प्रदेशका पर्यटकीय क्षेत्रहरूलाई लक्षित गरि हाेटल व्यवसायमा लगानी हुनु आवश्यक : मुख्यमन्त्री आचार्य

दाङ, लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा होटल पर्यटनको अधिक सम्भावना भएकाले पनि निजी क्षेत्रबाट यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउँनुभएको छ । उहाँले सिद्धार्थ होटल संघ नेपालको १९ औं स्थापना दिवस तथा सत्कार दिवसको अवसरमा कार्यक्रमकाे उद्घाटन मन्तब्य राख्नुहुँदै प्रदेश मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरूलाई लक्षित गरेर होटल व्यवसायमा लगानी बढाउनका लागि जोड दिनुभएको हो ।

लुम्बिनी प्रदेशलाई होटल एवं पर्यटन व्यवसायमा लगानी गर्न र हाेटललाई पर्यटन ब्यापारसंग जोडेर हेर्नलाई पनि उहाँले व्यवसायीसंग आह्वान गर्नुभयो । उद्घाटनमा मन्तब्यमा उहाँले भन्नुभयो, ‘हाम्रा पर्यटकीय क्षेत्रमा भ्रमणको उचित वातावरण बनाउन जरुरी छ । पर्यटकलाई धेरै दिन कसरी बसाल्न सकिन्छ र घुमाउन सकिन्छ भन्नेमा सबैले ध्यान दिन जरुरी छ,’अर्घाखाँचीको नरपानी,प्यूठानको स्वर्गद्वारी,रोल्पाको जलजला,जस्ता ठाउँहरूमा राम्रा होटलहरू खोलेर प्याकेजको रूपमा पर्यटकलाई घुमाउन लैजान सकिने हो भने लुम्बिनी प्रदेशको छुट्टै पहिचान बनाउन सकिन्छ त्यसैले पनि यसतर्फ ध्यान दिन जरुरी छ ।’

पर्यटकहरू बास बस्न नपाएर चाँडै फर्किनु पर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले यसतर्फ व्यवसायमा संलग्न सबैले सोच्नुपर्ने अवस्था रहेको कुरा स्पष्ट पार्नुभयो ।‘कतै होटलमा लगानी उठ्न नसक्ने अवस्था छ भने कतै होटल नै नभएर घुम्न आएका पर्यटकहरूले सास्ती भोग्नुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘यस्तो असन्तुलन हटाउन पनि आवश्यक छ ।’ सरकारले पर्यटन क्षेत्रको विकास, लगानी र व्यवसाय प्रवर्द्धनका लागि अनुकूल नीति ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रलाई उत्साहित भएर अघि बढ्न र लगानी गर्न आह्वान गर्नुभयो । ‘हरेक समस्याको समाधान छलफल र सहमतिबाटै हुने हो भन्दै त्यसैले कोही पनि कुनै नाममा उद्देलित हुन आवश्यक छैन,’ उहाँले भन्नुभयो ,‘सरकार व्यवसायीहरूको समस्या समाधान गर्न गम्भीर छ । अहिलेकाे नीती तथा कार्यक्रम र बजेटले धेरै कुराकाे सम्बाेधन गरिसकेकाे छ ।’सरकारले सकारात्मक कामको लागि सहजीकरण र आवश्यक वातावरण निर्माण गर्ने जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गर्दै उहाँले छिट्टै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने समेत जानकारी दिनुभयो ।

संघीय सरकारले अघि सारेको नीति तथा कार्यक्रम र प्रस्तुत गरेको बजेटबाट विमानस्थल सञ्चालनको आधार तयार भएको कुरा उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालनमा आउँछ भन्ने विश्वासमा छौं । प्रदेश सरकारले पनि निरन्तर पहल गरिरहेको छ ।’

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *