मिलन विश्वकर्मा पाल्पा, नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटी प्रतिनिधि सभा क्षेत्र नं. २ पाल्पाको प्रथम विस्तारित बैठक तानसेनमा सम्पन्न भएको छ ।बैठकमा प्रमुख अतिथि एवं नेकपा एमाले केन्द्रिय पोलिटव्यूरो सदस्य ठाकुर गैरेले विगतमा भएका कमजोरीहरू पहिचान गर्ने र आगामी दिनमा सच्याएर पार्टी अगाडि बढ्ने बताउँनुभयो । बैठकमा बाेल्नुहुँदै पाेलिटव्युराे सदस्य गैरेले पार्टीले गरेको राम्रो कामलाई जनतासमक्ष पुग्ने गरि प्रचारप्रसार गर्नुपर्छ भन्नुभयो । उहाँले नेता तथा कार्यकर्ताले आफैंमा आत्मसमिक्षा गर्नुपर्ने बेला आएको बताउँदै जनताको गुनासो र समस्यालाई एकिन गरेर काम गर्न सकियो भने पार्टी झन बलियो हुने उहाँले बताउँनुभयो । पार्टी सदस्यता नवीकरणको निर्णयलाई कार्यान्वयन गर्नुको विकल्प नभएको भन्दै छलफल र बहस भने भइरहने उहाँले बताउँनुभयाे। सदस्यता शुल्क फेरबदल हुनसक्छ, अर्को निर्णय नहुँदासम्म पहिलाको निर्णय कार्यान्वयन गर्न गैरेले बताउँनुभयो । जनताको हरेक दुख सुखमा जोडिएर काम गर्न समेत आग्रह गर्नुभयो ।
बैठकमा विशिष्ट अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले यो निर्वाचन क्षेत्रको पार्टी गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने बारे कार्ययोजना बनाएर काम गर्नुपर्ने बताउँनुभयो । सदस्यता नवीकरण गर्ने काम लाजमर्दो रहेको उहाँले बताउँनुभयो । जिम्मेवारीपूर्वक काम गर्ने निर्देशन दिनुभयो । तीन दिन भित्र नवीकरणको काम सक्न निर्देशन दिनुभयो । टोल कमिटी बनाएर पार्टी गतिविधि संचालन गर्नुपर्ने बताउँनुभयो । जनसंगठनहरूलाई चलायमान गराउनुपर्नेमा जोड दिनुभयो । रचनात्मक गतिविधिले पार्टीलाई बलियो बनाउँछ । अब एक पालिकामा पचास जना युवालाई पार्टी गतिविधिमा जोड्नुपर्ने अध्यक्ष कँडेलले बताउँनुभयो ।नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य कुलप्रसाद नेपालले सदस्यता नवीकरण समयमा पार्टी भित्र अनुशासन कायम गर्नुपर्ने बताउँनुभयो । जनताले चीरकालसम्म सम्झने गरि काम गर्न पार्टी कार्यकर्ता तथा जनप्रतिनिधिलाई सुझाव दिनुभयो । एमालेको सरकारले बेरोजगारीलाई अन्त्य गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने बताउँनुभयो । हल्लाको पछि लाग्नु हुँदैन । वास्तविक बुझेर प्रचारप्रसार गर्न उहाँले आग्रह गर्नुभयो ।
बैठकमा नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले यस क्षेत्र भित्रका पार्टीको काम गर्नुपर्ने बताउँनुभयो । समयमै पार्टी सदस्यता नवीकरणको काम सक्नुपर्ने उहाँले बताउँनुभयो । पालिका कमिटी, वडा कमिटीको भेला तथा अधिवेशन कात्तिक महिना भित्र गर्नुपर्ने र टोल भेला मंसिरभित्र गर्नुपर्ने उहाँले बताउनुभयो । आगामी पुस र माघ महिनामा पालिका र वडाको पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नुपर्ने, फागुन र चैतमा पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता थप गर्नुपर्ने, बैशाख र जेठ महिनामा विकास निर्माणका योजना बनाउने र जनप्रतिनिधि र कार्यकर्ताबीचको समन्वयमा काम गर्ने, असारमा समीक्षा बैठक सम्पन्न गर्ने लगायतका कार्ययोजना बारे अध्यक्ष घर्तीमगरले जानकारी गराउँनुभयो । विकास निर्माणका काममा समेत सक्रिय भएर लाग्नुपर्ने बताउँनुभयो । पार्टीको कामसँगै विकास निर्माणमा लाग्नुपर्ने उहाँले बताउँनुभयो । प्रदेश सांसद इन्द्राकुमारी गहतराजले प्रदेशमा स्थिर सरकार बनाउनुपर्ने बताउँनुभयो । उहाँले अहिलेको सरकारले राम्रो काम गर्ने बताउँनुभयो ।
एमाले क्षेत्रीय संयोजक चिरञ्जीवी पोखरेलको अध्यक्षतामा भएको बैठकमा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका पालिका कमिटीका अध्यक्षहरूले रिपोर्ट गर्नुभएकाे थियाे । जिल्ला कमिटी सदस्य नवीन थापाले स्वागत गर्नुभएको कार्यक्रममा जिल्ला सदस्य हरि पाठकले सञ्चालन गर्नुभएको थियो ।