पाल्पा, लुम्बिनी प्रदेशकाे उत्कृष्ट सहकारीसंगै जिल्लाकै ठूलो कर दाखिला संस्था अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रामपुर अस्पताल र इलाका प्रहरी कार्यालय रामपुरलाई न्यानो कपडा र ब्ल्याङकेट प्रदान गरेको छ । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले स्थापना दिवसको अवसर पारेर सामाजिक दायित्व अन्तर्गत रामपुर अस्पताल प्राङ्गणमा कार्यक्रम गर्दै अस्पतालमा आउने बिरामीले वेडमा प्रयोग गर्ने र प्रहरी कार्यालय हिरासत कक्षका लागि ब्ल्याङ्केट वितरण गरेको हो । सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले समिति एवं कर्मचारीको उपस्थितिमा रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.अमिर काफ्लेलाई दस थान बेड सिट ब्याल्ङकेट हस्तान्तरण गर्नुभएकाे हाे ।
अध्यक्ष देवकोटाले अस्पतालको आवश्यकता तथा उपचारका लागि आउने विरामीको सहजता र सुविधा मध्यनजर गर्दै बलाङ्केट वितरण गरिएको बताउँनुभयो । कार्यक्रमको बारेमा जानकारी सहित स्वागत गर्दै संस्थाका उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपानेले औपचारिक कार्यक्रममा सिमित नभएर सामाजिक उत्तरदायित्व निर्वाह तथा रचनात्मक कार्य गरिएको बताउँनुभयो । सामग्री ग्रहण गर्दै रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल रमेशले वित्तिय सेवा प्रवाह गर्ने सहकारीबाट सामाजिक उत्तरदायित्व निर्वाह गरि अस्पताललाई सहयोग एवं सहकार्य गरेकोमा धन्यवाद दिनुभयो । विरामीले अस्पतालमा आउँदा भोग्नुपर्ने दुःख र समस्याको समाधानको लागि उपयोगी हुने भएको सहयोग कार्य गरेकोमा धन्यबाद व्यक्त गर्दै बिगतमा पनि सहकारीले अस्पताल प्राङ्गणमा प्रतिक्षालय बनाएको उहाँले समेत बताउँनुभयो । सहकारीका सञ्चालक समिति र कर्मचारीहरुले अस्पतालमा रहेका विरामीलाई फलफूल समेत प्रदान गर्नुभएको छ ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय रामपुर परिषरमा भएको कार्यक्रममा बोल्दै सहकारी संस्थाका अध्यक्ष देवकोटाले प्रहरी साझेदारी सहकार्य एवं आवश्यकतामा सेवा गर्न बन्दी कक्षको लागि ब्ल्याङ्केट प्रदान गरिएको बताउँनुभयो । सोही अबसरमा देवकोटाले संस्थाले प्रहरी संग मिलेर थप कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जानकारी दिनुभयो । अध्यक्ष देवकोटा व्यबस्थापक दिपेन्द्र प्रसाद पौडेल सहितले प्रहरी निरीक्षक राम बहादुर नेपालीलाई तीन थान ब्ल्याङ्केट प्रदान गर्नुभयो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले हिरासत कक्षलाई व्यबस्थापन गर्दै लगेको बताउँनुभयो । उहाँले पुरुष हिरासत कक्ष मात्रै रहेको र एक भन्दा बढी व्यक्ति र फरक-फरक घटनाका व्यक्ति राख्न असहज परिस्थिति भएको बताउदै उहाँले व्यवस्थापनमा न्यानो कपडा सहयोगले थप सहज हुने बताउँनुभयो । साथै हिरासत कक्षको स्तरमा सुधार आउने र यसले राहत हुने बताउँदै सहकारीलाई धन्यवाद दिनुभयो ।अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव ओम प्रकाश बस्यालले गर्नु भएको थियो ।