दशै तिहार बिदाकाे घुमफिरका लागि उपयुक्त स्थल : लुम्बिनी

प्रदेश संवाददाता रूपन्देही, दशैँ र तिहार छठ पर्वकाे बिदाकाे अवसरमा भ्रमणका लागि बुद्ध जन्मस्थल लुम्बिनी एवं बुद्धसँग जोडिएका स्थलहरुकाे घुमफिरलाई उपयुक्त स्थान हुन सक्छन् । विश्व सम्पदाकाे रूपमा शान्ति प्रिय स्थल एवं बुद्ध जन्मभूमि र ध्यान गर्न इच्छुकहरुले दशैँ, तिहार, छठ एवं नेपालीहरूकाे राष्ट्रिय पर्वकाे अवसरमा बुद्ध शिक्षा ग्रहण गरी लुम्बिनी तथा बुद्धसंग सम्वन्धित स्थानकाे घुमफिर गरि भ्रमणमा बिताउन सकिन्छ ।

शान्ति, करुणा एवं सत्मार्गको प्रतीकका रुपमा विश्व समुदायले बुद्धकाे ज्ञान स्वीकार गरेको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा.हरिध्वज राईले बताउँनुहुन्छ। उहाँले कुराकानीमा भन्नुभयो तराईमा अहिले चर्को गर्मी सकिएर भर्खरै शीतल मौसम भित्रिएको अवस्थामा लुम्बिनी भ्रमणका लागि यो मौसम उपयुक्त रहेको बताउँनुहुन्छ ।बुद्ध जन्मस्थल लुम्बिनीमा बर्सेनि लाखौँको सङ्ख्यामा तीर्थालु, पर्यटक तथा अध्येताहरुका लागि लुम्बिनी महत्वपूर्ण एवं पवित्र तीर्थस्थल हो उहाँ भन्नुहुन्छ । ई.पू ६२३ मा यहाँको सुन्दर पवित्र बगैँचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता एवं शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म भएको उहाँले बताउँदै भन्नुहुन्छ यस पवित्र मानव तीर्थस्थलकाे पावन भूमिमा संसारभरिका बौद्धमार्गी एवं शान्ति प्रेमीबीच विश्व शान्तिको मुहानका रुपमा याे भूमि प्रसिद्ध रहेको उहाँ भन्नुहुन्छ ।

बुद्ध धर्मप्रति आस्था राख्नेहरुका लागि बुद्ध जन्मस्थल यसै पनि मानव तीर्थस्थल हो । भगवान गौतम बुद्धले जन्म लिएको यही पवित्र स्थानमाअहिले सुन्दर कलात्मक शैलीको मायादेवी मन्दिर रहेको छ । मायादेवी मन्दिर लगायत,शान्ति दीप एवं विश्वशान्ति स्तुपा लगायत दर्जनबढी गुम्बाहरू तथा विहार लुम्बिनी आउँदा घुम्नैपर्ने हुन्छ ।मायादेवी मन्दिरभित्र राखिएको मायादेवीको मूर्तिलाई जन्ममूर्ति पनि भन्ने गरिन्छ । चौँथो शताब्दीमा निर्मित यो मूर्तिले बुद्ध जन्म दृश्यलाई देखाएको छ । मायादेवीले गौतम बुद्धलाई जन्म दिँदा सहाराका लागि दाँहिने हातले रुखको हाँगा समातेको र देब्रेपट्टी उनकी बहिनी प्रजापती र देवगणहरु भगवान बुद्धको स्वागतका लागि तयारी अवस्थामा देखिएका छन् । मायादेवी मन्दिर भित्र गौतमबुद्ध जन्मेपछिको पहिलो पाइला रहेको छ । यस मन्दिरको अवलोकन गर्न र गौतम बुद्धको जन्मका बारेमा जान्न विश्वभरका लाखौँको सङ्ख्यामा बौद्ध तीर्थालु एवं अध्येता यस जन्मभूमिमा आस्था विश्वास र खाेज अनुसन्धानका पर्यटकहरु यस बुद्धभूमि लुम्बिनी भ्रमणमा आउने गर्छन् ।

पवित्र बुद्धभूमि लुम्बिनीको याे मन्दिर परिसरमा उत्तर दिशातर्फ रहेको शान्तिदीप २४ घन्टा बाह्रै मास बलिरहन्छ । अखण्ड रूपमा बलिरहने याे शान्तिदीप पानी पर्दा समेत ननिभ्ने गरेको हुँदा धेरैलाई अनौठो लाग्दछ । दीपसँगै नजिकै रहेको नहरमा लुम्बिनीमा आउने पर्यटकका बनेको नहर डुङ्गा चढेर रमाउने गर्छन् । लुम्बिनी विकास काेषकाे गुरुयोजना अन्तर्गत सौन्दर्यका लागि करिब एक किलोमिटरसम्म बनेको याे नहरमा दैनिक डुङ्गा चल्ने गर्दछ ।जापानी प्राध्यापक केन्जो टाँगेद्वारा तयार पारिएको याे लुम्बिनी विकास काेषकाे गुरुयोजनाले तीन वर्ग माइल क्षेत्रमा ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक एकवर्ग माइलमा क्षेत्र विभाजन गरेर याे गुरुयोजना अनुसारनै भाैतिक पूर्वाधार र लुम्बिनी क्षेत्रको निर्माण कार्य भइरहेको छ । गुरुयोजनाअनुसार तीन वटा क्षेत्र पवित्र उद्यान क्षेत्र,बिहार क्षेत्र र नयाँ लुम्बिनी गाउँको रुपमा विभाजन गरि विभिन्न देशले यहाँ आकर्षक स्तुपा बनाएका छन् । शान्ति भूमि लुम्बिनीको दक्षिण भागमा रहेको पवित्र उद्यान क्षेत्रको मुख्य रुपमा आध्यत्मिकता, शान्ति, विश्वभातृत्व एवं अहिंसा झल्किने वातावरणको सिर्जना गर्नुका साथै संसारभर नै भगवान गौतम बुद्धका सन्देश प्रति बिम्वित गर्नु हो ।

यस्तै यी बिहारक्षेत्र अन्तर्गत रहेका लुम्बिनी क्षेत्रको पूर्वी बिहार क्षेत्रमा १३ वटा प्लट थेरवादीहरुका लागि तथा पश्चिम क्षेत्रमा२९ वटा महायानी बौद्ध मार्गीहरूका लागि छुट्याइएका छन् । यी क्षेत्रमा विभिन्न देशका बौद्ध कला,संस्कृति झल्कने गरि आकर्षक र कलात्मक बिहार निर्माण गरिएका छन् । लुम्बिनी पुग्ने हरेक पर्यटक जाे ती स्तुपा नपुगे वा घुमफिर नगरेमा लुम्बिनी भ्रमण अधुरै रहन्छ भन्ने जन विश्वास रहेको छ । यस्तै लुम्बिनीको गुरुयोजनाको उत्तरीक्षेत्र नयाँ लुम्बिनी ग्रामको रुपमा विकास भइरहेको छ । यात्रु तथा पर्यटकहरुका लागि यस क्षेत्रमा होटल तथा रेष्टुरेन्ट लगायतका सुविधा सम्पन्न आवासका लागि यस क्षेत्रमा संरर्चना निर्माण भएका छन् । साथै लुम्बिनी क्षेत्रमा दुर्लभ पंक्षी सारस संरक्षण केन्द्र पनि स्थापना गरिएको छ । जापानको धार्मिक सङ्गठनद्वारा स्थापित विश्व शान्ति स्तुपा एवं लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय समेत यही स्थानमा रहेकाे छ । दशै तिहार विशेषमा घुमफिर गर्न लुम्बिनी आउने विश्वभरका लाखौँ मानिसका लागि याे पवित्र बुद्ध जन्मभूमि धार्मिक,आध्यात्मिक र पर्यटकीय गन्तव्य रुपमा स्थापित भइसकेको छ ।

सुन्दर शान्त वाटिकाका रुपमा विकसित हुँदै गइरहेको छ । यहाँ लुम्बिनी आउने पर्यटकहरुलाई राम्रोसँग गाइड गर्न सक्ने हो भने पनि पर्यटकहरूको बसाई अवधि समेत लम्बिने र बसाइँकाे अवधि बढ्ने लुम्बिनी होटल व्यवसायी सङ्घका अध्यक्ष गोविन्द ज्ञवाली भन्नुहुन्छ । उहाँ कुराकानीमा थप भन्नुभयो, “लुम्बिनीसँगै सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९वर्ष बिताएको स्थान तिलौराकोट, देवदह र नवलपरासीकाे रामग्राम समेत घुम्नलाई सकिन्छ ।”

त्यस्तै हाेटल व्यवसायी ज्ञवालीका अनुसार लुम्बिनी पछि घुमफिरका लागि कपिलवस्तुकाे तिलौराकोट सकिन्छ ।

तिलाैराकाेट : तिलौराकोट जानलाई लुम्बिनीबाट सार्वजनिक यातायातको पनि व्यवस्था छ । कपिलवस्तु पुगेपछि बुद्धसँग सम्बन्धित रहेको तिलौराकोट घुमफिरसँगै गोटिहवा,सग्रहवा, निग्लिहवा,अरौराकोट एवं सिसहनिया पनि घुम्नलाई सकिन्छ । बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारौँ सङ्ख्यामा स्वदेशी तथा विदेशी एवं बुद्धधर्मका बारेमा खाेज अनुसन्धान गर्ने र बुद्ध अनुयायीहरू तिलौराकोट पुग्छन् । उहाँ भन्नुहुन्छ । विश्व प्रसिद्ध रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रुपमा चिनिन्छ । बुद्ध जन्मस्थल लुम्बिनीबाट कपिलबस्तु सदरमुकाम तौलिहवा हुँदै जाँदा करिब २८ किलोमिटरको दूरीमा तिलौराकोट पर्दछ । कपिलवस्तु सदरमुकाम तौलिहवादेखि उत्तर बाणगङ्गा नदीको किनारमा अवस्थित तिलौराकोटमा ई.पू.काे एघारौं शताब्दीदेखि सन् दोस्रो शताब्दीसम्मका पुरातात्विक भग्नावशेषहरुका रहनु साथै प्राचीन दरवारको पूर्वी तथा पश्चिमीद्वार अवलोकन गर्न र बुद्ध बारेमा बुझ्न सकिन्छ । यहाँकाे क्षेत्रमा पटकपटक विश्वका प्रसिद्ध पुरातत्वविद्हरुले उत्खनन् गर्दा तीन हजार वर्षअघिका संरचना फेला परेकाे समेत उहाँ बताउँनुहुन्छ ।

कुदान : कपिलवस्तुको तौलिहवाबाट तीन किलाेमिटरको दूरीमा पर्ने कुदान प्राचीन निग्रोधराको नामले चिनिन्छ । यस स्थानलाई शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरिसके पछि प्राचीन कपिलवस्तु राजा पिता शुद्धाेधन,रानी प्रजापती गौमती,श्रीमती राजकुमारी यशोधरा र छोरा राहुललाई पहिलो भेट गरेको ऐतिहासिक स्थल हो । यहाँ पुरातात्विक एंव धार्मिक महत्वको यस स्थानमा हाल तीनवटा स्तुप,एक पोखरी र एउटा इनार रहेका छन् । बुद्धसँगै आएका तीन सय भिक्षुहरूले यसै बगैंचामा रहेको पोखरीमा नुहाएको र आफ्नो साथमाआएर भिक्षुलाई बुद्धले उपदेश दिएकाे थिए भन्ने जनविश्वास रही आएको छ ।

निग्लिहवा : कपिलवस्तुको तौलिहवाबाट आठ किलोमिटर र तिलौराकोटबाट तीन किलाेमिटरको यात्रापछि निग्लिहवामा पुगिन्छ । यसलाई शाक्यमुनि बुद्ध पूर्वका कनकमुनि बुद्धको जन्मस्थलको रुपमा लिइन्छ,यहाँ सम्राट अशोकले ई.पू.२४९ मा शिला निर्माण गरेकाे भन्ने जनविश्वास रहेको छ । अहिले उक्त स्तम्भ ढलेको छ ।

गोटिहवा : क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा लुम्बिनीबाट करिब ३१ किमी दूरीको यात्रापछि पुगिन्छ । क्रकुछन्दले बुद्धत्व प्राप्ति गरेको तथा बुद्धत्व प्राप्त गरेपश्चात् पहिलो पटक बुबासँग भेट भएको पवित्र स्थलको रुपमा गोटिहवालाई लिइन्छ। इ.पू.को तेस्रो शताब्दीमा सम्राट अशोकले यस पवित्र स्थल आई आफैँले शीलास्तम्भ गाडी यहाँको स्तुपा निर्माण गरेका थिए ।

जगदीशपुर ताल : मानव निर्मित सबैभन्दा ठूलो जलासययुक्त ताल हो जगदीशपुर यो तिलौराकोटदेखि १०किलोमिटर उत्तरमा रहेको छ । विश्व सिमसार सूचीमा सूचीकृत भएको यस तालमा एकै पटक हजारौंको सङ्ख्यामा बिभिन्न प्रजातीका चराहरुको अवलोकन गर्न पाइन्छ । यसको नजिकै थारु बस्ती रहेकोले पनि परम्परागत जीवनशैली, थारु जातिको प्रयोग गर्ने भाँडाकुँडा एवं थारू संस्कृति,रहनसहन खानपान यहाँका आकर्षण हुन् ।

देवदह : देवदह प्राचीन कोलीय राजधानी हो । यो बुद्ध जन्मस्थल लुम्बिनी देखि करिव ६७ किलोमिटर पूर्वमा रहेको छ । यस ठाउमा शाक्यमुनि बुद्धकी आमा मायादेवी,कान्छीआमा प्रजापती र श्रीमती यशोधराको माइती गाउँको रुपमा मानिन्छ । शाक्यमुनि बुद्धले बाल्यकालका कैयन समय कान्छी आमाको साथमा यहाँ बिताएको मान्यता रहेको छ । बुद्धले आफ्नो ज्ञान प्राप्तीको सातौं वर्षमा सहयोगीहरुका साथमा देवदहको भ्रमण गरेको विभिन्न बौद्ध ग्रान्थहरुमा लेखिएका छन् । यस क्षेत्रको भ्रमणबाट आध्यात्मिक चिन्तन बाैद्ध दर्शनकाे खाेज अनुसन्धान र बुद्ध अनुयायी पर्यटकका लागि भनानीपुर, कन्यामाई, बैरिमाइ मन्दिर तथा मायादेवी, प्रजापती र यशोधराको माइती क्षेत्रको अवलोकन भ्रमण गर्न सकिन्छ । प्राचीन कोलीय कालखण्डको पाकरी बृक्षको समेत यहाँको भ्रमणबाट अवलोकन गर्न सकिन्छ ।

रामग्राम : पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारबाट करिब तीन किलोमिटर दक्षिणबाट केही पूर्व झरही खोलाको किनारामा ऐतिहाँसिक,पुरातात्विक तथा धार्मिक रामग्राम स्तुप रहेको छ । करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ समतल मैदानमा देखिने थुम्को नै रामग्राम स्तुप हो ।सम्राटअशोकले जम्बुदीपमा ८४ हजार स्तुप निर्माण गर्दा पनि रामग्रामको अस्तु लैजान नसकेको हुँदा बौद्ध धर्म र संस्कृतिको दृष्टिले यसको विशेष महत्व मानिन्छ ।

लुम्बिनी शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल भएकाले अद्वितीय आध्यात्मिक तीर्थस्थल त हुदै हो, यसको महत्व त्यतिमै सिमित हुँदैन । यसको जैविक विविधता र मनोरम एवं प्राकृतिक दृश्यले प्रकृतिविद्, वनस्पतिविद्, जीवशास्त्रीहरूलाई पनि मग्न मोहनी लगाउँछ । लुम्बिनीमा करिव दुई सय पचास प्रजातिका चराहरू छन्, जसमध्ये सारस लगायतका कतिपय दुर्लभ प्रजातिहरू पनि पर्दछन् । लुम्बिनीमा अजिङ्गर, नीलगाई जस्ता दुर्लभ जन्तुहरू पनि पाइन्छन् । लुम्बिनी सन् १९९७ देखि यो स्थान विश्व सम्पदा सूचीमा समेत सूचीकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट याे क्षेत्रमा लाखौंको संख्यामा बाैद्धमार्गी तीर्थालु, अध्येताहरूले यहाँ पर्यटककाे रूपमा लुम्बिनीको भ्रमण गर्छन् । गत वर्षमा आन्तरिक तथा बाह्य गरी दस लाख बढीले पर्यटकले लुम्बिनीकाे भ्रमण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *