पाल्पा, उपप्रमुखसंग किशोरी तथा बालिका शिक्षा कार्यक्रम मंगलबार रामपुरमा सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका अवसरमा उपप्रमुखसंग किशोरी तथा बालिका शिक्षा कार्यक्रम अन्तर्गत लैगिंक हिंसा सम्बन्धी वक्तृत्वकला प्रस्तुतिकरण तथा अभिमूखिकरण सम्पन्न भएको हो । कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकाभित्रका आरधाभूत तह र माध्यमिक तहका छात्राहरुको वक्तृत्वकला प्रस्तुति र लैगिंक हिंसा सम्बन्धी अभिमूखिकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्राय हरेक किसिमको हिंसा घर परिवारको सदस्यबाटै हुने गरेको बताउनुभयो । यसको लागि हामी आफै आफ्नै घरभित्रबाट निराकरण गर्न शुरु गरे सबै किसिमका हिंसाको अन्त्य हुने बताउनु भएको छ । उहाँले भन्नुभयो –“हिंसाको धेरै स्वरुपहरु छन् ,हिंसा लैगिंक मात्र होईन जुनसुकै हिंसा घर परिवारबाट शुरु हुन्छ त्यसैले घर परिवार र हामी आफै सचेत भईयो भने कुनै पनि खालको हिंसाबाट समाज मुक्त हुन्छ ।” नगर प्रमुख थापाले विद्यार्थीहरुबाटै सचेतना फैलाउन सके समाज सुधार हुने भन्दै विद्यालय र विद्यार्थीहरु बाट हिंसा न्यूनिकरणका लागि घर परिवारबाटै सुरुवात गर्न आग्रह गर्नुभयो । उहाँले बाल विवाहका कारण बढी लैगिंक हिंसा हुने गरेको उल्लेख गर्नुभयो ।
यस्तै रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले लैगिंक हिंसा सम्बन्धी विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरे पनि हिंसा न्यूनिकरण हुन नसक्नु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले विभिन्न क्षेत्रमा हुने हिंसालाई निर्मूल पार्न सबै सचेत नहुनुले लैगिंक हिंसा चुनौतिको रुपमा रहेको औँल्याउनुभयो । साथै हिंसारहित समाज निर्माणका लागि सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो । यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले लैगिंक हिंसा न्यूनिकरणका लागि विभिन्न अभियान तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै लैगिंक हिंसाप्रति शुन्य सहनशिलताको नीति अनुसार अघि बढेको बताउनुभयो । साथै लैंगिक हिंसा निवारण कोष तथा आपतकालिन बाल उद्दार कोष स्थापना गरि हिंसाको न्यूनिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले लैगिंक हिंसा सम्बन्धी कानुन भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नु दुखद पक्ष रहेको बताउनुभयो । उहाँले हिंसाको विषय र हिंसाको स्रोत बारे सबै जानकार भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा हिंसा बढिरहेको उल्लेख गर्नुभयो ।यस्तै ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रमुख राम बहादुर नेपालीले घरेलु हिंसा संग जोडिएका उजुरी बढी आउने गरेको बताउनुभयो । उहाँले शिक्षा र चेतनाको कमीका कारण हिंसा बढेको भन्दै हरेक हिंसाको कानुनी उपचार गर्नु पर्ने बताउनुभयो । कार्यक्रमका अवसरमा रामपुर अस्पतालका एकद्धार संकट व्यवस्थापनका फोकल पर्सन सरिता पौडेलले हिंसाको प्रकार ,अवस्था,लैगिंक हिंसामा परेका पिडितलाई अस्पतालमा उपचारको व्यवस्था ,मानसिक सहायता लगाएतका विषयमा सहजिकरण गर्नु भएको थियो ।
रामपुर नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा नगरपालिका भित्रका आधारभूत तह र माध्यमिक तहका गरी २० विद्यालयका छात्राहरुले लैगिंक हिंसा सम्बन्धी वक्तृत्वकला प्रस्तुत गरेका थिए ।कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई रामपुर नगरपालिकाको अभिलेख डायरी र स्टेशनरी सामग्री सहित पुरस्कृत गरिएको थियो । रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो ।“हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ गत मंसिर १० गते देखि शुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत रामपुर नगरपालिकाले समुदाय प्रहरी साझेदारी, कानुनी सचेतना कार्यक्रम सहित उपप्रमुखसंग किशोरी तथा बालिका शिक्षा कार्यक्रम, लैगिंक हिंसा सम्बन्धी वक्तृत्वकला प्रस्तुतिकरण र अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।