पाल्पाको सक्रियता खोज्दैछ सिध्दार्थ आर्थिक करिडोर

डा. दामोदर रेग्मी

आर्थिक करिडोरको माध्यमबाट करिडोरको भौगोलिक क्षेत्र भित्र स्थानहरुलाई आर्थिक विकासका विभिन्न संभावनाहरु र तिनीहरुमा अन्तरआबध्दता गर्ने, करिडोर भित्र उत्पादन र बजारको सिर्जना गरी रोजगारीको अवसरमा वृद्धि गर्दै आर्थिक विकासलाई टेवा पुर्‍ याउने भरपर्दो साधनको रुपमा प्रयोग गर्ने गरिन्छ । आर्थिक करिडोर अर्थशास्त्रीय दृष्टिकोणबाट निश्चित भौगोलिक क्षेत्रमा पर्ने विभिन्न आर्थिक इकाई र पूर्वाधारहरुको एकीकृत सञ्जाल हो । आर्थिक करिडोरको व्यवस्थित विकास र व्यवस्थापनले आर्थिक विकासका विभिन्न क्षेत्रहरु उत्प्रेरकको भूमिका निर्वाह गर्दछ र आर्थिक विकासका थप संभावनाहरुका ढोका खोलिदिन्छ । आर्थिक करिडोर कुनै निश्चित भौगोलिक क्षेत्र विशेषमा आर्थिक विकासलाई उत्प्रेरित गर्न डिजाइन गरिएको पूर्वाधारहरुको एकीकृत नेटवर्क हो ।

सामान्य बुझाइमा आर्थिक करिडोर कुनै निश्चित सडकले जोडेका भौगोलिक क्षेत्रहरुको लागिा लक्षित विकासको सामुहिक पहल हो । करिडोरहरु एउटै देश भित्रै वा देशहरु बीच विकास गर्न सकिन्छ । आर्थिक करिडोर अर्थतन्त्रका बहु संरचनाहरुको एकीकृत रुप हो । यसले एकीकृत पूर्वाधारहरु, जस्तै राजमार्ग, रेलमार्ग, हवाईमार्ग, बन्दरगाहहरु, शहर वा देशहरु जोड्ने सुविधा प्रदान गर्दछ । आर्थिक करिडोर विभिन्न बिकास उपायहरुको एक प्याकेज हो जसमा पूर्वाधार विकास, औद्योगीकरण, यातायात, आवास, शिक्षा, स्वास्थ्यजस्ता आर्थिक तथा सामाजिक आवश्यकताहरुको पनि ब्यबस्थापन गरिएको हुन्छ । आर्थिक करिडोरका सुविधाहरुले क्षेत्रीय आर्थिक विकासको अवसर सिर्जना गर्न र अर्थतन्त्रलाई गतिशील बनाउन मद्दत गर्दछन् ।


भारत सरकारको सहयोगमा बिक्रम संबत २०२० को दशकमा निर्मित १८० किलोमिटर लामो सिद्धार्थ राजमार्ग २०२८ मा
सञ्चालनमा आएको हो । नेपालका उत्तर दक्षिण राजमार्ग मध्ये तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रका गण्डकी र लुम्बिनी अञ्चललाई जोड्ने यो सडक यस क्षेत्रको आर्थिक विकासलाई चलायमान गराउने महत्वपूर्ण सडकको रुपमा रहेको छ । रुपन्देहीको बेलहिया (सुनौली) हुँदै पाल्पा, स्याङ्जा र कास्की जिल्लालाई जोड्ने सिद्धार्थ राजमार्ग (हाल लोकमार्ग) ले साविकको पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लालाई प्रत्यक्ष लाभ पुर्‍ याउने र यस क्षेत्रमा विकासका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने विश्वास थियो । फलस्वरुप यो राजमार्गको निर्माण र प्रयोग पश्चात भैरहवा, बुटवल, तानसेन, पोखरा जस्ता उदीयमान व्यापारिक केन्द्रहरुको विकास हुदै गयो । पछिल्ला दिनहरुमा गल्यांग वालिंग, पुतलीबजार, बयरघारी जस्ता थप व्यापारिक केन्द्रहरु पनि स्थापित हुदै गए । अर्को महत्वपूर्ण कुरा यस सडकलाई मूल आधार बनाएर पर्वत, म्याग्दी, मुस्तांग, बागलुंग, गुल्मी, अर्घाखांची, झडेवा, रामपुर, ओरस्टे लगायतका ठाउंहरुमा जाने सडक तथा राजमार्गहरु तयार भए । यसका अतिरिक्त कोरला—गैंडाकोट– गण्डकी करिडोर (कालिगण्डकी पश्चिम), मल्याङ्गदी, फलेवास–मिर्मि–गल्याङ्ग–चापाकोट शालिग्राम साँस्कृतिक लोकमार्ग (कालिगण्डकी पूर्ब), तानसेन–तम्घास– सन्धिखर्क– प्यूठान– लिवांग, तानसेन–रामपुर– कावासोतीमार्गको अन्तरसम्बन्ध सिध्दार्थ राजमार्ग संग रहनु स्वभाविकै हो । यसले उत्तर दक्षिण राजमार्गको मात्र भूमिका निर्वाह गरेन आर्थिक गतिविधिका संभावनालाई पूर्व पश्चिम तर्फ पनि विस्तार गर्यो । तथापि गाउंवाट शहर, पहाडवाट तराइ झर्ने प्रबृत्तिले निरन्तरता पायो । आर्थिक विकासको व्यापक संभावना बोकेको यस राजमार्गका केही सीमित सडक क्षेत्र बाहेक अन्य क्षेत्रमा आर्थिक विकासको तीब्रता अपेक्षाकृत रुपमा विस्तार हुन सकेन । यस पृष्ठभूमिमा आम जनमानस, बौध्दिक व्यक्तित्वहरु र जनप्रतिनिधिहरु चिन्तित रहनु स्वभाविकै थियो । यहि संवेदनशीलतालाई सार्थक रुप दिने क्रममा तानसेन नगरपालिकाको पहलमा सिद्धार्थ आर्थिक करिडोरको अवधारणा आई एउटा संगठित मञ्चको निर्माण भएको हो ।

सिद्धार्थ लोकमार्ग सेरोफेरोमा अवस्थित स्थानीय तहहरुको २०७६ मंसिर १५ र १६ गते तानसेनमा भेलाले सिद्धार्थ आर्थिक करिडोरको अवधारणा अगाडी बढाउने निर्णय गरेका थिए । साझा र एकीकृत प्रयासबाट मात्र समुन्नति हासिल गर्न सकिन्छ भन्ने निष्कर्ष अनुरुप सिद्धार्थ लोकमार्गको सेरोफेरोमा रहेका गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका गाउँपालिका तथा नगरपालिकाहरुको राजनैतिक नेतृत्वले यस क्षेत्रको समग्र विकासका लागि खास गरी पर्यटन, कृषि, सूचना प्रविधि तथा स्वरोजगारमूलक उद्योगको क्षेत्रमा आपसमा समन्वय र सहकार्य गरी अगाडि बढ्नु पर्ने आवश्यकता महसुस गरका हुन् ।
यस क्षेत्रको समग्र उत्थानका लागि साझा प्रयास चाहिन्छ भन्ने अवधारणामा सिद्धार्थ लोकमार्गले जोडेका सिद्धार्थ आर्थिक करिडोर क्षेत्रका स्थानीय तहहरु, यस क्षेत्रका नागरिकको समग्र समुन्नति तथा विकासका लागि आर्थिक विकासलाई प्रमुख साझा मुद्दा बनाएर एकआपसमा समन्वय गरी सहकार्यका लागि नयाँ सोच, शैली र दायरामा अगाडि बढ्न सकिन्छ भन्ने साझा अवधारणा तय गरेको थियो । यस करिडोरमा जोडिएका स्थानीय पालिकाहरुको कूल जनसंख्या १०,६६,९४६ रहेको छ । यो जनसंख्या नेपालको कूल जनसंख्याको ४.१३ प्रतिशत रहेको छ । यस अवधारणामा पोखरा महानगरपालिका, फेदीखोला गाउँपालिका, पुतली बजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका वगनासकाली गाउँपालिका, तानसेन नगरपालिका, तिनाउ गाउँपालिका, बुटवल उप महानगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका, सिद्धार्थनगर नगरपालिका रहेका छन् ।

सिद्धार्थ राजमार्गले छोएका लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका १६ स्थानीय तहहरुको तानसेनमा भएको भेलाले सिध्दार्थ आर्थिक करिडोरलाइ विकासको नयां संभावनाको रुपमा अगाडी वढाएका छन् । स्थानीय तहहरु बीच आर्थिक विषयमा व्यापक छलफल हुने गरी सिध्दार्थ राजमार्गसँग जोडिएका रुपन्देही, पाल्पा, स्याङ्जा र कास्कीका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका यस अवधारणामा समाहित छन् । जसमा रुपन्देहीको सिद्धार्थ नगरपालिका, तिलोत्तमा नगरपालिका, वुटवल उपमहानगरपालिका, पाल्पाको तिनाउ गाउँपालिका, तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, गल्याङ नगरपालिका, भिरकोट नगरपालिका वालिङ नगरपालिका पुतलीबजार नगरपालिका र पोखरा महानगरपालिकाको सहभागिता रहेको छ।

सिध्दार्थ आर्थिक करिडोरको विकासका लागि १० बुँदे तानसेन घोषणापत्रले करिडोरमा रहेका स्थानीय सरकारहरुले साँचो
समन्वय र सहकार्यमा प्रतिफलको बाडफाँड पारदर्शीरुपमा स्थानीय नागरिकसम्म पुर्याउने निम्न लक्ष्यहरु लिएको छः

  • सिद्धार्थ लोकमार्ग स्तरोन्नतिको अतिरिक्त राम्दीको पुल नयाँ निर्माण वा पुनर्निर्माण साथै सडक फराकिलो बनाउने
  • सिद्धार्थ लोकमार्गसँग जोडिएका र सेरोफेरोका पालिकाहरुको आर्थिक विकास मार्फत् समृद्धिका लागि अवसरहरु पहिचान गरी व्दिपक्षीय तथा वहुपक्षीय सम्वादलाइ विकसित गर्ने
  • साझा सवालमा समन्वय र सहकार्यलाई जोड दिने,
  • स्थानीय अवसरहरुको पहिचान,उपयोग र त्यसको व्यवसायीकरण तथा दीगोपनाको लागि समन्वय समितिको निर्माण, विज्ञ समूह तथा सचिवालयको गठन गरी सञ्जालका निर्णय कार्यान्वयनमा लैजाने ।
  • विकास साझेदारहरुसँग स्थानीय, प्रदेश र संघीय सरकारको विकास अवधारणाको मर्म आत्मसात गर्दै यस क्षेत्रको विकासका लागि सार्वजनिक निजी साझेदारी तथा वहुआयामिक ढंगले समन्वय र सहकार्यमा जोड दिने
  • यस क्षेत्रको विकासका लागि अन्तरपालिकास्तरमा कृषि, पशु, पर्यटन एवम् स्थानीय साधन, स्रोत र कच्चापदार्थमा आधारित तथा घरेलु उद्योगहरुको सम्भाव्यता खोजी र उद्योग सञ्चालन, विकास योजनाहरुको छनौट, परियोजनाको बिस्तृत योजना तयार लगायतका साझा हितका सवालमा सरोकारवाला निकाय, पक्षसँग समन्वय, सहकार्य गरी यसक्षेत्रको समग्र पूर्वाधार विकासको योजनामा एकरुपता ल्याउने ।
  • यस क्षेत्रको सन्तुलित तथा दीगो विकासका लागि तथा युवा स्वरोजगार सिर्जनाका लागि निजी क्षेत्रलाई विकासका सवालमा साझेदार बनाउन आवश्यक नीति निर्माण गर्ने, दिगो विकास लक्ष प्राप्तिको लागि समावेशी तथा दीगो आर्थिक विकासलाई सहयोग पुग्ने गरी रोजगारीको सिर्जना साथै युवाहरुलाई उत्पादनशील रोजगारी तथा सम्मानका काम गर्ने अवसरहरुको सिर्जना गर्न प्रतिवध्द रहने ।

लोकमार्गसँग जोडिएका स्थानीय तहहरुको साझा समस्याहरु:

  • मुलुकको अन्य क्षेत्रको हिसाबले सिद्धार्थ लोकमार्गको सेरोफेरोमा समयअनुसार विकास हुन नसक्नु
  • पहाडबाट तराई र सदरमुकामतर्फ बढ्दो बसाइसराइ
  • घट्दो उत्पादनले ऊर्जाशील युवा जनशक्तिलाई ग्रामीण तहमै विकास निर्माणमा सहभागी गराउन पर्याप्त रोजगारीका अवसरहरु सिर्जना गर्न नसक्नु
  • मौजूदा सकारात्मक सम्भावनाको जगेर्ना तथा नयाँ सम्भावनाको खोजी नहुनु
  • सम्भावना भएर पनि कृषिमा आधुनिकीकरण, पशुपालन, फलफूल उत्पादनका कार्यक्रम यस क्षेत्रमा हुनुपर्ने जति हुन नसक्नु ।
  • आपसी सहयोग, समन्वय, सहकार्यद्वारा यस क्षेत्रको समग्र विकासलाई सम्भव वनाउन यसपूर्व साझा कार्यनीतिको अभाव

सिद्धार्थ आर्थिक करिडोरका अवसरहरु

  • सिद्धार्थ आर्थिक करिडोरको प्रयासबाट यस क्षेत्रका गाउँपालिका तथा नगरपालिकाहरुको आपसी समन्वय रसहकार्यमा कृषि, पर्यटन, सूचना प्रविधि, खनिज, तथा साना स्वरोजगारमूलक उद्योगहरुको स्थापना र विकासका अवसरहरु सिर्जना गर्न सक्ने देखिन्छ ।
  • युवा स्वरोजगार र उद्यमशीलताका अवसरहरु सिर्जनाका लागि समेत यो अभियान सहयोगी बन्न सक्ने देखिन्छ ।
  • पालिका तहहरुमा एक आपसमा सहयोग, सद्भाव, रोजगारीको सिर्जना, लोकमार्ग वरिपरि रहेका पर्यटकीय स्थलहरुको पहिचान, प्रवद्र्धन तथा विकासका लागि सञ्जाल सहयोगी बन्न सक्ने देखिन्छ ।
  • कृषि उत्पादनलाइ व्यवसायीकरण तथा उत्पादित
  • सामानहरुको बजारीकरणमा समेत नगर तथा गाउँपालिकाहरुले सहकार्य गर्न सकिने देखिएको छ ।
  • नगरपालिका तथा गाउँपालिकाहरुबीच उत्तम अनुभवको आदानप्रदान र अनुकरण, योजनाहरुको पहिचान र कार्यान्वयन साझा प्रयास परिचालन गर्ने थुप्रै संभावनाहरु रहेका छन् ।
  • साझा प्रयासले यस क्षेत्रको समानुपातिक विकास तथा समुन्नतिका अवसरहरु सिर्जना गर्न सक्दछन् ।

सिध्दार्थ आर्थिक करिडोरको विकासको लागि गर्नु पर्ने कार्यहरु

एक पालिका एक औद्योगिक ग्रामको स्थापना र यी औद्योगिक ग्रामका उत्पादनको बजारीकरण, निर्यात वा थप प्रशोधनका लागि पोखरामा विशेष आर्थिक क्षेत्रको स्थापना । भैरहवामा यसपूर्व विशेष आर्थिक क्षेत्रको स्थापना भैसकेको छ । सिध्दार्थ करिडोरका अधिकांश स्थानहरु पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेका छन् । लुम्बिनी, बुटवल नुवाकोट केवलकार, सिध्दबाबा, सत्यवती ताल र मन्दिर, भैरवस्थान, रिडी, रानीमहल, श्रीनगर,कालीगण्डकी, राम्दी, सुनगुफा, कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान मालुंगा, छांगछांग्दी, भालुपहाड, ब्रिटिस गोरखा स्मारक साल्मेडाँडा, पुम्दीकोट आदि क्षेत्रहरुमा धार्मिक पर्यटन र पर्यटकीय क्षेत्रहरुको नेटवर्क बनाउनु आवश्यक हुन्छ । यसका लागि सुनौली र पोखरावाट बसको प्याकेज टूर बनाउनु उपयुक्त हुन्छ । पाल्पा र स्यांगजाका राजमार्ग नजीकमा बन्जी जम्पिंग र साहसिक पर्यटन केन्द्रहरु स्थापना गर्न सकिन्छ ।यसका लागि निजी क्षेत्रको
सहभागिता र लगानी आवश्यक पर्ने भएकोले निजी क्षेत्रमैत्रीय नीतिको आवश्यकता पर्दछ । कास्की र स्यांगजामा होमस्टे धेरै संख्यामा रहेका छन् । पर्यटक आकर्षित गर्न पाल्पाका पालिकाहरुले एक वडा एक होमस्टेको नीति लिनु आवश्यक हुन्छ । सुनौली, बर्तुंग र पोखरामा पर्यटन कार्यालयको आवश्यकता देखिन्छ । बर्तुंगमा पर्यटन कार्यालय खोल्न नेपाल पर्यटन बोर्ड संग सहकार्य गर्नु आवश्यक हुन्छ ।

सिध्दार्थ राजमार्गको पाल्पा स्यांगजा खण्ड पहाडी क्षेत्रमा पर्ने हुनाले दुर्घटनाका संभावना बढी देखिन्छ । यसका लागि
सवारी दुर्घटना न्यूनीकरणका उपायहरु अवलम्बन गर्ने र तिनाउ, बर्तुंग र वालिंग वा पुतलीबजारमा ट्मा सेन्टरको
स्थापना हुनु आवश्यक हुन्छ । पाल्पाको तानसेन विगतमा मेडिकल र शैक्षिक हवको रुपमा स्थापित भएकोमा अहिले बुटवल र पोखरा मेडिकल र शैक्षिक हवको रुपमा समेत विकसित भएका छन् । यसमा पाल्पाको विगतको साखमा कमी आएको छ । अव तथापि पर्भासमा रहेको लुम्बिनी मेडिकल कलेजले यसको क्षतिपूर्ति गर्ने प्रयास गरेको छ ।

