एकीकृत घुम्ती सेवाबाट दुई हजार बढि नागरिकले लिए सेवा

नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिकाले सुरु गरेको एकीकृत घुम्ती शिविरमा नगरपालिकाका ग्रामीण वडा टाेलका नागरिकको उत्साहजनक सहभागिता देखिएको छ । तानसेन नगरपालिकाले सञ्चालन गरेको बाह्र दिने एकीकृत घुम्ती शिविरमा चार वडाका दुई हजार बढिले सेवा लिएका हुन् ।नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत राखेको एकीकृत घुम्ती शिविरमा स्वास्थ्य, एकीकृत प्रजनन सेवा प्रदान गरिएको थियो ।

यसैगरी कृषि, पशु सेवा, सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र, अपांगता परिचय पत्रलाई वडामै पुगेर शिविर मार्फत वितरण गरिएको हो । तानसेन नगरपालिकाले बौघापोखराथोकबाट घुम्ती शिविर सुरु गरेको हो। अहिलेसम्म बन्दीपोखरा, तेल्घा, दमकडामा पुगेर घुम्ती सेवा प्रदान गरिसकेको छ।

घुम्ती शिविरमा उपस्थित भई सेवा लिने सेवाग्राहीहरूको उत्साहजनक सहभागिता रहेको एवं शिविरमा धेरै नगरवासी नागरिकहरू लाभान्वित भएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले शिविरमा स्वास्थ्य सेवाअन्तर्गत सुरक्षित मातृत्व, गर्भवती परीक्षण, क्षयरोग परीक्षण, भी.आई.ए परीक्षण, सुगर प्रेसर लगायतको स्वास्थ्य सेवा परीक्षण गर्नुका साथै बहिरंग सेवा प्रदान गरिएको जानकारी दिदै कृषि सेवाअन्तर्गत उन्नत जातको बीउबिजनकाे वितरण, विभिन्न अनुदानको सूचना, कृषक समूह दर्ता, नविकरण घुम्ती सेवामा प्रदान गरिएकाे थियोे । पशु सेवाअन्तर्गत बिरामी रहेको पशुको परीक्षण चेकजाँच तथा स्वास्थ्य उपचार, पशु बन्ध्याकरण, गोबर परीक्षण,रेविजविरुद्धकाे खोप, औषधि वितरण लगायतका सेवा घुम्ती शिविरमा प्रदान गरिएको बताउँनुभयाे।

नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत राखेको शिविरमा सबै किसिमका रोगहरूको स्वास्थ्य परीक्षण चेकजाँच गरिनुका साथै उपचार सम्वन्धि परामर्श सेवा, पञ्चीकरण सेवा, संघ,प्रदेश तथा नगरपालिका र वडाको योजना सम्झौता, शिक्षा लगायतका सेवा घुम्ती शिविरमा प्रदान गरिएकाले पनि उत्साह साथ सेवाग्राहीको सहभागिता रहेको नगर-उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले बताउँनुभयाे ।

वडामा राखिएको यस्तो शिविरले गाउँ टाेलहरूमा बसोवास गर्ने नागरिकलाई निकै फाइदा पुगेको तानसेन नगरपालिका-९ का वडाध्यक्ष राजेशकुमार अर्यालले बताउँनुभयाे । ‘कृषि तथा पशु र अन्य सेवा लिने युवाको सहभागितामा कमी देखिएता पनि पचास वर्ष माथिका नागरिकहरू भने याे सेवा लिन बढी उत्साहका साथ आएका छन् ’ वडा अध्यक्ष अर्यालले भन्नुभयो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *