नवराज ज्ञवाली पाल्पा, रिब्दीकाेट गाउँपालिका-७, पालुङ्गमैनादी बतासेमा अस्थित पालुङ्ग आयुर्वेद औषधालय एवं पालुङ्गमैनादी स्वास्थ्य चौकी भवनको एक कार्यक्रम बीच उद्घाटन गरिएको छ। दुबै स्वास्थ्य संस्थाकाे भवन उद्घाटन कार्यक्रममा पालुङ्गमैनादी स्वास्थ्य चाैकीकाे प्रयोगशाला एवं एम्बुलेन्स सेवाकाे शुभारम्भ समेत गरिएको छ । भवन उद्घाटन तथा प्रयोगशाला,एम्बुलेन्स सेवाकाे शुभारम्भ गर्दै गाउँपालिकाले ग्रामीण भेगका नागरिकको स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने सुनिश्चितता गरेको जनाएको हाे । रिब्दीकाेट गाउँपालिकाले नागरिकहरूकाे आधारभूत आवश्यक स्वास्थ्य उपचार पाउने अवस्थाकाे सुनिश्चितता गर्दै आयुर्वेदिक उपचार, प्रयोगशालामा परीक्षण साथै बिरामी परेका बेला स्वास्थ्य संस्थासम्म पुर्याउनलाई एम्वुलेन्स सेवा सञ्चालनमा ल्याएको समेत जानकारी गराएको छ ।
निर्मित भवनकाे उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले नागरिकहरूको आधारभूत स्वास्थ्य उपचारलाई सहज रुपमा उपचार पाउने गरि आवश्यकता पूरा गर्न गाउँपालिका निरन्तर रुपमा लागिपरेको बताउँनुभयाे । गाउँपालिका अध्यक्ष कार्कीले गाउँपालिकाका नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच बढाउन पन्ध्रवटा स्वास्थ्य इकाईहरूबाट सेवा प्रदान गरिएको बताउँनुभएकाे छ । पहिला एघार वटा स्वास्थ्य इकाईबाट नागरिकलाई स्वास्थ्य सेवा दिदा अपायक परेको जन गुनासो आउन थालेपछि नागरिकहरूको गुनासोकाे आधारमा पछि चारवटा इकाई थपगरि पन्ध्र स्वास्थ्य इकाइबाट अहिले स्वास्थ्य सेवा प्रवाह गर्दै आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गरिएको उद्घाटनमा अध्यक्ष कार्कीले बताउँनुभयाे । पालुङ्गमैनादी स्वास्थ्य चौकीमा ल्याबकाे सेवा विस्तारले स्थानीय स्वास्थ्य सेवाको स्तर उकास्ने र यसले जनताको जीवन स्तरमा प्रत्यक्ष प्रभाव पार्ने समेत गाउँपालिका अध्यक्ष कार्कीले बताउँनुभयाे ।
गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले आयुर्वेद हाम्रो माैलिक र परम्परागत रूपमा रहेको आयुर्वेदिक उपचारले माैलिक उपचार पद्धतिकाे संरक्षण तथा प्राकृतिक उपचार चिकित्सा प्रणालीको संरक्षण गर्दै उपचारको माध्यमबाट आयुर्वेद उपचारकाे प्रचारप्रसार गर्नेमा विश्वास व्यक्त गर्नुभयाे । भवन उद्घाटन कार्यक्रममा रिब्दीकाेट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले संविधानले नागरिकको स्वास्थ्य सम्वन्धि माैलिक हकमा उपचार व्यवस्था गरेअनुसार गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता राखेर नागरिकलाई सेवा प्रवाह गरिरहेको बताउँनुभयाे । कार्यक्रममा रिब्दीकोट गाउँपालिका प्रवक्ता प्रकाश रायमाझीले यस क्षेत्रमा स्थापना गरिएको स्वास्थ्य केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्रकाे सेवाहरुले नागरिकको स्वास्थ्य उपचारमा पहुँच पुग्ने र स्थानीय पालिका सरकारले आवश्यकता अनुसार सहयोग गर्ने बताउँनुभयाे ।
उद्घाटन कार्यक्रमकाे अवसरमा स्वास्थ्य संस्था निर्माणमा जग्गा उपलब्ध गराउने जग्गादाता समाजसेवी बाबुराम कार्की, भुवन कुँवर, शिव कुँवर, प्रेम टण्डन र लामो समय रिब्दीकाेट-७, बतासे पालुङ्गमैनादीमा रहेर पालुङ्ग आयुर्वेद औषद्यालयमा नागरिकको स्वास्थ्य उपचारमा सेवा गर्नुभएका डा.माेहन गाैतम, कविराज धिरज पराजुली र कविराज निरिक्षक सरिता कुँवर गाेदारलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो । उद्घाटन कार्यक्रममा रिब्दीकाेट गाउँपालिका निवर्तमान अध्यक्ष नारायण बहादुर जिसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुल बहादुर कुँवर, नेपाल रेडक्रस साेसाइटी पाल्पा सभापति बाबुराम कार्कीले आ-आफ्नो धारणा सहित आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच पुर्याउन सेवा विस्तारमा सफल रहेको भन्दै प्रशंसा गर्नुभएको थियोे । उद्घाटन कार्यक्रममा कालिका माध्यमिक विद्यालयको स्काउट समूहकाे पञ्चेबाजा सहित आकर्षक प्रस्तुति रहेको थियो ।
कार्यक्रममा वडाअध्यक्ष दानबहादुर कुँवरको अध्यक्षता र रिब्दीकाेट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।