय १० जना ज्येष्ठ नागरिक तथा ४९ जना अपांगलाई घरमै गई स्वास्थ्य उपचार तथा परामर्श सेवा दिइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर सारुले बताउनुभयाे । उहाँले शिक्षक तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि नाक, कान, घाटी तथा मुख स्वास्थ्य तालिम, गाउँपालिकाका ३८ वटा विद्यालयको स्वास्थ्य फोकल शिक्षकलाई आँखा सम्बन्धी तालिम र ३० जना महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई आँखा जाँच सम्बन्धी तालिम दिएको बताउनुभयाे ।

गाउँपालिकाले ४० देखि ७० वर्ष सम्मका नागरिकहरूका लागि स्वास्थ्य शिविर आयोजना गरी १ हजार ५ सय ८६ जना महिला, पुरूषकाे स्वास्थ्य जाँच गरिएको र ८ सय ९२ जनालाई मधुमेह र उच्च रक्तचाप जाँच गरिएको गाउँपालिकाले जनाएको छ । जसमा महिला ३ सय ८९ र पुरुष २ सय ७३जनालाई मधुमेहको संकास्पद अवस्था भेटिए भने महिला ४ सय १९ र पुरुष ३ सय ३ जनालाई उच्च रक्तचाप देखिएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताउँनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *