पौरस्त्य र पाश्चात्य समाजमा परमाणुवाद


( नेपाल प्रज्ञा–प्रतिष्ठान र माक्र्सवादी अध्ययन स्रोतकेन्द्रको संयुक्त आयोजनामा भएको अन्तक्रियामा प्रस्तुत कार्यपत्र )

प्रस्तोताः रामराज रेग्मी

आँखाले देख्न नसकिने पदार्थका अति नै शुक्ष्म तत्वलाई परमाणु (Atom) भनिन्छ । पौरस्त्य र पाश्चात्य समाजमा परमाणु सम्बन्धी अवधारणा कहाँ कुन पृष्ठभूमिमा विकसित भयो, त्यसमा कसको भूमिको के कस्तो रह्यो र दुई पृष्ठभूमिका दर्शनहरूमा के कति समानता वा असमानता छ भन्ने विषयवस्तुमा प्रकाश पार्नु नै यस कार्यपत्रको उद्देश्य रहेको छ ।

१. पौरस्त्य समाजमा परमाणुवादी अवधारणा
पौरस्त्य समाजमा परमाणुवादबारे विस्तृत व्याख्या गर्ने दर्शन वैशेषिक हो । तर त्यसभन्दा पहिलेका दर्शनहरूले पनि परमाणुबारे धेरथोर प्रकाश पारेका छन् ।
१.१. परमाणु सम्बन्धमा वैशेषिकभन्दा पहिलेका अवधारणाहरू
पौरस्त्य समाजमा परमाणु सम्बन्धी विवेचना उपनिषद् कालमा नै भएको पाइन्छ । छान्दोग्य उपनिषद्को ६.१२.१–२ मा ऋषि उद्दालक आरुणीले आफ्ना पुत्र श्वेतकेतुसँगको संवादमा पदार्थका मसिना कणबारे प्रकाश पारेका छन् । उनले श्वेतकेतुलाई बरको फल फोड्न लगाउँछन् र त्यसमा रहेका मसिना बियाँहरूमध्ये एउटाको भित्री भागमा तिमी के देख्दछौ भनी प्रश्न गर्दछन् । जब श्वेतकेतुले मैले त केही देख्दिन भन्दछन्, तब उद्दालकले यसभित्र अणुमय बीज छ जस्मा विशाल बटबृक्ष अन्तर्निहित छ भनी जानकारी गराउँछन् (यं वै सौम्यैतमणिमानं निभालयस एतस्य वै सौम्यैषोणिम्न एवं महान्न्यग्रोधतिष्ठति) । उनी खाएको अन्नमा सबैभन्दा शुक्ष्म भागबाट मन बन्दछ भनी भन्दछन् ।

आजीवक दर्शनले परमाणुको संयोगबाट विविध रूप र आकारका पदार्थ बन्ने विचार अघि सारेको छ । दर्शनका प्रणेता गोशाल भन्दछन् कि परमाणुहरू अति नै शुक्ष्म हुन्छन् र तिनलाई सामान्य हेराइबाट देख्न सकिन्न । पदार्थको अति नै सानो एकाइ भएका कारण परमाणुलाई विभाजन गर्न पनि सकिन्न । गोशालका अनुसार परमाणुहरू शाश्वत हुन्छन्, न ती कसैद्वारा सृष्टि गरिएका हुन् न त ती नाशवान् नै छन् । तिनको संयोगबाट स्कन्धका रूपमा बनेका पदार्थहरू मोतीजस्ता ठोस हुनुका साथै बाँसजस्तै खोक्रा हुन्छन् (रेग्मी, २०७७ ः ४२) । बौद्ध दर्शनले परमाणुबारे केही विस्तृत व्याख्या विश्लेषण गरेको छ । यसले प्रत्येक पदार्थ वा वस्तुलाई परमाणुहरूको समष्टि रूप अथवा स्कन्ध मान्दछ । बुद्ध भन्दछन् कि प्रत्येक वस्तु भनेका संखार (संस्कार) अथवा घटना हुन् जुन शुक्ष्म कणद्वारा निर्मित प्रवाहका रूपमा सतत परिवर्तनको अवस्थामा हुन्छन् । परमाणु सम्बन्धी यस बौद्ध अवधारणालाई युनानी राजा मिलिन्डर र बौद्धमुनि नागसेनको संवादमा स्पष्टसँग व्यक्त गरिएको छ । त्यहाँ नागसेनले मानव शरीर विभिन्न परमाणुहरूको स्कन्ध हो भन्दछन् ।

जैनदर्शनमा बौद्धदर्शनमाभन्दा परमाणुवादबारे अझ विस्तृत व्याख्या विश्लेषण पाइन्छ । जैन दर्शनले पदार्थलाई ‘पुद्गल’ नाम दिएको छ । जैन दार्शनिकहरू के भन्दछन् भने पदार्थ विभाजित भएपछि त्यो अन्तिम अवस्थामा अणुमा परिणत हुन्छ । यहाँ ‘अणु’ शब्द प्रयोग गरिए पनि त्यसलाई अति शुक्ष्म, नित्य र निरपेक्ष सत्ता भनेकाले आखिरमा त्यो भनेको परमाणु नै हो । जैन दर्शनअनुसार अणुहरू संयोजित भएपछि ती पुद्गलमा रूपान्तरित हुन्छन् । अणुहरू आकृतिविहीन, अमूर्त हुन्छन् र नित्य अस्तित्वमा रहन्छन् । तिनलाई आँखाले देख्न सकिँदैन । तिनलाई न त नाश गर्न सकिन्छ न त निर्माण गर्न नै । अणुहरू शुक्ष्म भएपनि तिनमा स्वाद, रङ्ग र गन्ध हुन्छ जुन अणुका नित्य र स्थायी गुण हुन् । जैन दर्शनअनुसार अणुहरू शुक्ष्म भए पनि गुरुत्वाकर्षणका कारण तिनीहरूको तौल हुन्छ । हलुका अणुहरू माथि उत्रिने र गरुङ्गा तल जाने गर्दछन् । जैन दर्शनले सबै पदार्थका अणुहरू एकै प्रकारका हुने दृष्टिकोण अँगाल्दछ । जैन दार्शनिकहरू भन्दछन् कि सबै पदार्थका अणुहरू गोल आकारका हुन्छन् । तर तिनीहरू एकै प्रकारका भए पनि विविधताको निर्माण गर्दछन् । बौद्ध दर्शनले झैँ जैन दर्शनले पनि अणुहरूलाई गतिशील र परिवर्तनशील मान्दछ । बौद्ध दर्शनले झैँ यसले पनि एकथरी अणुहरू नष्ट हुँदै जाने र अर्काथरी उत्पत्ति भइरहने विचार व्यक्त गर्दछ । तर बौद्ध दर्शनभन्दा जैन दर्शनको फरक मत के छ भने ती क्षणिक प्रकृतिका हुँदैनन्, स्थायी प्रकृतिका हुन्छन् र त्यही कारणले गर्दा स्थूल पदार्थ (पुद्गल) को निर्माण गर्न पुग्छन् ।

२. परमाणुवाद सम्बन्धमा वैशेषिक दर्शन
यस दर्शनका प्रणेता महर्षि कश्यप हुन् । तर उनी सप्तर्षिमध्येका कश्यप अथवा वैदिक कालका मरिचि ऋषिका पुत्र कश्यप होइनन् । उनी उत्तरवैदिक कालका एक भौतिकवादी दार्शनिक हुन् । कणाद उनको उपनाम हो । शुक्ष्म तŒव अथवा कणका बारेमा व्याख्या विश्लेषण गरेकाले उनको उपनाम ‘कणाद’ रहन गएको हो । आफ्नो प्रमुख नाम कश्यपलेभन्दा यही उपनाम कणादले उनी प्रख्यात छन् । कणादको समय इ.पू. ५०० मानिएको छ । उनी कहाँका निवासी हुन् भन्ने सवालमा मतभिन्नता देखिन्छ । भारतीय विद्वान्हरूले उनलाई भारतका निवासी भनी प्रमाणित गर्ने प्रयत्न गरेका छन् । तर धेरै सन्दर्भहरूबाट उनी नेपाली भूमिका निवासी भएको थाहा लागेको छ । न्यायकोशकार भीमाचार्यले कणादको निवास स्थान मिथिला देश हो भनेका छन् (अर्याल, २०७९ ः ५७८) । पोखराभन्दा १० किलोमिटर पश्चिममा पर्ने पहाडी थुम्कोमा कश्यपको आश्रम भएकाले त्यसको नाम कास्कीकोट (कश्यप कोट) रहन गएको हो भनी इतिहासकारहरू भन्दछन् । कश्यपकै नामबाट कास्की जिल्लाले पहिचान प्राप्त गरेको छ । चिन्तन गर्ने मनिषीहरू स्थायी रूपले एक ठाउँमा नबस्ने हुँदा कुनै समयमा कश्यप कास्कीकोट आएर बसेका हुन सक्छन् ।
दर्शनको नाम किन ‘वैशेषिक’ रहन गयो भन्ने सम्बन्धमा धेरै विद्वान्हरूले भिन्न भिन्न मत व्यक्त गरेका छन् । दर्शनका प्रणेताले पदार्थको वर्गीकरणमा ‘विशेष’ लाई समेत समावेश गरेकाले दर्शनको नाम ‘वैशेषिक’ रहन गएको हो (विशेष पदार्थमधिकृत्य कृतं शास्त्रम् वैशेषिकम्) भन्ने न्यायकोशको मत नै अरू मतभन्दा उपयुक्त देखिन्छ (मिश्र, २०१२ ः ३४५) ।

परमाणुका बारेमा व्याख्या विश्लेषण गर्ने क्रममा कणाद भन्दछन् कि यो अविभाजित र अविच्छेद्य छ । यो निरवयव (अङ्गरहित) पनि छ । अतिनै शुक्ष्म हुनाले इन्द्रियजन्य हुँदैन । यस अर्थमा यो अविनाशी अथवा शाश्वत हुन्छ – परमाणवः नित्या (वैशेषिक सूत्र ७.१.२०) । कणाद भन्दछन् कि नाश त्यस पदार्थको हुन्छ जुन सावयव हुन्छ । परमाणु अति नै शुक्ष्म हुनाले, त्यसको न त भित्र हुन्छ न त बाहिर । परमाणु कहिले पनि नष्ट हुँदैन । प्रलय भएर संसार ध्वस्त भएको अवस्थामा पनि यो अस्तित्वमा रहन्छ ।

जैन दर्शनले झैँ वैशेषिकले पनि परमाणुलाई गतिशील र गतिहीन दुवै मान्दछ । वैशेषिक सूत्र ७.१.९ मा भनिएको छ यदि संयोग अथवा अन्तक्रियाको विशेष अवस्था हुँदैन भने परमाणुमा गुण र कर्म (गति) उत्पन्न हुँदैन (संयोगविशेषाभावे गुणकर्मणोरभावः) । यसरी कणादले परमाणुको दुई अवस्थाको उल्लेख गरेका छन् – निश्चल र सक्रीय । परमाणुको गति सम्बन्धी यो द्वैध अवधारणा आधुनिक भौतिक शास्त्रको क्वान्टम यान्त्रिकी (Quantum Mechanics) सँग मिल्दोजुल्दो छ । क्वान्टम यान्त्रिकीले विशेष अवस्थाहरूमा परमाणुहरू सक्रिय र निष्क्रिय रहन सक्ने मान्यता राख्दछ ।

परमाणुको गतिको कारण के हो भन्ने सवालमा कणाद भन्दछन् कि संसारमा घट्ने कतिपय घटनाहरु प्राकृतिक कारणले गर्दा स्वभावत गतिशील हुन्छन् । तिनीहरूलाई सञ्चालन गर्न कुनै ईश्वरको आवश्यकता पर्दैन । परमाणुहरूमा पनि यही स्वभाविक गति हुन्छ । यहाँनेर कणाद यान्त्रिक भौतिकवादी (Mechanical Materialism) को खेमामा घुस्न पुग्दछन् (चट्टोपाध्याय, २००७ ः ३८९–९०) । प्राकृतिक कारण के हो भन्ने सम्बन्धमा आफ्नो अध्ययनको सीमाका कारण किटेर यही हो भन्न सक्दैनन् र त्यसलाई ‘अदृष्ट’ भन्न पुग्छन् । अदृष्ट भनेको नदेखिने शक्ति हो । उनी भन्दछन् कि जमिनभित्रका रुखका जराबाट पानी माथि हाँगाविँगासम्म अदृष्टकै कारण पुग्दछ (बृक्षाभिसर्पणमित्य दृष्टकारितम् – वैशेषिक सूत्र ५.२.७) । परमाणुको गतिमा पनि अदृष्ट कारणले गर्दा नै योग, विभाजन र स्थानान्तरण हुन्छ (Borodov,2012:93-98) । कणाद भौतिकवादी भएकाले प्रत्ययवादीहरूले झैँ उनले अदृष्ट शक्ति भनेको ईश्वर हो भनी भनेका त छैनन्, तर पनि परमाणुको गतिको कारण अदृष्ट शक्ति हो भनेर जुन विचार उनले प्रस्तुत गरे त्यसबाट पछिका प्रतिगामी वैशेषिकहरूले मौका पाए । तिनीहरूले उनको यस मूलभूत विचारलाई बङ्ग्याएर आफूखुशी अर्थ लगाए । पाचौँ शताब्दीमा प्रशस्तपादले ‘पदार्थ धर्म सङ्ग्रह’ नामको भाष्य लेखेर अणु र परमाणुको संयोजन र बिच्छेदनको अदृष्ट कारण भनेको ईश्वर हो भन्ने अर्थ लगाएर कणादको भौतिकवादी विचारलाई प्रत्ययवादी कित्तातर्फ घिसारे । उदयन र श्रीधरजस्ता भाष्यकारले अदृष्टको अर्थ ‘अदृष्ट अलौकिक शक्ति’ भन्ने लगाए र ईश्वरका पक्षमा दलिल पेश गर्दै तिनीहरू के सम्म भन्न पुगे भने यदि जगत््् कार्य हो भने त्यसको कारण अवश्य हुनुपर्दछ र त्यो अरू केही नभएर ईश्वर नै हो । श्रीधरले त शरीर नहुनेले पनि कर्म गर्न सक्ने भएकाले ईश्वरको निम्ति शरीर धारण गर्नुपर्ने आवश्यकता नभएको कुरा उठाए र परमाणुरूपी जगत्््सत्ताको परिकल्पना गरे (राधाकृष्णन्, २००४ ः १९६) ।

कणाद चार प्रकारका परमाणुको कल्पना गर्दछन् – पार्थीव, जलीय, तेजस्, र वायवीय । उनकाअनुसार वायवीय परमाणु अत्यन्त शुक्ष्मतम हुन्छन् । तिनमा स्पर्श गुण हुने भएकाले स्पर्शद्वारा मात्र तिनको अस्तित्वको अनुभूति गर्न सकिन्छ । तेजस् परमाणुमा रूप र स्पर्श दुई गुण हुन्छन् । जलीय परमाणुमा रस, रूप र स्पर्श तीनै गुण हुन्छन् । पार्थिव परमाणुमा रूप, रस, गन्ध, र स्पर्श चारवटै गुण हुन्छन् । कणादको भनाइअनुसार प्रत्येक द्रव्यका परमाणुहरूमा एकरूपता पाइन्न । तिनीहरूको सङ्ख्या, गुण, परिमाण, रूप, भार, आयतन आदि कुरामा भिन्नता हुन्छ । पृथ्वीका परमाणुहरू, जलका परमाणुहरू, वायुका परमाणु र अग्नीका परमाणुहरू फरकफरक प्रकृतिका हुन्छन् । प्रत्येकका आ–आफ्नै विशेषता हुन्छन् । कणादको गुण सम्बन्धी यस व्याख्यालाई वर्तमान विज्ञानले सत्य मानेको छ । बोल्जम्यानको तथ्याङ्क शास्त्रले परमाणुहरू विशेष गुण भएका हुन्छन् भन्ने कुरालाई स्वीकारेको छ ।

कणादले परमाणुलाई समस्त जगत् काे आरम्भका रूपमा प्रस्तुत गर्दछन् । उनले सृष्टि हुनुभन्दा पहिले समस्त जगत््् परमाणुमय रहेको र तिनकै संयोगबाट जगत्््का स्थूल तत्त्वहरू निर्माण भएको विचार व्यक्त गर्दछन् । परमाणुहरूबाट नै द्रव्य, तिनको गुण र कर्मको निर्माण हुन्छ – द्रव्य गुण कर्मणां कार्यत्वात् (वैशेषिक सूत्र १.१.१७) । त्यसकारण वैशेषिक दर्शनलाई ‘आरम्भवाद’ पनि भनिन्छ । कणादले एउटै प्रकृतिका परमाणुहरूबीच मात्र संयोग हुन सक्ने दृष्टिकोण अघि सार्दछन् । उनी भन्दछन् कि पार्थीव परमाणुहरूको संयोगबाट पृथ्वी, जलीय परमाणुहरूको संयोगबाट जल, तेजस् परमाणुहरूको संयोगबाट अग्नी र वायवीय परमाणुहरूको संयोगबाट वायु तत्वको निर्माण हुन्छ । कणाद भन्दछन् कि दुई उही प्रकृतिका परमाणुको संयोगबाट एउटा अणु बन्दछ । त्यसमा दुईवटा परमाणुको मिलन भएकाले ‘द्वययणुक’ (Binary Compound) भनिन्छ । तीनवटा अणुको मेलबाट ‘त्रयणुक’ (Triad) बन्दछ । द्वयणुक पनि शुक्ष्म हुँदा त्यसलाई आँखाले देख्न सकिँदैन । त्रयणुकबाट बनेका भूतद्रव्यलाई भने देख्न सकिन्छ । सूर्यको प्रकाश घरभित्र अथवा कोठामा छिर्दा जुन मसिना कणहरू देखिन्छन्, ती त्रयणुक हुन् । यसरी परमाणुहरू मिल्दै जानु भनेको पदार्थ र सम्पूर्ण जगत्््कै सृष्टि हुनु हो । कणादको व्याख्याअनुसार परमाणुहरूको एक आपसमा मिलेर स्थूल वस्तुको निर्माण गर्ने कार्य अङ्कगणीतीय ढङ्गबाट होइन, ज्यामितीय ढङ्गबाट हुन्छ । वस्तुको आकार बढ्दै गएपछि त्यो आँखाले देख्न सकिने अवस्थामा पुग्छ जसलाई ‘महत्’ भनिन्छ । कणाद भन्दछन् कि महत्को परिमाणमा बृद्धि हुँदै जाँदा त्यो ‘परम महत्’ सम्म पुग्दछ । एउटै वर्गका एउटै गुण भएका परमाणुहरू एक आपसमा मिलेर एक विशेष प्रकारको स्थूल तत्त्वको निर्माण गर्दछन् जस्तै पर्वत, महासागर पठार आदि । संसार समस्त अणु र परमाणुहरूको अन्तिम योग हो र विभिन्न भौतिक वस्तु, इन्द्रिय, मस्तिष्क, चेतना आदिको समवाय सम्बन्ध हो । कणादको यस विश्लेषणलाई जर्मन दर्शनशास्त्री म्याक्स मूलर पश्चिमी जगत्््मा गरिएको परमाणु सम्बन्धीे विवेचनाभन्दा बिलकूल फरक मौलिक विशेषता मान्दछन् (Damodaran, 1967:158) ।

कणादले आँखाले नदेखिने परमाणुहरूको गुण सम्बन्धी व्याख्या कसरी गरे ? उनको समयमा परमाणुहरूलाई प्रयोग गरी देखाउने विकसित साधनहरूको आविस्कार भएको थिएन । उनले देखिने वस्तुको सहयोगमा नदेखिने वस्तुबारे जानकारी लिने अनुमान पद्धतिको मार्ग अवलम्बन गरे । अनुमानका दुई थरी पद्धति हुन्छन् – एउटा हो पूर्णताबाट त्यसको अंशतर्फ जाने, अर्को हो अंशबाट सम्पूर्णताको खोजीतर्फ लाग्ने । पहिलोलाई ‘निगमन प्रणाली’ (Inductive Method) भनिन्छ भने दोस्रोलाई ‘आगमन प्रणाली’ (Deductive Method) भनिन्छ । कणादले दुवैे प्रणाली अँगाल्दछन् । पदार्थको गुणमा देखिने भिन्नताको आधारमा उनी परमाणुहरूको गुण सम्बन्धी विश्लेषण गर्दछन् र भन्दछन् कि प्रत्येक पदार्थको विशेष गुण हुने भएकाले नै तिनका परमाणुहरू एक आपसमा भिन्न हुन्छन् । उनी फेरि के पनि भन्न पुग्छन् भने परमाणुहरूकै गुणमा देखिने भिन्नताले गर्दा तिनको संयोगबाट निर्माण हुने पदार्थमा भिन्दाभिन्दै गुणहरू हुन्छन् । यो उनको बुद्धिमतापूर्ण अनुमान पद्धति हो (Bose,2015:4) ।

वैशेषिक दर्शनअनुसार जब परमाणुहरू बिच्छेदित हुन्छन्, वस्तुको विनाश हुन्छ । त्यसो भएकाले यस भौतिक जगत्््का सम्पूर्ण वस्तुको निर्माण र विनाश परमाणुकै क्रिया प्रतिक्रियाबाट हुन्छ । कणादको यो भनाइ पनि कम बुद्धिमतापूर्ण छैन । पौरस्त्य दर्शनमा संसारमा प्रलय हुने कुराको चर्चा धेरै ठाउँमा सुनिन्छ । त्यस प्रलयको अनुमानको श्रोत वैशेषिक दर्शन नै हुनुपर्दछ । यही अवधारणका आधारमा आजभोलि परमाणुहरूको विच्छेदनबाट विस्तृत क्षेत्र ध्वस्त हुन सक्ने परमाणु बम बनाइएको छ (Bose,2015:4) ।
वैशेषिक दर्शनको व्याख्या भौतिकवादमा मात्र नभएर द्वन्द्ववादमा समेत आधारित देखिन्छ । यसले अणु र परमाणुहरू मिलेर सम्पूर्ण बन्ने र सम्पूर्ण सानासाना टुक्राहरूमा विभक्त हुने क्रम चालू रहने कुराले संसारमा निर्माण र ध्वंश दुवै हुने गर्छ भन्ने कुराको व्याख्या अघि सारेकोे छ । परमाणुको नित्यताले स्थिरतातर्फ लैजाने र संघटन एवं बिघटनको प्रक्रियाले परिवर्तनतर्फ धकेल्ने दुई विपरीत पाटोतर्फ त्यसले सङ्केत गरेको छ । दर्शनमा महत् र परमाणु, कार्य र कारण, सामान्य र विशेष, दिशा र काल, संयोग र विभाजन, उत्प्रेक्षण र अवक्षेपण, आकुञ्चन र प्रसारण, नित्य र अनित्य, सुख र दुःख, परत्व र अपरत्व, एकीकरण र पृथकीकरण, सम्पूर्ण र अंश, आदि विपरीत पक्षहरूको चर्चा पाइन्छ ।

२. परमाणु सम्बन्धी पाश्चात्य विचार
पाश्चात्य जगत्मा परमाणु सम्बन्धी खोज युनानबाट भएको हो । यसको प्रथम व्याख्याता ल्यूसिपस हुन् उनको ग्रन्थ उपलब्ध छैन । उनका चेला डेमोक्रिटसले उनकै विचार अनुसरण गरेकाले डेमोक्रिटसको विचार ल्यूसिपसको पनि विचार भएको मानिन्छ । हुनत डेमोक्रिटसका पनि कुनै ग्रन्थ उपलब्ध छैनन् । तर उनका विचारहरू अन्य ग्रन्थमा उल्लेख गरिएको प्रसङ्गबाट थाहा लाग्छ । ल्यूसिपसको समय इ.पू. ४४० र डेमोक्रिटसको समय इ.पू.४६०–३७० मानिएको छ । डेमोक्रिटसले परमाणुलाई atom नाम दिएका छन् । अर्थ लगाउँदा ब को अर्थ हुन्छ ‘होइन’ र tom को अर्थ हुन्छ ‘काट्न सक्ने’ । यसबाट के बुझिन्छ भने डेमोक्रिटसले टूक्र्याउन नसकिने पदार्थलाई परमाणु भनी परिभाषित गरेका छन् ।
युनानी दार्शनिक ल्यूसिपस र डेमोक्रिटसको परमाणुवाद सम्बन्धी अवधारणा जुन भौतिक ज्ञानमा आधारित छ, त्यो अगाडिका ग्रिसेली दार्शनिकहरू पार्मेनाइडिज र जेनोका प्रतिगामी विचारहरूको खण्डनमा आएको हो भनी भनिन्छ । पर्मेनाइडिजले ज्ञानको स्रोत इन्द्रिय होइन बुद्धि हो भनेका छन् । उनले परिवर्तन भन्ने सवाल शून्यताबाट उत्पन्न हुने सवाल हो भनेका छन् । भनाइको मतलव अनस्तित्वबाट अस्तित्वको निर्माण हुन्छ । तर ल्यूसिपस र डेमाक्रिटस पार्मेनाइडिजका उक्त विचारहरूसँग सहमत देखिन्नन् । तिनीहरूले परिवर्तन भनेको पहिले नै अस्तित्वमा रहेका तत्त्वहरूको पुनर्संयोजन हो भनेका छन् । जेनोले वस्तुको गति असंभव हुन्छ भनी भनेकोमा त्यसको प्रतिवादमा ल्यूसिपस र डेमोक्रिटसले गतिशील र अविभाजित परमाणुवादको अवधारणालाई जन्म दिएका हुन् ।

डेमोक्रिटस परमाणुलाई गुणरहित मान्दछन् । उनको भनाइअनुसार जल, द्रव्य, वायु र अग्नीका परमाणुहरू सबै भेदरहित हुन्छन् । तिनीहरूमा केवल आकार र मापन (size) मा अन्तर हुन्छ । परमाणुका अन्य विशेषता अतिन्द्रिय, नित्य र पूर्ण हुन् । अतिन्द्रिय भनेको मानव इन्द्रियबाट थाहा नलाग्ने हो । नित्य भनेको नाशवान् नहुने र सधैँ अस्तित्वमा रहने हो र पूर्ण भनेको उत्पत्ति र विनासभन्दा पर भनेको हो । जगत्् ध्वस्त भए पनि परमाणुहरू अस्तित्वमा रहि रहन्छन् भन्ने डेमोक्रिटसको विचार भएको बुझिन्छ । उनले परमाणुलाई रूप, रङ्ग, ध्वनी र स्वादरहित मानेका छन् । डेमोक्रिटसले यस जगत््मा परमाणुको मात्र अस्तित्व छ भनेका छैनन् । उनले दुई सत्ताको उल्लेख गरेका छन् – परमाणु र रिक्त आकाश । उनी दुवैलाई अविभाज्य सत्ता मान्दछन् । उनी भन्दछन् कि परमाणुहरू रिक्त आकाशमा असङ्ख्य मात्रामा रहेका हुन्छन् । आकाशको खाली ठाउँमा ती गतिशील अवस्थामा हुन्छन् । तिनीहरूमा हुने गतिको कारण आकस्मिकता होइन अनिवार्यता हो किनभने ती प्रकृतिका निश्चित नियमअनुसार सञ्चालित हुन्छन् र अनिश्चित दिशामा यताउति गतिशील हुन्छन् । डेमोक्रिटसको परमाणुको गति सम्बन्धी यो विचार न्यूटनको गतिको नियम र कारणवादसँग मेल खान्छ । न्यूटन पनि सबै घटनाहरू नियमअनुसार घट्छन, संयोगले होइन भनी भन्दछन् ।


