आन्तरिक स्राेतमा बन्दै गरेको केम खाम्चा मार्ग : निस्दीकाे गाैरव आयोजना रहेको कामकाे भाैतिक प्रगति ३७ प्रतिशत

पाल्पा, निस्दी गाउँपालिकाकाे आफ्नै आन्तरिक लगानी र स्राेत व्यवस्थापनमा गाउँपालिकाकाे गौरवको योजनाका रूपमा अघि सारिएको केम खाम्चामार्ग-सडक आयोजना निर्माण कामकाे भौतिक प्रगति ३७ प्रतिशत भन्दा बढी रहेको छ । निस्दी गाउँपालिकाको आफ्नै व्यवस्थापन एवं अन्तरिक स्रोत तथा समपुरक बजेटमा ठेक्का सम्झौता भई काम सुरु भएको उक्त सडककाे काम ज्यामिरेदेखि बाकामलांग – खुट्टेसम्म केम मार्ग सडककाे कुल दुरी मध्ये करिब ४३ किलोमिटर मध्ये १४ किलोमिटर सडक निर्माण र स्तरोन्नति कार्य गर्ने गरी ठेक्का भइ काम सुरु भएकोमा अहिले उक्त सडक आयोजनाको काम तीव्र रूपमा अगाडि बढेको गाउँपालिकाले जनाएको छ ।

निस्दी गाउँपालिकाले संघ र प्रदेश सरकारले काम गर्ने खण्डमा बाहेक होङ्सी चोक, मित्याल, खादर, भाङबारी, बाकामलाङ खुट्टे क्षेत्रमा काम गर्नेगरी महेश इन्जिनियरिङ एण्ड विल्डर्स प्रा.लि. बर्दघाट नगरपालिका-४ नवलपरासीसंग ठेक्का सम्झौता गरेको र ठेक्का लिएको निर्माण कम्पनीले काम गरिरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउँनुभयो । उहाँले गाउँपालिकाको २० करोडको योजना प्रतिस्पर्धाबाट १५ करोड ६४ लाख ६९ हजार ८ सय ३९ रुपैंयाँ ८९ पैसा भ्याट र पिएस सहित २०८० साउन १३ गते निर्माण व्यवसायीसंग ठेक्का सम्झौता गरेको बताउँनुभयो । उहाँले ठेक्का सम्झौता अनुसार निर्माण व्यवसायीले २०८२ कार्तिक १२ गतेसम्म केम खाम्चा मार्ग सडक योजनाको काम सम्पन्न गर्नुपर्ने छ ।

गाउँपालिकाका इन्जिनियर सञ्जय खनालका अनुसार २७ हजार ४ सय ३२ दशमलव ५० घनमिटर अर्थात लगभग ३५ देखि ४० किलोमिटर माटो खन्ने कार्य, ९ हजार २ सय ९१ घनमिटर अर्थात लगभग १२ देखि १४ किलोमिटर ग्रावेल गर्ने कार्य, १ हजार ५ सय ८८ घनमिटर मेसीनरी वाल उठाउने कार्य, १ हजार ५ सय ८१ घनमिटर ग्याविन भर्ने कार्य हुने छ ।

त्यस्तै ५ हजार ४७ दशमलव ९३ घनमिटर प्लम वालको कार्य, १ सय ५० मिटर ह्यूम पाईप, ३ सय ४९ घन मिटर एम १५, टिएमटी रडकाे १०.४७ टन र सोलिङ गर्ने कार्य ४ सय १३ घनमिटरको काम गर्नु पर्नेमा अहिले बाकामलाङ्गमा नाली निर्माण र पर्खाल निर्माणकाे काम सहित ग्रावेलको तयारी भैरहेको छ भने मित्याल–झ्याल्टुंग र ज्यामिरे सडक खण्डमा नाली, पर्खाल एवं ग्याबिन निर्माण तथा कटिंगको काम भैरहेको निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताउँनुभयाे । उहाँले निस्दी पहाडै पहाडको गाउँपालिका भएकोले पनि एउटा वडा बाट अर्को वडामा जान निकै कष्ठकर भएकाले पहिलो प्राथमिकतामा सडकलाई राखेर काम गरेको समेत अध्यक्ष सारूले बताउँनुभयो ।

गाउँपालिकाका अधिकांश वडाहरु समेट्ने गरी निर्माण भएको केम खाम्चा मार्ग स्तरोन्नति भएपछि सडक पहुँचमा वृद्धि हुने अध्यक्ष सारुको विश्वास रहेको छ । यसका साथै नागरिकलाई गाउँपालिकाकाे सेवा लिन आउन सहज हुनुका साथै यहाँका कृषि उपज तथा अन्य कच्चा पदार्थ तथा उत्पादित बस्तु सामग्री विक्री वितरणका लागि निकै सहज हुने गाउँपालिका अध्यक्ष सारुको भनाइ छ ।निस्दी गाउँपालिकाका धेरै जसाे ठाउँमा वर्षाको समयमा ३ देखि ४ महिना सडक अवरुद्ध हुँदा आवतजावतमा निकै समस्या हुने गरेको छ ।

वर्षाको समयमा एम्बुलेन्स समेत आवतजावत गर्न नमिल्ने गरी सडक बिग्रने गरेको विगतलाई सम्झँदै गाउँपालिका अध्यक्ष सारुले बाह्रै महिना नागरिकले सडकको उपयोग गर्न सक्ने अवस्था सुनिश्चित गर्न आन्तरिक स्रोत आम्दानीबाटै काम गरिएको जानकारी दिनुभयो । यो मार्गको स्तरोन्नति सम्पन्न हुँदाँ निस्दी गाउँपालिकाका १, २, ३, ४, ७ नं. वडाका नागरिकहरूकाे सडक उपयोगमा पूर्णरुपमा र ६ नंं वडाका नागरिकले आंशिक रुपमा फाइदा लिनसक्ने गाउँपालिका सूचना अधिकारी अर्जुन खनालले बताउँनुभयो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *