प्रदेश संवाददाता रूपन्देही, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देही व्यापार संघ बुटवलको उपकरण सहयोगमा लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा निर्मित रक्त सञ्चार केन्द्रको उद्घाटन गर्नुभएको छ । बिरामीलाई नयाँ जीवन प्रदान गर्न “रक्तदान नै महादान” भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान समेत गर्नुभएको छ ।मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको स्पष्ट पार्नुभएको छ ।
निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामी लाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको बताउँदै त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने जानकारी दिनुभयो । `रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी प्रदेश सरकारले काम अघि बढाएको छ । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीहरूको हकमा उपलब्ध गराउन केही कानुनी जटिलता देखिएको छ । सरकार सबैलाई निःशुल्क रगत उपलब्ध गराउन चाहन्छ´ उहाँले भन्नुभयो । समुदायको क्षेत्रबाट रक्त सञ्चार केन्द्र स्थापना गर्न खेलेको भूमिका प्रति मुख्यमन्त्री आचार्यले प्रशंसा व्यक्त गर्नुभयो । उहाँले दान र सेवाको माध्यमबाट सामाजिक कामहरूलाई अघि बढाउन सकिने भएकोले सबैमा सेवाको भावनाको भोग जाग्न जरुरी रहेको समेत बताउँनुभयो ।




मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रूपमा अघि बढाएको र अस्पतालभित्रका सेवा विस्तार भइरहेका जानकारी दिनुभयो ।अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले सेवा प्रवाहलाई चुस्त बनाउँदै अघि बढेको पनि उहाँको भनाइ थियो । `बिरामीहरूले अप्रेशनका लागि धेरै दिन कुर्न नपरोस् भन्ने उद्देश्यले सहित लक्ष्य अनुसारकाे काम प्रदेश सरकारले अघि बढाएको छ । सेवा प्रवाह नै पहिलो सर्त हो । यसमा सरकार दृढ छ,´ उहाँले स्पष्ट पार्नुभयो । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, प्रदेश सभा सदस्यहरू,स्थानीय तहका जनप्रतिनिधिहरू, सरोकारवाला पक्ष, स्वास्थ्यकर्मी तथा आम सर्वसाधारणको सहभागिता रहेको थियो ।