डेमोक्रिटस परमाणुको गतिका निम्ति ईश्वर नामको कुनै बाहिरी सञ्चालकको आवश्यकता पर्दैन भनी भन्दछन् । उनका अनुसार जसरी फूलमा सुगन्ध हुन्छ, दूधमा सेतोपन हुन्छ, महमा गुलियोपन हुन्छ, त्यसैगरी परमाणुमा गति हुन्छ (निगम, २०११ ः ४८) । डेमोक्रिटस भन्दछन् कि असङ्ख्य परमाणुहरू शून्य आकाशमा विचरण गर्दा तिनीहरू एक आपसमा टकराउँछन् । विजातीय परमाणुहरू गाभिदैनन्, तर एकले अर्कालाई धकेल्दछन् । साथै आफूसँग मिल्ने सहजात अणुका साथ विचरण गर्दछन् जसरी परेवा परेवाका साथ, सारस सारसका साथ आकाशमा उड्छन् (दत्त, २०२२ ः ४८) । परमाणुहरू एक आपसमा ठोकिँदा चक्रावर्तन (Vortex) उत्पन्न हुन्छ जसको परिणामस्वरूप विभिन्न पदार्थ पृथ्वी, जल, अग्नी र वायुजस्ता भौतिक पदार्थको उत्पत्ति हुन्छ । यस परिवर्तनको क्रम केन्द्रबाट परिधीतर्फ हुन्छ । परमाणु केन्द्र हो र स्थूल पदार्थ परिधि हो । परमाणुहरुबाट पृथ्वीजस्तो स्थूल पीण्डको मात्र निर्माण भएको होइन, सम्पूर्ण खगोलीय पीण्डहरुको समेत निर्माण भएको हो ।
डेमोक्रिटस मानव आत्मा विशेष प्रकारका परमाणुबाट बन्ने विचार व्यक्त गर्दछन् । उनी भन्दछन् कि आत्मामा अन्तर्निहित परमाणु चिल्लो, परिमार्जित र गोलो हुन्छ । यसको निर्माण बाहिर शून्य आकाशमा हुन्छ र स्थूल भौतिक तत्त्वसँगको संयोगबाट जीवको शरीरभित्र प्रवेश गरेर चेतन तत्त्वमा परिणत हुन्छ ।

परमाणु सम्बन्धी अवधारणाको आधारमा डेमाक्रिटसले प्राणीहरूमा शिशुले कसरी जन्म लिन्छ भनी व्याख्या गरेका छन् । उनी भन्दछन् कि परमाणुका रूपमा संभोगका अवस्थामा दुई विपरित लिङ्गका पुरुष र महिलाका परमाणुमय अण्डा प्रक्षेपित हुन्छन् जुन आपसमा मिलेपछि गर्भाधान हुन्छ । गर्भाशयमा उक्त संयुक्त अण्डा बढ्दै जाँदा सम्पूर्ण अङ्गसहितको शिशुको जन्म हुन्छ । डेमोक्रिटसपछि प्राचीन युनानमा परमाणुवादको थप व्याख्या उनका अनुयायी चौँथो शताब्दीका एपिक्यूरस (इ.पू. ३४१–२७०) ले गरे । डेमोक्रिटसले झैँ उनले यो ब्रमाण्ड अनन्त छ र समस्त पदार्थको जन्म आँखाले देख्न नसकिने असङ्ख्य परमाणुहरूले बनेको हो भन्ने विचार अवलम्बन गर्दछन् । ती परमाणुहरू रिक्त आकाशमा विचरण गर्दछन् र एक आपसमा अन्तक्र्रियापूर्ण अवस्थामा छन् भन्ने डेमोक्रिटसका विचारलाई उनले स्वीकार गर्दछन् । तर डेमोक्रिटसले भन्दा भिन्न उनले परमाणविक विचलन (Atomic Swerve) को अवधारणा प्रस्तुत गर्दछन् । डेमोक्रिटसको दृष्टिकोण ‘नियतीवाद’ (Determinism) मा आधारित छ । उनले परमाणुहरू निर्विवाद रूपमा निश्चित मार्गमा सिधा गतिमा चल्छन् भनी भनेका छन् । एपिक्यूरसले भने परमाणुहरू सिधा रेखामा मात्र चल्दैनन्, कहिले कहीँ अनियन्त्रित रूपमा विचलित (Swerve) हुन्छन् भन्ने विचार अघि सार्दछन् । दार्शनिक रूपमा यो विश्वका प्राकृतिक घटनाक्रमहरू निश्चित दिशाअनुसार मात्र चल्दैनन् तिनमा स्वतन्त्रता पनि हुन्छ भन्ने दृष्टिकोण हो ।

३. परमाणुवादको जननी: पौरस्त्य जगत् कि पाश्चात्य जगत् ?
पौरस्त्य र पश्चिमी दुवै जगत्््को प्राचीन दर्शनमा परमाणुवाद सम्बन्धी व्याख्या विश्लेषण पाइन्छ । तर पश्चिमको परमाणुवादबारे विश्वमा जति चर्चा सुनिन्छ, त्यति चर्चा पौरस्त्य जगत्््को परमाणुवादबारे सुनिन्न । साथै परमाणुवादी अवधारणा सबैभन्दा पहिले प्रतिपादन गरेको श्रेय पनि पश्चिमी संसारलाई नै दिइएको छ । राहुल साङ्कृत्यायनजस्ता माक्र्सवादी भारतीय विद्वान्््ले समेत कणाद र उनीद्वारा रचित वैशेषिक सूत्रको रचनाकाल सन् १५० भएको भन्दै परमाणुवाद सम्बन्धी व्याख्या सवैभन्दा पहिले युनानमा भएको हो भनेका छन् । उनका अनुसार कणाद डेमोक्रिटसभन्दा धेरै पछिका व्यक्ति हुन् । जुन बेला डेमोक्रिटसले परमाणुवादको सिद्धान्त प्रतिपादन गरेका थिए, त्यतिखेर पौरस्त्य जगत्््मा यस विषयबारे केही थाहा नै थिएन । पौरस्त्य जगत््् पश्चिमको सम्पर्कमा आएपछि मात्र महर्षि कणादजस्ता दार्शनिकहरू पाश्चात्य दार्शनिकहरू डेमोक्रेटिस र एपिक्यूरसका विचारहरूबाट प्रभावित बनेका हुन् (साङ्कृत्यायन, २०१५ ः ४४९) ।

तर राहुलको यो तर्क तथ्यमा आधारित छैन । परमाणुवादको विस्तृत व्याख्या गर्ने वैशेषिक दर्शनका प्रणेता कणाद डेमोक्रेटिसभन्दा अघिका व्यक्ति हुन् । ई.पू. ३०० तिर लेखिएको कोटिल्यको अर्थशास्त्रमा वैशेषिक दर्शनको उल्लेख भएबाट त्यस दर्शनको रचनाकाल बुद्धको निधनपश्चात् भएको बुझिन्छ । कणाद डेमोक्रिटसभन्दा पहिलेका व्यक्ति हुन् । त्यसमाथि अझ यदि सातौँ शताब्दीमा रचित छान्दोग्य उपनिषद््््मा उल्लेखित उद्दालक आरुणीको शुक्ष्म कणसम्बन्धी अवधारणालाई लिने हो भने परमाणु सम्बन्धी अवधारणा पाश्चात्य जगत््मा भन्दा पौरस्त्य जगत्मा २०० वर्ष पहिले नै भएको देखिन्छ । बरुआलाई उद्धृत गर्दै मृणालकान्ति गङ्गेशोपाध्याय भन्दछन्, “उद्दालकले कणहरूको संयोजन र वियोजनको सिद्धान्त प्रतिपादन गरेर कणादको परमाणु सिद्धान्तको पूर्वाभाष गरेका हुन् (किरण, २०७९ ः ६०) ।” त्यसो भएकाले परमाणुवादको जनक पौरस्त्य समाज नै ठहर्छ ।

४. पौरस्त्य र पाश्चात्य जगत्को परमाणुवाद : एक तुलना
समानता
कणाद र डेमोक्रिटसको परमाणुवाद सम्बन्धी व्याख्यामा समानता र असमानता दुवै भेट्टिन्छन् । समानता यो हो कि दुवै दर्शनमा भौतिकवादी दृष्टिकोण रहेको छ । दुवैले ईश्वरीय सत्तालाई अस्वीकार गर्दछन् । दुवैले परमाणुलाई सबैभन्दा सानो अविभाज्य एकाइ मान्दछन् । दुवैले परमाणुलाई अविनाशी पृथ्वीमा प्रलय भए पनि रहिरहने नित्य तŒव मान्दछन् । दुवैले भिन्न आकार र गुण भएका परमाणुको परिकल्पना गरेका छन् । दुवैले सहजातीय परमाणुहरूबीच मात्र संयोग हुने र स्थूल भौतिक तत्वहरू निर्माण हुने अवधारणा व्यक्त गरेका छन् । दुवैले परमाणुहरू आफ्नै स्वभावका कारण प्राकृतिक नियमअनुसार सञ्चालित हुने दृष्टिकोण प्रस्तुत गर्दछन् । दुवै दर्शनले मन अथवा चेतनाको निर्माण परमाणुद्वारा निर्माण हुने दृष्टिकोण प्रस्तुत गर्दछन् ।
भिन्नता
पाश्चात्य र पौरस्त्य समाजको परमाणुवादमा केही भिन्नता पनि छन् । निश्चय नै कणाद र ल्यूकिपस÷डेमोक्रिटसले वैज्ञानिक उपकरणहरूको आविस्कार नभएको प्राचीन समयमा आँखाले देख्न नसकिने तŒवहरूबारे विवेचना प्रस्तुत गरे । यो तिनीहरूको उन्नत चेतनाको प्रतिफल होे । तर तिनीहरूले कसरी परमाणुवादको प्रतिपादन गरे भन्ने सवालमा भिन्नता देखिन्छ । कणादको अध्ययन केवल प्राकृतिक वातावरण र त्यसमा घट्ने सामान्य घटनाहरूमा सीमित थियो । घरभित्र सूर्यको प्रकाश छिरेका बखत त्यसमा देखिने मसिना कणहरू अथवा पानी उम्लँदा देखिने जलवास्पका कणहरूजस्ता सामान्य वस्तुहरू नै उनका अनुभूतिका आधार थिए । अति सामान्य खालका वस्तुहरू र घटनाहरूको अध्ययनबाट उनले पदार्थका अति नै शुक्ष्म तŒवसम्बन्धी सिद्धान्त प्रतिपादन गरे । ल्यूकिपस र डेमोक्रिटसका सवालमा तिनीहरूले यस जगत्मा भौतिक पदार्थहरू टूक्रिने र विभाजित हुने क्रमको अध्ययन गरे । तिनीहरूको तर्क के रह्यो भने एक निश्चित सीमामा पुगेपछि विभाजन असम्भव हुनु पर्दछ । यही आधारमा अनुमान ज्ञानलाई प्रयोग गर्दै तिनीहरूले परमाणुवाद सम्बन्धी अवधारणा जनसमक्ष प्रस्तुत गरे ।
पौरस्त्य समाजको वैशेषिक दर्शनले विभिन्न पदार्थका परमाणुहरूमा एकरूपता देख्दैन । यसले भन्दछ कि भिन्न पदार्थका परमाणुहरू सङ्ख्या, गुण, परिमाण, रूप, भार, आयतन आदि सवालमा भिन्न छन् । पाश्चात्य दार्शनिक डेमोक्रिटसले भने परमाणुहरूलाई भेदरहित मानी सबै पदार्थका परमाणुहरूको गुणमा भिन्नता नहुने विचार व्यक्त गरेका छन् । कणादको व्याख्या परमाणुहरूद्वारा पृथ्वीमा भएका स्थूल पदार्थहरूको निर्माणमा सीमित छ भने डेमोक्रिटसको व्याख्या पृथ्वीलगायत विभिन्न पिण्ड अथवा विभिन्न विश्वका पदार्थहरूको निर्माणमासमेत विस्तारित भएको छ (निगम, २०११ ः ४७) । परमाणुको सञ्चालन सम्बन्धमा पाश्चात्य दर्शनले प्रष्ट भौतिकवादी दृष्टिकोण अँगालेको छ । डेमोक्रिटसले परमाणुको सञ्चालनमा ईश्वरको आवश्यकता छैन भनेका छन् । अनिवार्यताका कारण परमाणुमा गति उत्पन्न हुन्छ भनी उनी भन्दछन् । पौरस्त्य समाजका कणादले पनि ईश्वरलाई परमाणुको गतिको कारण मान्दैनन् तर उनी अदृष्ट कारणले गर्दा नै परमाणुमा योग, विभाजन र स्थानान्तरण हुन्छ भनी अस्पष्ट दृष्टिकोण प्रस्तुत गर्दछन् जुन कमजोरीलाई हतियार बनाएर पछिल्लो अवधिका वैशेषकहरूले दर्शनमा अदृष्ट शक्ति भनेको ईश्वर हो भन्दै दर्शनलाई प्रत्ययवादको खोल ओढाए ।

सन्दर्भ स्रोत
अर्याल, केशवशरण, २०७९, नेपालमा वैशेषिक दर्शन परम्परा, नेपाली दर्शन, नेपाल प्रज्ञा–प्रतिष्ठान
किरण, मोहन वैद्य, २०७९, न्याय–वैशेषिक दर्शन र द्वन्द्वात्मक भौकिवाद, दर्शनावली ९, नेपाल प्रज्ञा–प्रतिष्ठान
चट्टोपाध्याय, देवीप्रसाद, २००७, भारतीय दर्शनमें क्या जीवन्त है और क्या मृत, पीपुल्स पब्लिसिङ हाउस प्रा.लि नई दिल्ली
छान्दोग्योपनिषद्, नेपाली अनुवाद, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, काठमाडौँ
दत्त, रासविहारी, हिनदी अनुवाद ः सुशिला डोभाल, राजकमल पेपरबक्स, नई दिल्ली
दासगुप्त, एस.एन. १९७८, भारतीय दर्शनका इतिहास, भाग १, राजस्थान हिन्दी अकादमी, जयपुर
निगम, डा.शोभा, २०११, भारतीय दर्शन, मोतीलाल बनारसीदास
मिश्र, जगदीशचन्द्र, २०१२, भारतीय दर्शन, चौखम्बा सुरभारती प्रकाशन, वाराणसी
राधाकृष्णन डा., २००४, भारतीय दर्शन भाग १–२, राजपाल एण्ड सन्स, दिल्ली
रेग्मी, रामराज, २०७७, पूर्वीय दर्शनमा भौतिकवाद, जागरण बुक हाउस, वगाबजार, काठमाडौँ
सांकृत्यायन, राहुल, २०१५, दर्शन दिग्दर्शन, किताब महल, पटना
Borodov, V.,2012,  Elements of Materialism in the Nyaya and Vaisesika Philosophy, Indian philosophy inModern Times, www. carvaka 4 india.com
Bose, SK, 2015, The Atomic Hypothesis, Current Science, vol. 108, https://arxiv.org
Damodaran, K. 1967, Indian Thought : A Critical Survey, Newyork Asia Publishing House
Ghosh, 2020, Prasit Ranjan, 2020, The Concept of Motion : The Vaisesik Philosophy and Modern Science, www.jetir.org
Hiriyanna M., 2009, Outlines of Indian Philosophy, Motilal Banarasidadss Publishers, Delhi

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *