पाल्पा, रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा सञ्चालनमा रहेको क्षयरोग कार्यक्रमको चुनाैती र प्रभावकारीताबारे संयुक्त रुपमा समीक्षा सहित विश्लेषण कार्यक्रम सम्पन्न भएको छ । रम्भा गाउँपालिका-२ फोक्सिङ्गकोटको रानीबास सामुदायिक होमस्टे सभाहलमा सञ्चालन भएको समीक्षा कार्यक्रममा तीन वटै गाउँपालिकामा पत्ता लागेको क्षयरोगीकाे संख्या उपचारमा भएको सफलता तथा आगामी कार्यक्रम र नीति योजना बारेमा व्यापक रूपमा छलफल गरिएको हाे ।
क्षयरोग शहरीक्षेत्र संगसंगै ग्रामीणक्षेत्रमा समेत व्यापक रूपमा फैलिएको र यसको रोकथामको लागि स्थानीय सरकारले गरेको पहल कदमीबारे कार्यक्रममा सहभागीहरुले धारणा राख्नुभएको थियाे । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि पुर्वखोला गाउँपालिका अध्यक्ष नूनबहादुर थापाले क्षयरोग रोकथाम तथा न्यूनीकरणको लागि स्थानीय सरकारहरुको साझा प्रयासले धेरै सफलता मिले पनि यो रोग निर्मूल पार्न सबैको साथ सचेतनामूलक कार्यक्रम र प्रयास नै मुख्य मुद्दा रहेको बताउँनुभयो । उपलब्ध जनशक्तिको अधिकतम् प्रयोग र समर्पित प्रयासले मात्र क्षयरोग रोक्न सकिने उहाँले बताउँनुभयो ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि रम्भा गाउँपालिका उपाध्यक्ष राधा कुमारी श्रेष्ठ तथा जिल्ला समन्वय समिति पाल्पा सदस्य भोवीसरा सारुले कार्यक्रममा बाेल्नुहुँदै क्षयरोग रोकथामका लागि सबै स्वास्थ्य संस्थाहरूको महत्वपूर्ण भूमिका रहेकोले स्वास्थ्यकर्मीहरु इमान्दारीताका साथ रोकथाम कार्यमा संलग्न हुनुपर्नेमा जाेड दिनुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पा प्रमुख टुकप्रसाद पोखरेल,पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ,निस्दी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल,रम्भा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुन लगायतले क्षयरोगकाे समस्या नेपालकै प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेकोले पनि यसलाई निर्मूल पार्नलाई स्थापित नीतिको पूर्ण पालन र प्रभावकारी कार्यान्वयन गर्नुनै उत्तम उपायको रुपमा रहेको बताउँनुभयो ।
रम्भा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्यालले कार्यक्रममा स्वागत र पूर्वखोला गाउँपालिका रिङ्गनेरह स्वास्थ्य चौकीका प्रमुख श्रीराज आचार्यले क्षयरोग निर्मूल पार्न अपनाईएको रणनीति याेजनाका बारेमा बताउँनुहुँदै निर्मुल पार्न अपनाउने रणनीति कार्यान्वयनमा प्रतिबद्धता जनाउनु भएको थियो । रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा भएको वार्षिक समीक्षा कार्यक्रम रम्भा गाउँपालिका जनस्वास्थ्य अधिकृत महेशप्रसाद आचार्यकाे सञ्चालनमा सम्पन्न भएको थियो ।
क्षयरोग वार्षिक समीक्षा कार्यक्रममा रम्भा,पूर्वखोला र निस्दी गाउँपालिका स्वास्थ्य संस्थाका प्रमुख, क्षयरोग फोकल पर्सन, स्वास्थ्य शाखाका कर्मचारीहरु सहित तीस जनाको सहभागीता रहेको थियो । कार्यक्रम स्वास्थ्य कार्यलय पाल्पाका विश्वनाथ न्यौपानेले सहजीकरण गर्नुभएको थियोे । रानीबास सामुदायिक होमस्टेको प्रचारप्रसार एवं प्रवर्द्धन गर्नका लागि होमस्टेको सभाहलमा रम्भा गाउँपालिकाले समीक्षा बैठकको आयोजना गरेको हो ।