बगनासकाली गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

नवराज ज्ञवाली पाल्पा, बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । बगनासकाली गाउँपालिकाको आयोजना,बगनासकाली पत्रकार समूहको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रम एवं याेजनाकाे कार्य सम्पादनमा भएको प्रगति तथा सम्पन्न याेजनाहरूकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष २०८१/०८२ को २३७ वटा योजना गाउँपरिषदबाट पारित रहेको बताउदै पारित मध्येका १६६ योजना सम्झौता भई कार्यान्वयनमा सकेको बताउँदै ७१ वटा योजना मध्ये लक्षित वर्ग मध्यकाे ३०वटा योजना र भौतिक पुर्वाधार तर्फ ४० वटा योजना सम्झौता हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले यस आव मा भौतिक पुर्वाधार, योजना तर्फको याेजना कार्यान्वयनमा कार्य प्रगति लक्ष्य प्राप्तिका बारेमा जानकारी दिनुहुँदै प्रथम चौमासिक अन्तर्गत गाउँपालिकाबाट चालु खर्च तर्फ कुल विनियोजित मध्ये रकमको २२.७३ प्रतिशत र पूँजीगत तर्फमा कुल विनियोजित रकम मध्येको १८.२ प्रतिशत रकम खर्च भएको बताउँनुभयो ।

बगनासकाली गाउँपालिकाकाे प्रथम चाैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही नागरिकहरुले उठाउनुभएको प्रश्नहरू तथा जिज्ञासाहरूलाई संम्वाेधन एवं जवाफ दिनुहुँदै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जनतालाई सहज रुपमा सेवा प्रवाहका विषयमा गाउँपालिका संवेदनशील रहेको बताउँदै अध्यक्ष चिदीले गाउँपालिकाले सिमित स्रोत साधनका बाबजुद पनि विकास निर्माणका काममा सबैको साथ एवं सहयोगमा अघि बढ्ने र काम गर्ने बताउँनुभयाे । सार्वजनिक सुनुवाइ कार्यक्रममा विषयगत शाखामा कृषि,शिक्षा, स्वास्थ्य लगायतका विभिन्न याेजनाहरूकाे कार्य सम्पादनमा उठेका जिज्ञासाहरू माथि सम्वन्धित शाखाका प्रमुखहरूले जिज्ञासालाई सम्वाेधन गर्नुहुँदै प्राप्त महत्वपूर्ण सुझावलाई क्रमश सुधार गरि अघि बढ्दै जाने बताउँनुभएकाे थियोे ।उहाँहरूले गाउँपालिकाका नागरिकहरूलाई सहज रूपमा सेवा दिने र सुविधा प्रदान गर्ने कुरामा बगनासकाली गाउँपालिका सधै लागि पर्ने बताउँदै सार्वजनिक सुनुवाईमा प्राप्त सुझावहरुलाई आत्मसात् गर्दै आगामी दिनमा अघि बढ्‌ने प्रण गर्दै उहाँहरूले प्रतिबद्धता जनाउँनुभएकाे थियोे ।

गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले जनताका गुनासोहरूलाई यथाशीघ्र संवोधन गर्न तर्फ लाग्ने समेत बताउँनुभयो । कार्यक्रममा उपाध्यक्ष पाठकले आफूहरु साझा जनप्रतिनिधिको रुपमा रहि गाउँवासी जनताको असल सेवकको रुपमा काम गर्न लागिपरेको बताउँनुहुँदै उहाँले गाउँपालिकाका विकास निर्माणलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने बताउँनुभयो । कार्यक्रममा सेवाग्राहीहरुले बगनासकाली गाउँपालिका र वडा कार्यालयको सेवा प्रवाह, नागरिकहरूका अपेक्षा, ज्येष्ठ नागरिक सम्मानका क्रममा वितरण गरिएको हर्लिक्सकाे समयावधि सकिएको भन्दै गुनासो गर्नुका साथै विभिन्न विषय लगायतका विषयहरूमा जिज्ञासा राख्नुभएको थियाे । गाउँपालिकावासी सेवाग्राही नागरिकहरुले गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन अल्पकालिन तथा दिर्घकालीन योजना बनाएर काम गर्नुपर्ने बताउँदै गाउँपालिकामा बाँदरकाे समस्या बढ्‌दै गएको भन्दै समस्या समाधान गर्न केन्द्रीत हुनुपर्ने बताउँनुभएकाे थियोे । कृषि तथा पशुपालनका कार्यक्रमहरुमा युवाहरुको आकर्षण बढ्‌न नसकेको र नदीजन्य पदार्थहरुको निकासी प्रक्रिया गर्नुपर्ने काम र चुहावट राेक्न विशेष ध्यान दिनुपर्ने,शिक्षा,स्वास्थ्य जस्ता अति महत्त्वपूर्ण विषयमा जनताले सोँचे जस्तो कार्य प्रगति नभएको लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियाे ।

सेवाग्राहीहरुले उठाउँनुभएको समग्र विषयहरुमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत छिनाल सहित अध्यक्ष,उपाध्यक्ष एवं बिषयगत शाखा प्रमुखहरुले जवाफ दिनुभएको थियो।सार्वजनिक सुनुवाइ कार्यक्रम बगनासकाली पत्रकार समूहका सचिव दयाराज न्यौपानेले सार्वजनिक सुनुवाई क्रममा संकलन गरिएको नागरिक अभिमत र सेवाग्राहीहरुको अभिमत-पत्रको सारलाई सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत गरिएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिका अध्यक्ष सरस्वती चिदीकाे अध्यक्षतामा बगनासकाली पत्रकार समूहका अध्यक्ष भोजराज तिमिल्सिना र उपाध्यक्ष नेत्र गैरेकाे सहजीकरणमा सम्पन्न भएको थियोे ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *