पाल्पा, बगनासकाली गाउँपालिका-१, चिलाङ्गदी खेल मैदानमा पाल्पा महाेत्सव सुरु भएको छ । बगनासकाली गाउँपालिकाकाे प्रवर्द्धन रहेको महाेत्सव कुटुम्ब मिडिया नेटवर्कको आयोजनामा सुरु भएको हाे । महाेत्सव पुस ९ गतेदेखि सुरु भएर १८ गतेसम्म सञ्चालन हुनेछ । बगनासकालीकाे चिलाङ्दी खेलमैदानमा सुरु भएको महोत्सव एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो ।
पाल्पा महोत्सव शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि एवं मन्त्री परिषद्का अध्यक्ष एवं पूर्व प्रधान न्यायधीस खिलराज रेग्मीले महाेत्सवकाे शुभारम्भ गर्नुभएको हाे । उहाँले महोत्सव शुभारम्भ गर्दै महोत्सवले स्थानीय लोपन्मुख कलासंस्कृतिकाे जगेर्ना,कृषि उत्पादनकाे प्रवर्द्धन हुनुका साथै कृषि औजारकाे प्रदर्शनी तथा उत्पादित बस्तुकाे प्रचारप्रसार र प्रवर्द्धन गर्न ठूलो सहयोग मिल्ने बताउँनुभयाे ।
कार्यक्रममा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरीप्रसाद पाठक,लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लिमिटेड प्रभासका अध्यक्ष गोपालबहादुर पोखरेलले महाेत्सव शुभारम्भ कार्यक्रममा बाेल्नुहुँदै सञ्चारक्षेत्रकाे कर्ममा लागेका युवाहरुको जोस जागरका साथ फरक प्रकृतिको अभियानमा लागेर युवाका लागि स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण दिनलाई सक्षम बनेको बताउँनुभयाे । पाल्पा महोत्सव शुभारम्भ कला संस्कृति र देश प्रति केन्द्रित गतिविधिमा केन्द्रित रहेको थियो ।
महोत्सवमा भाषण भन्दा स्थानीय स्थानीय कलासंस्कृति झ्याउरे, सोरठी, रत्यौली, बालन, भजन, कौडा, मारुनी, लाखे, पञ्चेबाजा, लोपोन्मुख कुमाल, बोटे लगायतको कलासंस्कृति जर्गेना गर्ने प्रचार प्रसार गर्ने मुख्य अभियान नै रहेको महोत्सवका संयोजक नारायण न्यौपानेले महोत्सवमा एक सय पचास स्टल रहेकाे जानकारी गराउँदै भन्नुभयो। एक लाख पचास हजार दर्शकले महाेत्सवकाे अवलोकन गर्ने एवं तीन करोड बढीकाे कारोवार हुने अपेक्षा गरिएको महोत्सव सह-संयोजक यज्ञमुर्ति तिमिल्सेनाले बताउँनुभयाे । महोत्सवमा स्थानीय घरेलु तथा कुटिर उद्योगबाट उत्पादित दुना टपरी,पाल्पा कारागारमा उत्पादन भएका बासका सरसमानहरु, स्थानीय कृषि औजार,बगनासकाली गाउँपालिका नौवटै वडाका फरक फरक प्रकृतिको कृषि उत्पादन प्रदर्शनीले महोत्सवलाई आर्कषण बनाएको सह-संयाेजक तिमिल्सिनाले बताउँनुभयाे ।
महाेत्सव शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीको अध्यक्षतामा भएको महोत्सव मुल आयोजक समितिका सह–संयोजक यज्ञमुर्ति तिमिल्सेनाको स्वागत एवं पाल्पा महोत्सव मुल समितिका संयोजक नारायाण न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।