जेसिसकाे आयोजनामा ‘युवाको प्रश्न नेतृत्वसँग’ बहस हुँदै

पाल्पा, जेसिस पाल्पाकाे आयोजनामा तानसेनमा ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस हुने भएको छ । पाल्पा जेसिजको आयोजनामा यही कार्तिक २३ गते शुक्रबारका दिन पाल्पा दरबार संग्राहालय परिसरमा स्थानीय सरकार प्रमुख र युवाहरूका बीच खुला बहस हुने भएको हो । पाल्पा जेसिजले मंगलबार पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारेमा जानकारी गराएको छ । पाल्पा जेसिजका अध्यक्ष जेसी अर्जुन कार्कीले स्थानीय सरकारसँगकाे सवालले नीति निर्माण आधार तयार गर्ने उद्धेश्य अनुसार जिल्लामै पहिलो पटक खुला बहस कार्यक्रम गर्न लागिएको बताउँनुभयाे । ‘स्थानीय तह प्रमुख र युवाहरू बीच विकास र गतिविधिका बारेमा प्रत्यक्ष साक्षात्कार गराउन, युवा र जनप्रतिनिधि बीच दुरी कम गराउन जनप्रतिधिहरुलाई युवा लक्षित कार्यक्रम तर्जुमा र कार्यान्वयनमा दवाब सिर्जना गराई युवामैत्री कार्यक्रम सञ्चालनको वातावरण निर्माण गराउन बहस सञ्चालन गर्न लागेका हौं ।’ पत्रकार भेटघाट कार्यक्रममा युवाहरुले आफ्ना स्थानीय तहका प्रमुखहरुसँग प्रत्यक्ष संवाद गर्ने वातावरण निर्माण गर्ने अध्यक्ष कार्कीले बताउँनुभयाे ।

बहसमा युवाले पालिकाको युवा लक्षित कार्यक्रम सहित समग्र क्षेत्रका विकासका गतिविधि बारे खेलेको भूमिका बारे विचार राख्ने ऐतिहासिक अवसर प्राप्त हुने समेत जानकारी गराइएको छ । युवाहरूको खुल्ला बहस कार्यक्रममा पाल्पा क्षेत्र नं.२ का पालिका प्रमुखहरु सहभागी हुने र युवाहरुको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको अध्यक्ष कार्कीले बताउँनुभयाे । पाल्पा जेसिसले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले जेसिजले सञ्चालन गर्न लागेको बहस कार्यक्रम रचनात्मक एवं सिर्जनात्मक रहेको बताउँनुभया्े । उहाँले पत्रकार भेटघाटमा बाेल्दै स्थानीय सरकार प्रमुखलाई र युवाहरू साथै आम जनताप्रति जागरुक गराउन बहस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयाे । महासंघ अध्यक्ष रानाले बहसमा जिम्मेवारीपूर्वक प्रश्न सोध्ने वातावरण सिर्जना गर्न जेसिजलाई आग्रह समेत गर्नुभयाे । बहस कार्यक्रममा वार्षिक युवा लक्षित कार्यक्रमको अवस्था, त्यसले पारेको प्रभाव (स्वरोजगार, उद्यमी) र विदेशबाट फर्किएका युवाहरुको व्यवस्थापन, विदेशिन बाध्य युवाहरुलाई स्वदेश मै बस्ने वातावरण निर्माणमा पालिकाहरुले गरेका काम र भावी योजना र पालिका प्रमुखहरुको प्रतिवद्धता समेत लिइने छ ।

बहसमा तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई, बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी,रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की,तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठसँग युवाहरुले प्रश्न गर्न सक्नुहुनेछ । कार्यक्रममा सहभागी पालिका प्रमुखहरुले युवाहरुको सुझाव र अपेक्षाहरुलाई सम्बोधन गर्दै समाजका विभिन्न क्षेत्रहरूमा सुधारका लागि ठोस योजना र पहलहरु बारे स्पष्ट पार्नुहुने छ । उक्त कार्यक्रमको सञ्चारकर्मी श्री पाण्डेले सहजीकरण गर्ने समेत पाल्पा जेसिजले जनाएको छ । पत्रकार भेटघाट कार्यक्रम जेसिज पाल्पाका अध्यक्ष अर्जुन कार्कीको अध्यक्षता, कार्यकारी उपाध्यक्ष जेसी गणेश पन्थीको स्वागत, महासचिव जेसी विजय कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *