मनिकर कार्कीको ‘अर्थदृष्टि’ पुस्तक विमोचित

काठमाडौं, अर्थशास्त्री विश्लेषक एवं लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि अल्पविकासको अर्थ राजनीति’ विमाेचन भएको छ । अर्थशास्त्री विश्लेषक एवं लेखक कार्कीको पुस्तक “अर्थदृष्टि” ले नेपालको आर्थिक विकासको स्वरुप,समाज र अर्थतन्त्रको चरित्र तथा त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको छ। प्रकाशित यो पुस्तकले नेपालको आर्थिक इतिहास, समाज, राजनीति एवं समकालीन अर्थतन्त्र विकासको अवस्था बुझ्न पाठकहरूलाई नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई,नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेल, पूर्वमन्त्री तथा नेकपा(एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डे, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री, पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ र अनुसन्धान कर्ता एवं अर्थशास्त्री डा.कल्पना खनालले संयुक्त रूपमा प्रकाशित पुस्तकको संयुक्त रूपमा विमोचन गर्नुभएको हाे । कार्कीको यो पुस्तकले नेपालको आर्थिक विकासमा बाधक बनेका संरचनात्मक समस्याहरू,न्यून उत्पादकत्व, तथा नीतिगत कमजोरीहरूलाई गहिरो रूपमा विश्लेषणात्मक ढंगले केलाउनु भएको छ ।

विमाेचनमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले विमोचन समारोहमा बोल्नुहुँदै भन्नुभयाे, ‘यो किताब नेपालको आर्थिक विकासको मार्गचित्र तय गर्न चाहने नीति–निर्माता तथा अनुसन्धानकर्ता र विद्यार्थीहरूका लागि अमूल्य पाठ्य सामग्री रहेकाले यस पुस्तकले समस्याको जरोसम्म पुगेर समाधानका लागि वैकल्पिक बाटाहरू प्रस्तुत गरेको छ ।’अनुसन्धान कर्ता डा.कल्पना खनालले किताबको विश्वव्यापी सान्दर्भिकताबारे प्रकाश पार्दै भनिन्,‘नेपालको आर्थिक अवस्थालाई विश्व सन्दर्भको आर्थिक–राजनीतिक परिवेशसँग जोडेर विश्लेषण गरिएको यो पुस्तकलाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रासङ्गिक बनाएको छ ।’ पूर्वमन्त्री सुरेन्द्र पाण्डेले किताबमा विकासका संरचनात्मक समस्याहरूलाई विस्तृत र तथ्यपरक ढंगले प्रस्तुत गरिएको बताउँनुभयाे । उहाँले जोड दिँदै भन्नुभयाे,‘नेपालको विकास प्रक्रियामा देखिएका अवरोधहरूबारे हरेक नागरिकहरूले बुझ्न जरुरी छ, र यो किताब त्यसका लागि एक प्रभावकारी माध्यम बन्नेछ ।’

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले कार्कीकाे पुस्तकले ऐतिहासिक,समसामयिक विश्लेषण गरेको भन्दै प्रशंसा गर्नुभयाे । उहाँले भन्नुभयाे,‘राणाकालदेखि नेपाली अर्थतन्त्रमा देखिएका कमजोरीहरूलाई गहिरो अध्ययनका साथ प्रकाशित पुस्तकले स्पष्ट दृष्टिकोण प्रस्तुत गर्न सफल रहेको छ । कार्कीले वैकल्पिक अर्थतन्त्रको अवधारणालाई समेत समेटेर उहाँले आर्थिक लेखनमा महत्वपूर्ण योगदान दिनुभएकाे छ ।’त्यसैगरी,पूर्वमन्त्री रामकुमारी झाँक्रीले कार्कीले लेख्नुभएको याे पुस्तकले नेपालको वर्तमान अर्थराजनीतिको मिहिन विश्लेषण गरेको बताउँदै अर्थतन्त्र र विकासका विषयलाई गतिशील र अद्यावधिक राख्नुपर्नेमा जोड दिनुभयाे । उहाँले भन्नुभयाे, ‘वर्तमान परिस्थितिमा हामीले कसरी उत्कृष्ट नीति तथा रणनीति तय गर्न सक्छौ भन्ने कुरा बुझ्न यो किताब अत्यन्त उपयोगी छ ।’

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले पुस्तकले अर्थशास्त्रका निराश कुराहरुलाई साहित्यिक र काब्यात्मक रुपमा प्रस्तुत गरेको उल्लेख गर्नुभयाे । ‘यो पुस्तकले सिंगो नेपालको आर्थिक इतिहास एवं अर्थतन्त्र र समाजको एतिहासिक चरित्र कै सुक्ष्म विश्लेषण गरेको छ’, उहाँले भन्नुभयाे ।श्रेष्ठले पुस्तकले वर्तमानमा मुलुकको अल्प विकासका कारणहरु पहिल्याउन सफल भएको तर त्यसबाट बाहिर निस्कन वा नयाँ अर्थराजनीतिक गन्तव्यको अन्तरवस्तु र संघीयताको आर्थिक स्वरुपबारे प्रकाश पार्नुपर्ने आवश्यकता समेत औंल्याउँनुभएकाे छ । इन्डिगो इन्क प्रकाशन गृहद्वारा प्रकाशित यस पुस्तकको मूल्य ६९९ रुपैयाँ तोकिएको छ ।

यो मनिकर कार्कीको दोस्रो पुस्तक हो । यस अघि उनको ‘वैकल्पिक अर्थतन्त्र’ नामक किताब प्रकाशित भइसकेको छ, जसले नेपालको आर्थिक नीतिका वैकल्पिक दृष्टिकोणहरूबारे चर्चा गरेको थियो । ‘अर्थदृष्टि’ ले भने नेपाली अर्थतन्त्रको ऐतिहासिक चरित्र उत्खनन् गर्दै मुलुकको अल्पविकासको जटिलताहरूलाई राजनीतिकर सामाजिक सन्दर्भसँग जोडेर अझ व्यापक विश्लेषण प्रस्तुत गरिएको छ ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *