हाम्रो प्रमुख उद्देश्य नै निम्नवर्ग समुदायका मानिसहरूको जीवनस्तर माथि उकास्नु नै हो – कार्की

(रिब्दिकोट गाउँपालिका ७,पालुङमैनादी निबासी श्री नारायण बहादुर कार्की हाल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तर्फबाट निर्वाचित रिब्दिकोट गाउँपालिका अध्यक्ष हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन पूरा गर्नु भएका श्री कार्कीले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा केही वर्ष प्राध्यापन समेत गर्नु भएको छ ।अत्यन्तै सरल,मृदुभाषी ,विकास प्रेमी एवम् बौद्धिक व्यक्तित्वका धनी श्री नारायण बहादुर कार्कीसँग इ-उत्तरदायित्व.कमका सह-सम्पादक श्री नवराज ज्ञवालीले गर्नु भएको कुराकानी यहाँ प्रस्तुत छ ।)

१) अध्यक्षज्यू यहाँलाई हार्दिक स्वागत छ ।
धन्यवाद । यहाँलाई पनि स्वागत गर्न चाहन्छु ।

२) यहाँले रिब्दिकोट गाउँपालिकाको नेतृत्व गरिरहनु भएको छ । जनताको चाहना र आवश्यकता अनुसार बिकास निर्माणका कामहरु कसरी अगाडि बढिरहेका छन् ?
मैले रिब्दिकोट गाउँपालिकाको नेतृत्व गरिरहदा रिब्दिकोटभित्र रहेका ८ वटा वडाभित्र हामीले चुनावमा गरेका प्रतिवद्वता अनुसार हाम्रो स्रोत र साधनले भ्याएसम्म रिब्दिकोट बासी जनताको जीवनस्तर माथि उकास्ने गरी आफ्नो क्षमताले भ्याएसम्म बिकास निर्माणका कामहरुलाई अगाडि बढाईरहेको छु ।

३) जनताले गरेको तपाईंप्रतिको विश्वासलाई के कसरी सम्वोधन गर्ने बिचारमा हुनुहुन्छ ?
जनताले हामीप्रति गरेको विश्वासलाई जनतामा उत्साह पैदा गर्ने, ऊर्जा भर्ने र खुशी पार्नेगरी निष्पक्ष ढंगबाट काम गरेर जनताको जीवनस्तर माथि उकास्ने किसिमले सम्वोधन गरिरहेको छु र गर्ने बिचारमा छु ।

४) रिब्दिकोटको पहिचान र बिकास निर्माणको लागि आवश्यक शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन एवम पूर्वाधार जस्ता महत्वपूर्ण आधारभुत क्षेत्रमा आधारित नीति तथा कार्यक्रम बजेट तर्जुमा गरी जनताको आवश्यकता अनुसारका कार्यक्रम बनाउनु भयो । माग अनुसारको योजना भएर पनि बिकास र निर्माणको काममा जनसहभागिता शून्य रहनु र रुचि नहुनुमा के के कारण हुन् सक्छन् ?
– विकास निर्माणको काममा जनसहभागिता यहाँले भनेजस्तो शुन्य भन्ने छैन र होईन पनि । कतिपय अवस्थामा यहाँले भनेजस्तो होला । तर पनि जन सहभागिताबिना कुनै पनि काम भरपर्दो र दिगो नहुने कुरा जनतालाई बुझाउदै जादा र जनतालाई नै अधिकार सुसम्पन्न गराईसकेपछि जनता आफै आफ्ना बिकास निर्माणका काममा जुट्नुहुन्छ भन्ने कुरामा विश्वस्त छौं । जस्तै ‘म बनाउछु मेरो रिब्दिकोट’ ‘खनौं आफ्नो माटो, छोडौं बिदेशको बाटो’ भन्ने हाम्रोे अभियानमा धेरै जनताहरु उत्साहपुर्वक जुट्दै बिभिन्न कार्यहरुमा संलग्न भइरहेको र सक्रियताको क्रम बढ्दै गइरहेको अनुरोध गर्न चाहन्छु ।

५) विकास निर्माण र सामाजिक काममा जनसहभागिता गराउनु र गाउँपालिकाले गर्ने हरेक कामहरुमा नागरिकको उपस्थिति हुनुपर्छ भन्ने भावनाको बिकास गर्नलाई यहाँले नेतृत्वको हैसियतले आम नागरिकलाई के भन्नुहुन्छ ?
– यहाँले भनेकै कुरालाई आत्मसाथ गर्दै जनताबाट नै आफ्नो समाज, गाउँ, टोलको बिकास हुन्छ भन्ने अवधारणालाई मध्यनजर गरी बिभिन्न बिकास निर्माणका कार्यहरुमा सम्भव र कानुन सम्मत भएसम्म उपभोक्ता समिति गठन गरी जनताबाट नै बिकास निर्माणका कार्यहरु गराउने लक्ष्य अगाडि सारी कामहरु गरिरहेको अवस्था छ ।

६) कतिपय अवस्थामा स्थानिय तहमा नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा संघीय तथा प्रदेश कानुनका समस्या पनि होलान् । कानुनी समस्या हल गर्न यहाँहरुले लिने नीति के होला ?
– हामीले बिकास निर्माणका हरेक कार्यहरु गर्दा स्थानिय सरकार सञ्चालन ऐनको धरातलमा रहेर गरिरहेको अवस्था छ । अहिलेसम्म त्यस्तो कानुनी समस्या आईपरेको अवस्था छैन । त्यस्तो समस्या जहाँसम्म नहोला तर भविश्यमा त्यस्ता किसिमका कानुनी समस्याहरु आईपर्ने देखिएमा गाउँ सभाबाट त्यस्ता कानुनहरु बहुमतले पारित गरी हाम्रो गाउँपालिकाको बिकास निर्माणका कार्यहरुलाई निरन्तरता दिने नीति बमोजिम अगाडि बढ्ने छौँ ।

७) कानुनी अस्पष्टता, दक्ष जनशक्तिको अभाव, नीतिगत अन्यौलताको कारण आर्थिक बर्षमा प्रस्तुत भई पारित गरिएका नीति कार्यक्रमहरु कार्यान्वयन हुन नसकी फिर्ता भएका छन् कि ?
– हामी सरकार सञ्चालनको एक आर्थिक बर्षको दौरानमा नै छौँ । अहिलेसम्म आइपुग्दा हामीले आर्थिक बर्षको शुरुवाती चरणमा बिभिन्न शीर्षकहरुमा बिनियोजन गरेको बजेटबाट हुनुपर्ने लगभग धेरै कार्यहरु सम्पन्न गरी भुक्तानी समेत भईसकेको अवस्था छ । यो अवस्थामा आईपुग्दासम्म समस्याहरु आएर कार्यक्रमहरु कायान्वयन हुन नसकी फिर्ता हुने सम्भावना छैन ।

८) जनकेन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा यहाँले अवलम्वन गर्ने आधार र योजना बाँडफाँडका लागि कानुनले निर्दिष्ट गरेका बिषयहरुमा यहाँले के भन्नुहुन्छ ?
– जनचाहना र आवश्यकता तथा पालिकाको स्रोत र साधन परिचालनका सम्वन्धमा हामी स्थानिय सरकार सञ्चालन ऐनको कानुनको धरातलमा टेकेर नै अगाडि बढिरहेको अवस्था छ । हामी कानुनको शत प्रतिशत पालना गरेर नै हाम्रा बिकास निर्माणका गतिविधिहरुलाई अगाडि बढाउने लक्ष्य राखी पालिकाभित्रका हरेक बिकास निर्माणका कार्यहरु गर्ने पक्षमा रहेको कुरा अवगत गराउन चाहन्छु ।

९) जनभावना अनुसार नीति कार्यक्रम आएता पनि जनगुनासाहरु त उत्तिकै छन् नि । कारण के होला ?
– स्वभाविक रुपमा समयको माग अनुसार जनताको चाहना र आवस्यकताहरु असिमित छन यद्देपी सिमित स्रोत, साधन हुदाहुदै पनिे हामि सरकार सञ्चालनको १ बर्षे दौरानमा नै छौं । यो समयसम्म आईपुग्दा हामिले जनभावना अनुरुप कृषि, प्रर्यटन, खानेपानी, भौतिक निर्माण लगाएत जनताको चाहनासंग जोडिएका बिभिन्न क्षेत्रहरुमा काम गरिरहेको अवस्था छ, परिणाम आउन त पक्कै केहि समय कुर्नु नै पर्नेहुन्छ ।

१०) रिब्दिकोटको बिकाससंगै समृद्ध बनाउन गरिएका प्रयासहरु के के हुन् ?
– रिब्दिकोट गाउँपालिकालाई संमृद्ध बनाउनका लागि कृषि क्षेत्रमा पालिकाको धेरै प्रतिशत बजेट बिनियोजन गरी यहाँका कृषकहरुलाई आधुनिक, बैज्ञानिक प्रविधिसंग जोड्दै कृषकहरुले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणको ब्यबस्था गर्नका लागि पालिकाभित्र रहेका कृषि सहकारीसंग समन्वय गर्दै कृषकहरुको उत्पादनलाई बजारीकरण गर्ने सोचमा छौं । साथै रिब्दिकोट गाउँपालिका पर्यटकिय दृष्टिकोणले पनि महत्वपूर्ण पालिका भएकोले यहाँ रहेका धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक दृष्टिकोणले महत्वपुर्ण मानिएका पर्यटकिय क्षेत्रहरुको संरक्षण, संवर्धन गर्दै पर्यटन प्रवद्र्धन गरी यहाँका जनताहरुको आयस्तर बृद्धि गर्ने लक्ष्य रहेको छ । साथै बिभिन्न किसिमका सिप, तालिमहरु प्रदान गरी यहाँका जनताहरुलाई स्वरोजगारसंग जोड्ने पालिकाको लक्ष्य रहेको कुराको जानकारी गराउँन चाहन्छु । यहाँको शिक्षा, स्वास्थ्य, बाटोघाटोदेखि लिएर जनताको जीविकोपार्जनसंग जोडिएका समग्र पक्षहरुलाई ध्यानमा राखी हामी अगाडि बढिरहेको अवस्था रहेको जानकारी गराउन चाहन्छु ।

११) बिकासका निम्ति सम्भावनाका क्षेत्रहरु र निम्नवर्ग समुदायका निम्ति यहाँले प्रस्तुत गरेका नीति कार्यक्रम र बजेटका बारेमा केहि बताइदिनुहोस् न ।
– हाम्रो प्रमुख उदेश्य नै निम्नवर्ग समुदायका मानिसहरुको जीवनस्तर माथि उकास्नु नै हो । त्यसका निम्ति हामिले बिभिन्न संघ संस्थाहरुसंग समन्वय गरी बिभिन्न लक्षित कार्यक्रमहरु संचालन गर्दै आइरहेका छौं । गाउँ, टोल र समुदायमा निम्न स्तर भएका ब्यक्तिहरु पहिचान गरी बिभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्दै आईरहेका छौं जसले गर्दा ती ब्यक्तिहरुले आफुले सिकेको सिपले सहज ढंगबाट जीविकोपार्जन गर्न सकुन् । निम्न स्तरका मानिसहरुको अवस्था उकास्ने उदेश्यले नै कृषि क्षेत्रमा ठूलो राशिको अनुदानको ब्यबस्था समेत गरिरहेको कुरा सर्वविदितै छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा पनि निम्न स्तर भएका मानिसहरु छनौट गरी गाउँ, टोलका सामान्य बिकास निर्माणका कार्यहरुमा संलग्न गराईएको अवस्था छ । साथै यो बर्ष पालिकाभित्रका प्रत्येक वडाका टोलहरुबाट दैनिक ज्यालादारी गरी आफ्नो जीविकोपार्जन गर्ने ब्यक्तिहरुको तथ्याङ्क संकलन गरी न्यूनतम रोजगारीमा संलग्न गराउने पालिकाको लया रहेको छ ।

१२) यहाँले नीति तथा कार्यक्रममा भन्नुभएको छ गुणस्तरीय, आर्थिक, भौतिक, सामाजिक पूर्वाधार बिकासको माध्यमद्वारा समृद्ध रिब्दिकोट । प्रस्तुत नीति तथा कार्यक्रम अनुसार समृद्ध बनाउने आधार कहिँ कतै भएको देखिदैन तर पनि प्रत्येक बर्ष उक्त समृद्धिको नारा लिएर नीति तथा कार्यक्रम आउदैमा समृद्धि प्राप्त हुन्छ र ?
– त्यस्तो यहाँले भनेजस्तो पनि होईन । समृद्ध रिब्दिकोट बनाउने उदेश्यले नै हामीले कृषि क्षेत्रमा जनअपेक्षा अनुसारको अनुदानको ब्यबस्था गरेका छौं । संमृद्ध पालिका बनाउने मुख्य माध्यम भनेको शिक्षा हो, त्यही कुरालाई मध्यनजर गरी पालिकाले आफ्नो बजेटको करिव एक तिहाई बजेट शिक्षा क्षेत्रमा बिनियोजन गरेको छ । संमृद्ध पालिका बनाउने उदेश्यले नै हामी सबैको पहलबाट अहिले भर्खर नेपाल सरकारबाट रिब्दिकोट गाउँपालिका वडा न. ३ को चकल्दी क्षेत्रमा औंद्योगिक ग्राम स्विकृत भई अब छिट्टै संझौता हुने प्रकिृयामा रहेको कुरा समेत यहाँलाई अवगत गराउन चाहन्छु । यसका अतिरिक्त नियमित भैरहने बिकास निर्माणका गतिबिधिहरु नियमित रुपमा संचालमा छन् ।

१३) अघिल्लो समिक्षा अवधिमा गरिएका कामको प्रगति र सम्पन्न भएका योजनाको मुल्याङ्कन कसरी भई रहेको छ ?
– कामको प्रगति सकारात्मक र द्रुत गतिमा हँुदै गएको छ । साथै सम्पन्न भएका योजनाको मुल्याङ्कन प्राविधिकहरुको सहयोगमा उपाध्यक्षको संयोजकत्वमा अनुगमन भईरहेको छ । कुनै त्यस्ता योजनाहरुको मुल्याङ्कन गर्दा अपुरो भएजस्तो लागेमा ती योजनाहरुलाई पुन काम गराई सम्पन्न गराउने कार्य भैरहेको छ ।

१४) गाउँपालिकाको दिर्घकालिन महत्व राख्ने गौरवका आयोजनाहरु केही छन् कि ? यदि भएको भए तिनको अवस्था र कामको प्रगतिबारे भनिदिनुहोस् न ।
– गाउँपालिकाको त्यस्तो महत्व राख्ने गौरवका आयोजनाहरु नभए पनि संघिय सरकार, प्रदेश सरकार र हाम्रो आफ्नो पालिकाको तर्फबाट सञ्चालित ठूला आयोजनाहरु संञ्चालनमा आइरहेका छन् र ती योजनाहरुको काम नियमित रुपमा भैरहेको र निश्चित तोकिएको समय अवधिभित्र नै सम्पन्न हुने अपेक्षा राखेका छौं ।

१५) संघिय सरकारको नीति अनुसार एक गाउँपालिका एक औंद्योगिक ग्रामको नीति रहेको छ, उक्त नीति अनुसार औंद्योगिक ग्रामको निम्ति यस गाउँपालिकाले के कति काम गरिरहेको छ ?
– संघिय सरकारको नीति अनुसार एक गाउँपालिका एक औंद्योगिक ग्राम नीति अनुरुप नै बिगतको सरकारले सो कार्यक्रमलाई नेपाल सरकार उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयमा प्रकृया अगाडि बढाएकोमा मन्त्रिपरिषदबाट स्विकृत नभएको कुरा सबैलाई सर्वविदितै छ । यस बर्ष नेपाल सरकारको त्यही मापदण्ड अनुरुप हामीले औंद्योगिक ग्रामका लागि आवश्यक पर्ने सबै प्रकृया पुरा गरी प्रदेश र संघीय मन्त्रालयमा कागजातहरु पेश गरेकोमा नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम यस रिब्दिकोट गाउँपालिकाको वडा न. ३ को चकल्दी क्षेत्रमा औंद्योगिक ग्राम निर्माणको लागि प्रस्तावित भएको छ । साथै मिति २०७९। ११ । २९ गते उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयको प्राविधिक टोली सहित सो क्षेत्रको स्थलगत अनुगमन भैसकेको र अव छिट्टै संझौताको प्रकृयामा रहेको कुरा जानकारी गराउन चाहन्छु ।

१६) अरु गाउँपालिकाको तुलनामा यस गाउँपालिकाको भिन्न खाले नीति तथा कार्यक्रमहरु भए भनिदिनुहोस् न ।
– हामीले हाम्रो गाउँपालिकाभित्रका वासिन्दाहरुको बसाईसराई दर र बैदेशिक रोजगारिमा जाने क्रमलाई सकेसम्म रोक्नका लागि ‘खनौं आफ्नो माटो छोडौं बिदेशको बाटो’ भन्ने अभियान संचालन गरी सो अभियानमा जोडिने यूवायूवतीहरुका लागि पालिकाले गर्न सक्ने अनुदान र सहयोगको ब्यबस्था गरेका छौं । हरेक बिकास निर्माणका गतिबिधिहरुमा जनसहभागिताको महत्वपुर्ण अर्थ रहन्छ भन्ने कुरालाई बुझेर ‘म बनाउछु मेरो रिब्दिकोट’ अभियान सञ्चालन गरेका छौं जसमा यहाँका बासिन्दाहरु महिनाको १ दिन कुनै सार्वजनिक क्षेत्रको सरसफाईदेखि लिएर बिकास निर्माणका कार्यहरुमा उत्साहित रुपमा संलग्न हुनुभईरहेको छ । यहाँका जनताहरुको स्वास्थ्यलाई पनि मध्यनजर गरी प्रत्येक महिनाको २ पटक बिभिन्न स्वास्थ्य समस्या सम्वन्धि विशेषज्ञ सेवा प्रदान गदै आईरहेको कुरा पनि अवगत गराउन चाहन्छु । यी बाहेक बिभिन्न वडाका अति बिकट टोलहरुमा घुम्ति शिविर सञ्चालन गरी स्थानिय सरकारको पहुँचसम्म आउन नसकेका जनताहरुलाई सेवा प्रदान गर्दै आईरहेका छौं । यसका अतिरिक्त जनतालाई दिने अन्य नियमित सेवाहरु संचालन भैरहेका छन् ।

१७) गाउँपालिकाको आन्तरिक स्रोतको पहिचान, राजस्व संकलनका आधार र ब्यबस्थापन कसरी भैरहेको छ ?
– गाउँपालिकाको आन्तरिक स्रोत हाम्रोमा अन्य गाउँपालिकामा जस्तो छैन । यद्यपि पालिकाको आन्तरिक स्रोत पहिचानका लागि हामी हाम्रो तर्फबाट लागिरहेका छौं । राजस्व संकलनका आधारका रुपमा हामीले पुराना आधारहरुलाई यथावत राख्दै कतिपय राजस्व संकलन हुने क्षेत्रहरु तर बिगतदेखि नै राजस्व संकलन हुुन नसकेका क्षेत्रहरुलाई सक्रिय बनाउने र अन्य गाउँपालिकाले बिभिन्न शीर्षकहरुमा उठाई रहेको राजस्वलाई मध्येनजर गरी राजस्व संकलनको दायरा विस्तार गर्दै आईरहेको कुरा यहाँलाइ अवगत गराउन चाहन्छु ।

१८) राजस्व संकलनको सिमा निर्धारण कसरी गर्नुभएको छ ?
– राजस्व संकलनका लागि हामीले बिभिन्न क्षेत्रहरुका लागि छुट्टाछुट्टै सिमा निर्धारण गरेको अवस्था छ । प्रत्येक वडाहरुबाट पनि राजस्व संकलन गर्न सकिने ब्यबस्था मिलाएका छौं । समयमा राजस्व बुझाउन नआउनेहरुका लागि पत्राचार गर्ने, ताकेता गर्ने, कतिपय अवस्थामा स्थलगत अनुगमन गरी राजस्व संकलन गर्ने र समय म्याद काटिसकेको अवस्थामा अतिरिक्त शुल्क लिइ राजस्व संकलन गर्ने गरिरहेका छौं ।

१९) आफ्नो कार्यकाल कस्तो भैदिए हुन्थ्यो भन्ने चाहना छ यहाँको ।
– स्वभाविक रुपमा हरेक सामाजिक क्षेत्रमा प्रवेश गर्नेहरुले आफ्नो कार्यकाल समाजमा सकारात्मक र रचनात्मक बनाउन चाहन्छन् । त्यही भावना अनुरुप मेरो कार्यकालमा रिब्दिकोट गाउँपालिका निबासीहरुले केही राहतको अनुभुति गर्दै यहाँका जनताको हरेक दःुख सुखमा आँखाको नाँनी बन्दै जनताले मेरो अनुपस्थितिमा पनि मलाई सम्झिने लायकको काम गर्दै र हरेक पक्षबाट जनताको काम गर्ने क्रममा सहयोगको अपेक्षा म मेरो कार्यकालमा राखेको छु ।

२०) रिब्दिकोटका बासिन्दा, पाठक बर्ग र यस मिडियाप्रति थप केही कुरा भन्नु छ कि ?
– रिब्दिकोटका बासिन्दाज्यूहरुप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु किनकि यहाँका बासिन्दाहरुको अमुल्य मतका कारण आज म रिब्दिकोटबासिहरुको अभिभावकको रुपका यस पालिको सुख दुःखमा आफुले सकेको मलमपट्टी लगाउने सुअवसर प्राप्त गरेको छु । पाठक बर्गमा यो मेरो यस मिडियासंग भएको सानो कुराकानीलाई अध्ययन गरिसकेपछि मैले गरिरहेको समग्र कामको मुल्याङ्कन गर्दै सुधार गर्नुपर्ने पक्ष र भविष्यमा के गर्दा रिब्दिकोट बासिको समग्र जीवनस्तर उकास्न, यहाँको समग्र बिकास गर्न सकिन्छ भन्ने कुरामा सबैबाट सकारात्मक सुझाव, सल्लाहाको समेत अपेक्षा गर्दै सहयोगको लागि हार्दिक अपिल समेत र गर्दछु । साथै यसरी मेरा सम्पुर्ण कुराहरु रिब्दिकोटबासि, मेरा शुभचिन्तक सबैमा पुर्याउन सहयोग गर्दै आफ्नो अमुल्य समय समेत प्रदान गर्ने यस मिडियालाई प्रगतिको कामना सहित धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
धन्यवाद!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *