पाल्पा, रम्भा गाउँपालिकाले प्रशासनिक केन्द्रको पहुँचमार्गलाई कालोपत्रे गरेको छ । गाउँपालिकाले पिपलडाँडाको अंगाहाखोलादेखि गाउँपालिका प्रशासनिक कार्यालय खोक्खोलाकाे जीर्ण एवं जोखिमपूर्ण अवस्थामा रहेको बाटोलाई कालोपत्रे गरेको हाे । रम्भा गाउँपालिकाकाे आफ्नै आन्तरिक बजेटबाट एक हजार पचास मिटर बाटोलाई पिच गर्ने भएको छ । उक्त बाटो कालोपत्रे गर्नका लागि गाउँपालिकाले आफ्नैआन्तरिक स्रोतमा एक करोड एक्काइस लाख छब्बीस हजार एक सय उन्नसत्तरी रुपैयाँ त्रिसट्ठी पैसामा ठेक्का सम्झौता गरी गाउँपालिकाकाे प्रशासनिक भवन केन्द्रकाे पहुँचमार्ग बाटोलाई कालोपत्रे गर्ने भएको हो ।
सानो भुगोलमा रहेको रम्भा गाउँपालिकाको आन्तरकि आम्दानी समेत अन्य पालिकाको तुलनामा निकै कम रहेको छ । गाउँपालिकाले तर पनि आफ्नै स्रोतबाट यसरी बृहत योजना सञ्चालन गर्नेमा जिल्लाकै पहिलो र नमुना पालिकाको रुपमा रहेको छ ।गाउँपालिकाकाे प्रशासनिक पहुँचमार्गकाे कालाेपत्रे गर्नका लागि खनाल इन्फ्रा प्रालि रेसुङ्गा गुल्मीले ठेक्का लिई बाटोमा कार्य गर्ने भएको हो । यो बाटोको २०८१ कार्तिक ६ गते सम्झौता सम्पन्न भएर २०८२ असार २० गते सम्पन्न गर्ने गरि कालाेपत्रेकाे काम भईरहेको कम्पनीका साइड इन्चार्ज बिशाल सिंहले बताउँनुभयो । सिंहले बाटो निर्माण कार्य लगभग सम्पन्न भइसकेको समेत कुराकानीमा जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले गाउँपालिकाले आफ्नै लगानीमा उक्त बाटोको पिच कार्य गरेको बताउँनुभयो । उहाँले अंगाहा खोलाबाट गाउँपालिका कार्यालय आउने बाटो कतै उकालो, कतै साँघुरो त कतै निकै जोखिमपूर्ण रहेको अवस्थामा गाउँपालिकाले नै आफ्नै लगानीबाट बाटो पिच गर्ने निर्णय गरि कार्य गरेको बताउँनुभयो । यसरी बाटो पिच भएपछि स्थानीय समेत खुशी भएकाे अध्यक्ष भण्डारीले भन्नुभयो ।गाउँपालिकाकाे आफ्नै आन्तरिक बजेटबाट ब्यवस्थापन गर्ने गरी कार्य अगाडि बढाइएको र यो रम्भा गाउँपालिकाको ठोस योजनाको रुपमा योजना रहेको समेत उहाँले बताउँनुभयो । यसकाे निर्माण सम्पन्न भएसंगै रम्भा गाउँपालिकाका वडाका सबै नागरिकहरु प्रत्यक्ष लाभान्वित हुने गरी योजना अगाडि बढाइएको अध्यक्ष भण्डारीले बताउँनुभयो । उहाँले यसलाई गाउँपालिकाकाे एउटा विषेश किसिमको विकास योजनाको रुपमा रहेको बताउँदै बिगतका बर्षमा ग्रेड मिलाउने लगायतका काम भएको र यस वर्ष पिच कार्य गरिएको उहाँले बताउँनुभयो ।
गाउँपालिकाको केन्द्र खोक्खोलामै तय भएपछि गाउँपालिका केन्द्रसम्मको पहुँचलाई ब्यवस्थित गरिएको अध्यक्ष भण्डारीले बताउँनुभयो ।।उहाँले रम्भा गाउँपालिकाको प्रशासकीय भवन केन्द्रको टुंगो लागेपश्चात भवन निर्माणको कामको प्रक्रिया समेत अगाडि बढेको बताउँनुभयो । रम्भा गाउँपालिका आफैमा कृषि तथा पशुपालनका हिसावले अगुवा गाउँपालिका भएकोले पनि यस गाउँपालिका अन्तरगत वडा नं.१ हुँगीमा औद्योगिक ग्राम निर्माणको काम अगाडि बढेको बताउँनुभयो । यो औद्योगिक ग्रामको गुरुयोजना समेत बनाइएको र यसबाट रम्भाको कृषि तथा औद्योगिक क्षेत्रमा राम्रो प्रभाव पर्ने समेत अध्यक्ष भण्डारीले बताउँनुभयो । औद्योगिक ग्रामभित्र कृषि उत्पादन बजारीकरण, अन्य उद्योगहरु समेत रहने र यसबाट यस क्षेत्रको आर्थिक एवं विकास र समृद्धिमा समेत ठूलो टेवा पुग्ने अध्यक्ष भण्डारीले कुराकानीमा भन्नुभयो ।