पाल्पा, घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजना र बगनासकाली गाउँपालिकाकाे समन्वयमा गाउँपालिकाभित्रका किसानलाई हाते ट्रयाक्टर र पावर ट्रिलर मर्मत सम्बन्धी पन्ध्र दिने तालिम बगनासकाली गाउँपालिकामा सुरु भएको छ ।
स्थानीय तहले वर्षेनी हाते ट्रयाक्टर एवं पावर ट्रिलर वितरण गर्दै आएपनि पछि बिग्रिएर प्रयोग बिहीन बन्ने समस्या बढ्दै गएकाले किसानलाई मर्मत तालिम दिइएको उद्घाटन समहारोहका प्रमुख अतिथि एवं बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउँनुभयो । गाउँमै मर्मत गर्न सक्ने भएपछि बजार लैजानुपर्ने बाध्यता हटेर जाने समेत उपाध्यक्ष पाठकले भन्नुभयो । मर्मत सम्भारमा धेरै रकम खर्च हुने भएकाले त्यसलाई जोगाउन पनि किसानलाई सिकाइने सीप प्रभावकारी हुने घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत श्याम कुमार पौडेलले बताउँनुभयो ।
कार्यक्रममा तीन नम्बर वडाअध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापा, एक नम्बर वडाका अध्यक्ष शेरबहादुर चिदी, छ नम्बर वडाका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी,मेडपा फोकल पर्सन प्रेमबहादुर बगाले, कृषि प्राविधिक किशोर कुमार खत्री, प्रशिक्षक मोतीराज खनाल लगायतले कृषकलाई मेसिन मर्मत गर्न सिकाएर बिग्रेका हाते ट्रयाक्टर सञ्चालन गर्न सकेमा धेरै कृषकहरूलाई सहज हुने बताउँनुभयो । बगनासकाली गाउँपालिकाभित्रका सवै वडा, रिब्दीकोट गाउँपालिका र तानसेन नगरपालिकाबाट गरी तालिममा एक्काइस जना कृषकहरू सहभागी रहेको बगनासकाली गाउँपालिकाका मेडपा फोकल पर्सन प्रेमबहादुर बगालेले जानकारी दिनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत श्याम कुमार पौडेलको अध्यक्षता एवं उद्यम विकास सहजकर्ता मनोज घिमिरेको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको हो । उद्घाटन कार्यक्रममा गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख, तालीममा सहभागी कृषक लगायतको सहभागिता रहेको बगनासकाली गाउँपालिकाका एम.आई.एस.अपरेटर भोजराज भट्टराईले जानकारी दिनुभयो ।