अब पाल्पा र स्याङ्जामा नसिंंग कलेज, स्पोर्टस कलेज, चलचित्र कलेज, होटल व्यवस्थापनका कक्षाहरु संचालन गरिनु आवश्यक हुन्छ । पाल्पा र स्याङ्जा प्राकृतिक छटा र मनमोहकताले भरिपूर्ण छन् । पोखरा त यसको लागअ नै छ । यस क्षेत्रमा चलचित्रको आउटडोर सुटिंगको लागि पोखरा पछि पाल्पाले प्रसिध्दि कायम गरेको छ । तर अहिले चलचित्रमा आउटडोर सुटिंगको अतिरिक्त इनडोर सुटिंगको पनि महत्व रहने भएकोले पाल्पा र स्याङ्जामा इनडोर सुटिंग केन्द्रको स्थापना हुनु आवश्यक हुन्छ । बुटवल र पोखरामा चलचित्र प्रशोधन केन्द्र आवश्यक देखिन्छ । करिडोरले आर्थिक पक्षको साथसाथै सामाजिक सांस्कृतिक आयामलाई समेत सम्बोधन गर्न सक्नु पर्दछ । पाल्पामा मगर जातिको बाहुल्यता रहेको र स्याङ्जा तथा कास्कीमा गुरुंग जातिको उपस्थिति उल्लेखनीय रहेको छ । यसर्थ यी ठाँउहरुमा मगर तथा गुरुंग संस्कृतिको अध्ययन अनुसन्धान केन्द्र खोल्ने र उक्त जातजातिका भाषमा उच्च शिक्षा अध्ययनका लागि विश्व विद्यालय स्थापना गर्नु आवश्यक हुन्छ । यसको साथै तीन जिल्लाका अन्य जातजातिको संस्कृति र रीतिरिवाजको सरक्षण र
सम्बध्र्दन हुनु आवश्यक छ ।


विकासका अन्य सम्भावनाहरु

  • यस क्षेत्रको विकासका लागि सडकको विकास र स्तरोन्नतिले मात्र पुग्दैन, विकासका अन्य सहयोगी पूर्वाधार अर्थात् शिक्षा, स्वास्थ्यका क्षेत्रमा बाटोसँगै समयअनुकूल विकास हुनु आवश्यक छ ।
  • यस क्षेत्रमा औद्योगिक विकास आवश्यक छ ।
  • सिद्धार्थ लोकमार्ग वरिपरि आर्थिक गतिविधि बढाउन स्थानीय तहले आफैले सक्ने खालका साना–साना औद्योगिक ग्रामहरु स्थापना गर्नुपर्र्दछ ।
  • अन्नबालीसँगै फलफूल उत्पादन तथा पशुपालनको लागि उद्यम व्यवसायको सम्भावना उत्तिकै छ ।
  • सडकको दायाँ बायाँ आर्थिक करिडोर हुन चाहिने रेल, हबाईमार्ग, औद्योगिकरणको लागि उद्योगहरुको स्थापना, ऊर्जाको आपूर्ति, सामाजिक बिकासको लागि चाहिने स्कूल, कलेज अस्पताल जस्ता अन्य महत्वपूर्ण पूर्बाधारहरुको बिकास गरिनु आवश्यक हुन्छ ।
  • कृषिको आधुनिकीकरण र व्यावसायीकरण गर्ने ।
  • कृषि प्रशोधन उद्योग स्थापनाको लागि आबश्यक कच्चा पदार्थको ब्यबस्था गर्ने ।
  • गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले सिद्धार्थ लोकमार्ग चारलेनमा स्तरबृद्धि गर्न सहकार्य गरी संघीय सरकारसँग बजेटको लागि अनुरोध गर्ने ।
  • सिद्धार्थ लोकमार्गमा पर्ने सबै नगरपालिका र गाउँपालिकाले सडकको दायाँबायाँ सडक विस्तारमा सहजीकरण गर्ने ।
  • सबै नगरपालिका र गाउँपालिकाले सिद्धार्थ लोकमार्गलाई लक्षित गरेर कम्तिमा पनि एक पालिका एक उद्योगग्रामको स्थापना गर्ने ।
  • सबै नगरपालिका र गाउँपालिकाले भूउपयोग नीति बनाई उद्योगग्राम स्थापना गर्नको लागि आबश्यक कच्चा पदार्थ स्थानीय स्तरमा उपयोग गर्न पहल गर्ने ।
  • कृषिको आधुनिकीकरण गर्न नयाँ प्रबिधि खोज्ने, यान्त्रिकीकरणमा सघाउने, र स्रोत परिचालन गर्ने । चक्लाबन्दी र करार कानून बनाई कृषि आयतनको आकार बढाउने, आधुनिकीकरण र बजारीकरणमा सघाउने । फलफूल कफी क्षेत्र को बिकास गर्ने कफी प्रशोधन केन्द्रको स्थापना गर्ने ।
  • ५०१ देखि २,५०० मिटर सम्ममा तरकारी र साना तथा मझौला उद्योग र २,५०० मिटर भन्दा माथि पशुपालन गर्ने जस्ता आर्थिक क्रियाकलापलाई प्रश्रय दिने ।
  • लोकमार्ग वरिपरि होटेल तथा रेस्टुरा स्थापना र सञ्चालन गर्ने वातावरण निर्माण गर्ने ।
  • भैरहवा आउने पर्यटकलाई पोखरा र पोखरा आउनेलाई भैरहवासम्म आवतजावत गर्न रोमाञ्चित पहाडी सडक यात्रा प्रर्बद्धन गर्ने ।
  • स्थानीय सरकारहरुबीच सहकार्यको माध्यमबाट कृषि, पशुपालन, पर्यटकीय वस्तु आदिको उत्पादनले बजार प्राप्त गर्ने छ भने, स्थानीय साधन स्रोतको बहुउपयोग, घरेलु तथा कुटीर उद्योगको माध्यमबाट रोजगारीको अवसरमा वृद्धि गरी विकासको मार्गमा बढ्ने नीति लिने ।
  • सिद्धबाबा खण्डको अल्पकालीन तथा दीर्घकालीन निर्माण र यस लोकमार्ग अन्तर्गत रहेका ३४ वटा पुलहरुको मर्मत गर्नुपर्ने ।
  • यस दीर्घकालीन योजना अन्तर्गतका स्थानीय सरकारको सवलीकरण र समुन्नतिका लागि प्रदेश र संघीय सरकारको सहयोग परिचालन गर्ने ।
  • मित्यालमा सुर्यमुखी खेतीको प्रबध्र्दन गर्ने
  • झिरुवासको काउलेडाँडा पर्यटकीय चिया बगानको रुपमा विकास गर्ने
  • निस्दीको अर्चले कागतीको पकेट क्षेत्र बनाउने
  • तिनाऊको झ्याङ्लाफाँट, रामपुरको हेक्लाङफाँट, रम्भाको हुँगीफाँट र तानसेनको अर्गलीफाँटलाई नमूना कृषि गाउँको रुपमा विकास गर्ने ।
  • तानसेनमा रहेको श्रीनगरडाँडा प्राकृतिक छटाले भरिपूर्ण छ यस डाँडाबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण लगायत नेपालका सवैजसो हिमश्रृंखलाहरुको सजिलै संग दृश्यावलोकन गर्न सकिन्छ । पाल्पा जिल्लामा रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, रम्भा देबि, पूर्वखोला, रामपुर, राम्दी सुन गुफा, कालीगण्डकी, दर्लममहाकाली, दर्लमडाँडा,महामृत्युन्जय शिवासन बराङ्दी जस्ता धेरै पर्यटकीय तथा धार्मिक स्थलहरू रहेका छन्। खड्गशम्सेरले आफ्नी रानीको सम्झनामा बनाएको रानीमहल केही दशक यता नेपालको ताजमहलको नामले सुपरिचित छ र आन्तरिक तथा बाह्य पर्यटक को प्रमुख आकर्षको केन्द्र समेत बनेको छ । यसका अतिरिक्त चितवन, देवघाट, पोखरा, लुम्विनी , स्वर्गव्दारी, ढोरपाटन,अर्घाखांचीको सुपा देउरालीको वीचमा रहेर यी पर्यटकीय तथा धार्मिक स्थानवाट समेत निकटतम दूरीमा रहनुले यस जिल्लाको पर्यटकीय संजालमा आबध्द हुने संभावना अझै बढेको छ । जिल्लाका विविध सांस्कृतिक आयाममा पाल्पा जिल्ला समृध्द छ । अन्य स्थानका प्राकृतिक सौन्दर्यले समेत ग्रामीण पर्यटनको पनि त्यत्तिकै सम्भावना देखिन्छ । सवैजसो भूभाग पहाडी धरातलमा पर्ने भएकोकारणले सिर्जित चुनौतीहरुलाई प्याराग्लाइडिंग, केवलकार, ट्रेकिंग रुटको रुपमा परिणत गर्ने दीर्घकालीन योजनाव्दारा सम्बोधन गर्ने ।
  • पाल्पाली ढाका नेपाल भरकै उत्कृष्ट मानिन्छ साथै पाल्पाली करुवा प्रतिको आकर्षण देश भरिनै रहेको छ । पर्यटन, व्यावसायिक ढाका र करुवा तथा भाडाबर्तन निर्माणका उद्योगहरुले यस जिल्लाको आर्थिक विकासमा टेवा पुर्याइरहेका छन् । पाल्पाली ढाका र करुवाको देश भित्र र बाहिर रहेको प्रसिध्दिलाई व्यवसायिक अवसरमा रुपान्तरण गर्ने ।
  • सिद्धार्थ राजमार्गले यस क्षेत्रको सम्बन्धलाई भारतसंगको सीमाना संग जोडिदिएको छ भने पोखरा, पर्वत, म्याग्दी , मुस्तांग हुदै चाीन संगको सीमा संग पहुंच कायम हुन पुगेको छ। उत्तर दक्षिण फैलिएको भूपी शेरचन मार्ग र सिध्दार्थ राजमार्गको यो अवसरको उपयोग वाट उत्पादनहरुलाई निर्यात गर्न सक्ने मार्गको रुपमा समेत उपयोग गर्न सकिने मात्र होइन कि स्थलमार्गका पर्यटकहरुआई आकर्षित समेत गर्न सकिन्छ ।
  • मदनपोखराले कृषिमा ल्याएको परिवर्तन अन्य जिल्लाको लागि पनि उदाहरणीय बनेको छ । यी क्षेत्रहरुलाई प्रारम्भमा जिल्लाको माग पूरा गर्न सक्ने हैसियतमा ल्याई दीर्घकालमा जिल्ला वाहिर पठाउन सक्ने
  • संभावनाहरु खोजी गर्न सक्ने समेत देखिन्छ ।
  • पहाडी भूवनौटको फाइदा लिन केवलकार, प्याराग्लाइडिंग र ट्रेकिंग रुटका क्षेत्रहरुको पहिचान गरि विकास गर्ने ।
  • सिमेन्टको लागि चाहिने क्लिंकरको उपलब्धता पाल्पामा
  • राम्रो देखिएकोले प्राकृतिक सौन्दर्यतामा ह्रास नआउने र भूक्षय नहुने गरि सिमेन्ट उद्योगको स्थापना गर्ने । यसवाट प्राकृतिक स्रोतको लाभ लिने ।
  • प्रत्येक स्थानीय तहमा एक विशिष्ट उत्पादनको पहिचान कायम गर्ने गरि एक स्थानीय तह एक उत्पादन को अवधारणा अगाडी बढाउने ।
  • कफी र अदुवा प्रशोधन केन्द्रको स्थापना गर्ने ।
  • दुग्धजन्य उद्योग स्थापना गर्ने ।
  • कृषि उत्पादन प्रणालीका वैकल्पिक संभावनाहरु खोजी गरी स्थान विशेषको लागि उपयुक्त हुने नयां कृषि प्रणालीको विकास गर्ने ।
  • सिध्दवावाको वाटोको स्तरोन्ति वा वैकल्पिक मार्गको शीघ्र व्यवस्था ।
  • अम्रिसो, सूर्यमुखीतेल, अलैंची, सुन्तला खेतीलाई व्यवसायिक रुपमा संचालन गर्ने ।
  • भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र संग समेत आबध्दता बढाउने गरी कृषि उपज संकलन तथा व्यवस्थापन केन्द्र खोल्ने ।
  • रानीमहलको उत्तरवाहिनी कालीगण्डकी नदीको धार्मिक आयामको थप प्रचार प्रसार गरि यसको वाट लाभान्वित हुन चाहनेलाइ यसको वास्तविक महत्वको बोध गराउनु आवश्यक छ ।

सार्वजनिक निजी साझेदारी
सिध्दार्थ आर्थिक करिडोरको सफलतामा निजी क्षेत्रको सहभागिता अनिवार्य हुन्छ । यस करिडोरमा निजी क्षेत्रसँगको सहकार्यमा गर्न सकिने योजनाहरु निम्नानुसार हुन सक्छन् :

  • ठूला होटल तथा रिसोर्टहरु
  • अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
  • सुपर स्पेसालिटी अस्पताल
  • प्राविधिक तथा व्यावसायिक कलेजहरु
  • शिक्षण संस्थाहरु
  • साहसिक पर्यटन संरचनाको निर्माण
  • अत्याधुनिक खेल मैदानको निर्माण
  • र्‍ याफ्टिङ, बन्जी जम्पिंगको संचालन
  • कृषि प्रशोधन उद्योगहरु
  • मिनरल वाटर प्लाण्ट निर्माण
  • यसै क्षेत्रमा प्राप्त कच्चा पदार्थमा आधारित सिमेन्ट उद्योग तथा अन्य उद्योगहरु
  • केवलकार निर्माण
  • प्याकेज टूर सर्भिस
  • ढाका तथा अन्य कपडाजन्य उद्योगहरुको स्थापना

समुदायको सहभागितावाट गर्न सकिने कार्यहरु

  • होमस्टे संचालन
  • सांस्कृतिक सम्पदाहरुको विकास र संरक्षण
  • समुदायमा आधारित चाडपर्व, जात्रा, संस्कृतिको संरक्षण र विकास

करिडोर बाहेकका पालिकाहरु संग सहकार्य

सिध्दार्थ राजमार्ग उत्तर दक्षिण राजमार्गको रुपमा मात्र रहेको छैन यसवाट अन्य सहायक मार्ग र थप राजमार्ग समेत निर्माण भएका छन् । यसर्थ सिध्दार्थ करिडोरको साझा अभियानमा पाल्पा र स्याङ्जाका सवै पालिकाहरुलाई समेट्नु आवश्यक हुन्छ ।सिध्दार्थ करिडोरको साझा अभियानलाई सार्थक र दिगो बनाउन यसमा आबध्द सवै पालिकाहरु तथा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका वार्षिक नीति र कार्यक्रम तथा बजेटहरुमा सम्बोधन हुनु आवश्यक हुन्छ र ती सवै नीति तथा कार्यक्रमहरुवीच अन्तर आबध्दता र समन्वयको नितान्त आवश्यकता पर्दछ । साथै यी सवै तहहरुले ल्याउने विकास नीति, लगानी नीति, सार्वजनिक निजी साझेदारिता नीति, वित्त हस्तान्तरण, आवधिक योजनाहरु वीच उन्नत तहको सहकार्य र समन्वयको आवश्यकता पर्दछ ।सिद्धार्थ आर्थिक करिडोर अवधारणाको सहज कार्यान्वयनका लागि संस्थागत संरचनाको आवश्यकता पर्दछ । यसका लागि सिद्धार्थ आर्थिक करिडोर सरोकार परिषद् गठन गर्नु आवश्यक हुन्छ । यसमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका आर्थिक करिडोर क्षेत्रवाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद्, नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख, आर्थिक करिडोरमा पर्ने उद्योग बाणिज्य संघ, उद्योग परिसंघ, र चेम्बर्स अफ कमर्सका अध्यक्ष, नागरिक समाजका प्रतिनिधि, आर्थिक करिडोर विज्ञ अर्थशास्त्री तथा योजनाबिद् सम्मिलित परिषद र परिषदको मातहत रहने गरि विषयगत समितिहरु रहनु आवश्यक हुन्छ ।


सिध्दार्थ आर्थिक करिडोरको अवधारणा कुनै एक जिल्ला र पालिका विशेषको विकास को चाहनावाट प्रेरित विषय होइन यो यस क्षेत्रको साझा समस्या र साझा प्रयासको एकीकृत रुप हो । यसका लागि करिडोरका सवै पालिका, जिल्लाहरु, करिडोर आसपासका अन्य पालिकाहरु, प्ररदेश सरकार सवैको सामुहिक अपनत्वको आवश्यकता हुन्छ । यसका लागि राजनैतिक तह, प्रशासनिक तह, निजी क्षेत्र, समुदायमा आधारित निकायहरु, बुध्दिजीविहरु, लगानीकर्ताहरु, उद्योगी व्यवसायी सवैवीच सामूहिक भावना र सहकार्यको संस्कृति विकासको आवश्यकता रहन्छ । केही समय सक्रिय रहेर अहिले सवैले विर्सन थालेको सिध्दार्थ आर्थिक करिडोरको अवधारणालाई जीवन्तता दिन यस क्षेत्रका सवै स्थानीय तहको सक्रियताको आवश्यकता रहेको छ । तर शुरुवाती चरणमा तानसेन नगरपालिका र पाल्पाका अन्य स्थानीय तहहरुको सक्रयिता रहेको सन्दर्भमा सिध्दार्थ आर्थिक करिडोरको अवधारणाले पाल्पाको थप सक्रियता खोजिरहेको छ ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *