प्रदेश संवाददाता बुटवल, लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले धानखाेला, देउराली-हर्रे-चाक्ला सडक कालोपत्रे गर्न शुभारम्भ गर्नुहुदै प्रदेश सरकारले प्रदेशका गाैरव आयोजनाहरू लाई याेजनाबद्ध विकासका लागि प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाएकाे बताउँनुभएको छ । उहाँले धानखोला देउराली-हर्रे-चाक्ला मोटरबाटो कालोपत्रे गर्न सडककाे शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मुख्यमन्त्री आचार्यले उक्त धारणा व्यक्त गर्नुभएको हाे।
प्रदेश सरकारले विकास निर्माणका कामलाई याेजनाबद्ध रूपमा अघि बढाउन प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पार्नुहुँदै प्रदेशका मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले सडकका गुरु योजना निर्माण गरिएको र सोही प्राथमिकताको आधारमा सडक क्षेत्रमा लगानी गरिने समेत जानकारी गराउँनुभयाे। शुभारम्भ कार्यक्रममा उहाँले ‘परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन, साना र टुक्रे योजनालाई निरुत्साहित गर्न थालेका छौँ´भन्नुभयो । साना याेजना सडकमा स्थानीय सरकारले लगानी गर्ने, मझाैला सडकमा प्रदेश सरकारले लगानी गरेर सम्पन्न गर्ने नीति लिएको उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशमा करिब तीन हजार सडक रहेको बताउँदै अहिले तीमध्ये सातसय सडकलाई प्रदेश सरकारले हेर्नेगरी योजना काम अघि बढाइएको समेत जानकारी गराउँनुभयाे।
अहिले प्रदेशले धानखोला देउराली-हर्रे-चाक्ला मोटरबाटो सडकलाई बृहत् एवं गाैरव सडककाे रूपमा प्राथमिकतामा राखिएको जनाउँदै याे सडकका लागि संघीय सरकारसँग समेत आवश्यक बजेट पहल भइरहेको जानकारी दिनुभयो । याे सडकले लुम्बिनी प्रदेश राजधानीसँग जोड्ने सहज मार्गकाे रूपमा रहने तथा नागरिकलाई पहुँच सुनिश्चित गर्ने बताउँनुभयो । प्रदेश सरकारले बनाउने पूर्वाधारहरू नागरिकको जीवनस्तर उकास्नका लागि केन्द्रित हुनुपर्नेमा समेत मुख्यमन्त्री आचार्यले जोड दिनुभयो । कालोपत्रे सडक शुभारम्भ कार्यक्रमकाे शितगंगा नगरपालिका-११ का वडाअध्यक्ष नवराज भुसालको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा दाङ,कपिलवस्तु र अर्घाखाँचीको संगमस्थल क्षेत्र पर्ने भएकाले पनि विकास निर्माणकाे कामलाई थप उचाईमा पुर्याउन मुख्यमन्त्री आचार्यले जोड दिइएको बताउँनुभएकाे हो । कार्यक्रममा वडा नम्बर ९ का वडाअध्यक्ष भीमबहादुर केसी, वडा नम्बर १० का वडाअध्यक्ष केशव बेल्वासे, स्थानीय अगुवा दिनेश पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साेही क्षेत्रमा रहेको अन्य आयाेजनाहरूकाे अनुगमन गर्नुहुँदै प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले रङ्गसिङ खोला क्षेत्रमा निर्माणाधीन पुल, तटबन्ध, सडक योजना तथा विद्यालयक्षेत्रको समेत अनुगमन गर्नुभएको छ ।
संघीय सरकारको लगानीमा निर्माण भइरहेको रङ्गसिङ खोला पक्की पुल छिटो सम्पन्न गर्नुपर्ने विषयमा छलफल भएको छ । बाढीले कटानको जोखिम बढाउने भएकाले तटबन्धकाे योजना अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ । त्यस्तै विद्यालयमा कक्षाकोठा थप गर्नुपर्ने लगायत विषयमा पनि अनुगमन गरिएको हो ।



