ब्लड बैंक स्थापनालाई सुरु गरिएको अभियान उत्साहजनक

नवराज ज्ञवाली पाल्पा, नेपाल रेडक्रस साेसाइटी पाल्पा शाखाले आयोजना गरेको ब्लड बैंक स्थापना अभियान उत्साहजनक सहभागीता सहित अघि बढेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पाले रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) स्थापनार्थ सञ्चालन गरेको महाअभियान ‘हाम्रो ब्लड बैंक, हामी बनाउछौं’ भन्ने उद्धेश्यका थालिएको महाअभियानमा उत्साहजनक सहभागीता सहितको सहयोग संकलन अभियान अगाडि बढेको हो ।रेडक्रसकाे याे महाअभियानलाई सफल बनाउनलाई स्वदेश तथा विदेशमा रहनुभएका नेपाली सहित संघसंस्थाकाे उत्साहजनक साथ एवं सहभागीता रहेको नेपाल रेडक्रस साेसाइटी पाल्पा शाखाले जनाएकाे छ ।

पाल्पामा पछिल्लो समयमा अत्यधिक रगतकाे अभावमा छट्पटाई रहेका विरामीहरूका लागि भएको समस्या एवं दुर्घटनाका घाइतेहरुको अवस्थालाई ध्यानमा राखी सहज रगत उपलब्ध गराउनका लागि थालिएको महाअभियानले ब्लड बैंक स्थापना पछि सहज हुने विश्वास लिएको जानकारी नेपाल रेडक्रस साेसाइटी पाल्पाले गराएको छ। यो अभियानकाे क्रममा सहयोगी मन र दाताहरूको सहयोग रकम जुट्ने क्रममा दिनहुँ अत्यधिक सहभागीता बढ्दाे छ। नेपाल रेडक्रस साेसाइटी पाल्पा शाखाले वि.स.२०८० चैत देखि साझा अभियानका रुपमा अगाडि बढाएको ब्लड बैंक स्थापनाकाे अभियानमा पाल्पाबाट जिल्ला भन्दा बाहिर रहेका पाल्पाली नागरिकले समेत आर्थिक सहयोग सहित भाैतिक रूपमा रकम संकलनमा साथ दिइरहेका छन् । नेपाल रेडक्रसकाे यस महाअभियानमा ब्लड बैंकका लागि हाल सम्म २ करोड ४७ लाख ७५ हजार रूपैयाँ रकम सहयोग स्वरूप जुटेको हाे। नेपाल सरकार,विभिन्न क्रियाशील संघसंस्था एवं व्यक्तिहरुबाट जुटेको हो ।

व्लड बैंकको स्थापना तथा स्थायी भवन निर्माणको लागि शहरी विकास मन्त्रालयबाट १ करोड ५३ लाख र स्वास्थ्य मन्त्रालयबाट भवन तथा उपकरण खरिद गर्नको लागि ५० लाख रूपैयाँ बजेट विनियोजन भएको छ । यस्तै ब्लड बैंकको लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुबाट समेत ४४ लाख ७५ हजार रकम सहयोग स्वरूप जुटेको जानकारी नेपाल रेडक्रस साेसाइटी पाल्पाले कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै हालसम्म भएको गतिविधि सहित ब्लड बैंक स्थापनाका लागि प्राप्त सहयोग रकम र महाअभियानबाट प्राप्त उपलब्धीका बारेमा नेपाल रेडक्रस साेसाइटी पाल्पा जिल्ला शाखा सभापति बाबुराम कार्कीले जानकारी गराउँनुभएकाे छ। उहाँले यसस्कर सदस्यबाट ६ र विशिष्ट सदस्यहरुबाट २२ लाख, स्मृतिकोषबाट ७ लाख,विभिन्न संघसंस्थाबाट ६ लाख ८० हजार रूपैयाँ सहित देशबाहिर काम गर्न गएका पाल्पाली नागरिकहरू साथै विभिन्न व्यक्तिहरुबाट ३ लाख ९५ हजार सहयोग रकम जुटेको उहाँले पत्रकार सम्मेलनमा बताउँनुभयाे । ब्लड बैंक सञ्चालनको लागि ५ करोड ७५ लाख बजेट आवश्यक पर्ने भएकाले अभियानमा जोडिन समेत सभापति कार्कीले सबैमा अनुरोध गर्नुभएको छ ।सरकारी तथा गैरसरकारी तवरबाट हालसम्म २ करोड ४७ लाख ७५ हजारको स्रोत सुनिश्चित भएकोमा अझै आधा भन्दा धेरै रकम संकलन गर्नुपर्ने भएकोले सबै पक्षबाट सहयोग हुन जरुरी रहेको बताउँदै उहाँले ब्लड बैक सञ्चालनको लागि जति सक्दो सहयोग गरिदिन समेत पत्रकार सम्मेलनमा भन्नुभयो । संस्थाले तीन करोड अक्षय कोषमा राखेर त्यसबाट प्राप्त भएको ब्याजले कर्मचारी तथा प्रशासनिक खर्च चलाउने र बाँकी पौने ३ करोड भवन निर्माण सहित सामग्री खरिदमा खर्चिने योजना बनाएको जानकारी दिनुभयो । उहाँले ब्लड बैंकको भवन निर्माणका लागि पाल्पा लायन्स क्लव अफ पाल्पाले भुसालडाँडा क्षेत्रमा निःशुल्क जग्गा प्रदान गरेको छ भन्नुभयो ।

पाल्पाका ८ गाउँपालिकाले ५ लाखका दरले ४० लाख, २ वटा नगरपालिकाले १० लाखका दरले २० लाख अनुदान सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको जानकारी निवर्तमान सभापति बुद्धिप्रसाद शर्माले बताउँनुभयाे । उहाँले ब्लड बैंकलाई सहयोग गर्नु भनेको हरेक व्यक्तिको जीवन बचाउन गरिएको महापुण्य कर्म हुने भएकाले सबैलाई अनुरोध गर्दै यस महाअभियानमा जाेडिएर सहयोगमा गर्नलाई आग्रह गर्नुभयो । त्यस्तै अहिलेसम्म रेडक्रसकाे याे अभियानमा स्वदेश तथा विदेशमा रहेका पाल्पाली नागरिकहरू तथा संघसंस्थाहरुले उल्लेखीय रुपमा साथ दिएको शाखाका उपसभापति भीमसेन कार्कीले बताउँनुभयाे । उहाँका अनुसार पाल्पादेखि बाहिर रहेर सहयोग गर्ने संघसंस्थाहरूमा पाल्पाली समाज पोखरा कास्की, पाल्पाली समाज काठमाडौं, लघुवा समाज काठमाडौं, विदेशमा रहेका पाल्पाली सेवा समाज कतार,पाल्पाली संगम अमेरीका र नमस्ते पाल्पा परिवार दक्षिण कोरियाहरुले विदेशबाट आर्थिक सहयोग उपलब्ध गराएका छन् उहाँले भन्नुभयो ।

आफुहरुले छिट्टै तानसेनमा ब्लड बैंककाे सञ्चालनको तयारीमा जुटेको कार्यालयका मन्त्री केशवराज नेपालले बताउँनुभयाे । उहाँले अहिले ब्लड बैंक सञ्चालनकाे लागि आफ्नै कार्यालयमा ल्याव कक्ष निर्माणकाे काम भइरहेको र आवश्यक उपकरण खरिद गर्नको लागि प्रक्रिया समेत अघि बढाइको बताउँनुभयाे । पाल्पामा हाल वार्षिक चार हजार युनिट रगतको आवश्यकता पर्दछ । त्यसको परिपूर्तिको लागि नै वि.सं.२०८० चैतदेखी नै याे निरन्तर सहयोग जुटाउनका लागि महाअभियान सञ्चालन गर्दै आएको जानकारी नेपाल रेडक्रस साेसाइटी पाल्पाका कार्यालय अधिकृत विनोद भारतीले पत्रकार सम्मेलनमा गराउँनुभयाे । उहाँले रक्तसञ्चार केन्द्र स्थापना भएपछि पाल्पाका दुई ठूला अस्पतालहरुमा आवश्यक पर्ने रगत ब्लड बैंकबाटै उपलब्ध हुनेछ भन्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष रेखीराम राना, उपाध्यक्ष भरत शर्मा,पूर्व अध्यक्ष गोविन्द भट्टराई, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारी पाल्पा अध्यक्ष कृष्ण कार्की लगायतका पत्रकारहरुले रेडक्रसले सञ्चालन गरेको महाअभियान उत्साहजनक रहेको भन्दै यसलाई निरन्तरता दिन आग्रह समेत गर्नुभएको थियोे । उहाँहरुले अहिलेको नेतृत्वले महाअभियानमा सक्रियता देखाए पनि अब आउने नेतृत्वले कतै बीचमै अलपत्र पार्ने हो कि भन्ने चिन्ता व्यक्त गर्दै उक्त कुरामा सर्तक रहन सुझाउँनुभएकाे थियोे ।

पत्रकारहरुले अहिलेकै नेतृत्वको कार्यकाल लम्ब्याएरै भए पनि ब्लड बैंक सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिदै आगामी तीन महिनाभित्र ब्लड बैक सञ्चालन गर्ने गरी तयारीका साथ काम भई रहेकाले ढुक्क हुनलाई वर्तमान नेतृत्वले पत्रकार सम्मेलनमा आश्वस्त पार्नुहुदै याे काम छिट्टै सम्पन्न हुने बताउँनुभएकाे छ ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *