माथागढीकाे एकीकृत घुम्ती शिविर सञ्चालन : घर आँगनकाे सेवाले नागरिकहरूमा खुशी

पाल्पा,माथागढी गाउँपालिकाले एकीकृत घुम्ती सेवा सुरु गरेको छ । गाउँपालिकाले पालिकाको केन्द्रबाट प्रदान गर्दै आएको सबै सेवाहरूलाई वडाका बस्ती टाेलमा पुगेर प्रदान गरिने भएको हाे । शुक्रबारबाट सुरु भएको एकीकृत घुम्ती शिविर सेवा वडा नं. १ को चिदीपानीमा सम्पन्न भइसकेको छ । अन्य वडाहरूमा क्रमस सेवा प्रदान गरिनेछ ।

माथागढीकाे सराइमा शनिबार भएको एकीकृत घुम्ती शिविरकाे सेवा उद्घाटन गर्नुहुँदै लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नागरिकको सेवा सुबिधालाई ध्यान राखेर गाउँपालिकाले विभिन्न सेवा प्रदान गर्नु आफैँमा एउटा उदाहरणीय काम भएको बताउँनुभयो । उहाँले संघीयताको मूल मर्म भनेको दुर्गम ठाउँका बस्तीमा रहेको नागरिकले घरमै सेवा प्राप्त गर्नु रहेको प्रसङ्गलाई उल्लेख गर्नुहुँदै स्वास्थ्य मन्त्री सारुले गाउँपालिकाले याे सेवालाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिनुभयो । घुम्ती शिविर दुर्गम, पिछडिएका, विपन्न नागरिकलाई सहज र सरल रुपमा सेवा लिन अत्यन्त उपयोगी हुने विश्वास आफूले गरेको बताउँनुभयो ।

माथागढी गाउँपालिकाकाे एकीकृत घुम्ती शिविर कार्यक्रममा गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिन नसकेका नागरिकहरूलाई मध्यनजर गर्दै घुम्ती शिविर सञ्चालन गरिएको बताउँनुभयो । कार्यक्रम उद्घाटनमा अध्यक्ष चिदीले शिविरले गाउँपालिकाभित्रका आठ वटै वडाका नागरिकहरूलाई विभिन्न सेवा प्रदान गर्ने जानकारी दिनुभयो । कार्यक्रमकै अवसरमा गाउँपालिका अध्यक्ष चिदीले विपन्न तथा जेष्ठ नागरिकलाई न्यानाे कपडा समेत वितरण गर्नुभयाे ।

एकीकृत घुम्ती शिविरकाे उद्घाटन कार्यक्रममा माथागढी वडा नं. ३ का वडा अध्यक्ष तेज घर्तीमगरले नागरिकहरूको चाहना तथा माग अनुसार एकीकृत घुम्ती शिविरकाे कार्यक्रमलाई सञ्चालन गरिएको बताउँनुभयो । उहाँले घुम्ती शिविरले गाउँपालिकाको केन्द्र झडेवासम्म जान नसकेका नागरिकलाई सहज बनाएको समेत उहाँले बताउँनुभयो ।

शिविरमा ल्याब सहितको स्वास्थ्य परीक्षण र निशुल्क औषधि वितरण, पाठेघरको मुखको क्यान्सर जाँच, विभिन्न रोगबाट पीडित नागरिकलाई स्वास्थ्य जाँचपछि आवश्यक परामर्श र निशुल्क औषधि वितरण, दन्त परीक्षण गरिएको थियो । यस्तै कृषि तथा पशुसेवा शाखाबाट माटोको परीक्षण, पशुपंक्षीलाई निशुल्क औषधि वितरण, जेष्ठ नागरिक परिचयपत्र वितरण,गरिव परिचय-पत्र वितरण,नक्सा पास विवरण सङ्कलन तथा प्रमाणीकरण सम्बन्धि काम गरिएको माथागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । माथागढीको वडा नं.१ मा पाँच सय र वडा नं. ३ मा भएको घुम्ती शिविरमा झण्डै छ सय नागरिकहरूले सञ्चालित शिविरबाट विभिन्न सेवा लिएको उहाँले जानकारी दिनुभयो ।

एकीकृत घुम्ती शिविर मार्फत गाउँपालिकाले वडामा दिएको सेवा लिएपछि नागरिक पनि खुसी भएका हुन् । गाउँपालिकाको कार्यालयमा पुगेर विभिन्न सेवा लिन नसकेका नागरिकलाई शिविरले सहज बनाएको वडा नं. ३ का स्थानीय बासिन्दा धनबहादुर रानाले बताउँनुभयो । घुम्ती शिविर मार्फत आफूले जेष्ठ नागरिक परिचय-पत्र पाएको,पशुपंक्षीमा लागेको रोग निदानका लागि आवश्यक परामर्श र औषधि नि:शुल्क पाएको समेत उहाँले बताउँनुभयो । एकीकृत घुम्ती शिविर कार्यक्रम गाउँपालिका अध्यक्ष यमबहादुर चिदीकाे अध्यक्षतामा भएको कार्यक्रम गाउँपालिकाका अधिकृत नित्यानन्द खनालको सञ्चालनमा सम्पन्न भएको थियोे ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *