रम्भाकाे रानीबास सामुदायिक घरबास (हाेमस्टे) सुरू

पाल्पा, रम्भा गाउँपालिका-२ फोक्सिङकोटमा रानीबास सामुदायिक घर बास (होमस्टे) कार्यक्रम सुरू भएको छ । रम्भा गाउँपालिकामा पहिलाे पटक चाैध घरधूरीले पुरानै घरका काेठालाई व्यवस्थापन गर्दै घरवास (हाेमस्टे) सुरू गर्नभएकाे हाे ।रानीवास सामुदायिक घरवास (हाेमस्टे) कार्यक्रमकाे प्रतिनिधि सभा सदस्य नारायण आचार्य र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले संयुक्तरूपमा शुभारम्भ गर्नुभएको छ ।

रम्भा गाउँपालिकाकाे पर्यटकीय संभावना बोकेको फोक्सिङकोटमा सञ्चालन भएको होमस्टे कार्यक्रमले यहाँको विकासलाई समेत टेवा पुग्ने सांसद आचार्यले बताउँनुभयाे। नमुना होमस्टेको रुपमा स्थापित गर्न संघीय सरकारसँग आवश्यक बजेट र कार्यक्रमको लागि पहल गर्नेछु,उहाँले शुभारम्भ मन्तब्यमा भन्नुभयो । सांसद आचार्यले कालीगण्डकी कोरिडोरबाट यहाँ आउने सडकमार्गकाे स्तरोन्नति गर्नका लागि बजेटको व्यवस्था मिलाउने समेत उहाँले बताउँनुभयाे ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्री खेमबहादुर सारूले यहाँको पुराना कला,संस्कृति परम्परा र मगर समुदायको भेषभुषालाई व्यवस्थित गरेर प्रदर्शन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्ने बताउँनुभयाे । उहाँले प्रदेश सरकारले घरबास कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने बताउँनुभयाे ।

शुभारम्भ कार्यक्रममा घरवास (होमस्टे) कार्यक्रम नेपालको माटो सुहाउँदो व्यवसाय भएकोले यस कार्यक्रमले ग्रामिणक्षेत्र भेगलाई विकासलाई सहयोग पुग्ने होमस्टे महासंघ नेपालका उपाध्यक्ष धनेश्वर बश्यालले बताउँनुभयाे । रम्भा गाउँपालिकामा पहिलोपटक होमस्टे कार्यक्रमको सुरुवात भएको बताउँदै जनजाती समुदायका नागरिकहरूले सञ्चालन गरेको होमस्टे घरवास कार्यक्रमलाई नमुना बनाउने गरी विशेष योजना बनाएर अगाडि बढेको रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउँनुभयाे । उहाँले घरवास कार्यक्रम होमस्टेले यहाँ पर्यटकको आगमन हुनेछ, स्थानीयलाई रोजगारी मिल्नेछ,भन्दै होमस्टेले स्थानीयलाई मात्रै नभई सिंगो गाउँपालिकाको आर्थिक अवस्थामा टेवा पुग्ने भण्डारीले दाबी गर्नुभयाे ।फाेक्सिङ्गकाेटमा सञ्चालित रानीबास सामुदायिक होमस्टेमा आउने पर्यटकलाई रम्भादेवी मन्दिर,रिमिघा लेक लगायतका पर्यटकीय स्थलहरूको अवलोकन गर्ने वातावरण समेत गाउँपालिकाले मिलाउने उहाँले बताउँनुभयाे। रानीबासमा नब्बे बढी मगर समुदायको बसोबास रहेको यहाँ सामुदायिक होमस्टेमा अठार घरपरिवार सदस्यहरू आवद्ध छन्, उहाँले भन्नुभयो।

अहिले चाैध घरबाट होमस्टेलाई सञ्चालन भएको र आगामी दिनमन थप हुने होमस्टे सञ्चालक समितिका अध्यक्ष देउकुमारी सारूले बताउँनुभयाे। गत वर्षको मंसिरमा गाउँपालिकाले घरवास कार्यक्रम सम्वन्धि तालिम दिदै घरको व्यवस्थापन कसरी गर्ने,घर कसरी सजाउने तथा खाना कसरी पकाउने लगायतका विषयमा तालिममा पाएकाे ज्ञानले घरवास (होमस्टे) सञ्चालन गर्न आफूहरूलाई सहज भएको समेत बताउँनुभयाे। फाेक्सिङ्गकाेट, रानीबासका स्थानीयहरूले स्याङ्जाको शिरूबारीमा रहेको होमस्टेहरूको पनि अवलोकन गरेकाे बताउँनुभयाे । होमस्टेमा आउने पर्यटकलाई प्रति व्यक्ति एक हजार बराबर खर्चमा प्याकेजको व्यवस्था मिलाइएको छ। कुखुराको मासुसहित दुई छाक खाना,एक नास्ता र बस्नका लागि प्याकेजमा सुविधा रहेको अध्यक्ष सारूले भन्नुभयो ।उहाँले स्थानीय उत्पादनका परिकार खुवाइन्छ। पर्यटकको माग अनुसार कोदोको ढिंडो,रोटी,मकैको आँटो,गुन्द्रुक,स्थानीय जातका कुखुराको मासु,स्थानीय प्रजातिको सुँगुरको मासु, बटुक,सेलरोटी लगायतका परिकारको स्वाद लिन पाइने होमस्टे सञ्चालक समितिका सचिव वीरबहादुर गुरूङले बताउँनुभयाे। उहाँका अनुसार पन्चेबाजा, सालैजो, मारूनी, ठूलो नाच, झाम्रे लगायत स्थानीय सँस्कृतिसँगै पर्यटक रमाउन पाउने र डाँडाको टाकुरामा रहेको रानीवास सामुदायिक होमस्टेबाट हिमालको दृष्य अवलोकन गर्न समेत पाइनेछ सचिव गुरूङले बताउँनुभयाे। तल कालीगण्डकी देखिन्छ। यहाँकाे प्राकृतिक मनोरम वातावरणले यहाँ एकचोटी आइपुगेका पर्यटकलाई मन जित्ने वातावरण समेत मिल्ने सचिव गुरूङले बताउँनुभयाे ।

रानीबास होमस्टेमा रहेको जनजाती संग्रहालयको पनि उद्घाटन गरिएको छ। जनजाति संग्रहालयले होमस्टेको थप आकर्षण बढेको छ। एक करोड बढी लगानीमा निर्माण गरिएको संग्रहालय कुँडुले शैलीमा निर्माण गरिएको छ। संग्रहालय हेर्दा निकै आकर्षक देखिन्छ। संग्रहालयमा मगर समुदायका संस्कृति झल्किने परम्परागत सामग्री राखिएको छ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *