पाल्पा, नगरपालिकाका प्रमुख रमण बहादुर थापाले सीताकुण्डमा विवाह पञ्चमीलाई उत्सवको रुपमा मनाउने घोषणा गर्नु भएको छ । शुक्रबार विवाह पञ्चमीको अवसरमा सीताकुण्डमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै थापाले नगरपालिकाले विवाह पञ्चमीलाई नगरमा उत्सवको रुपमा मनाउनका लागि आगामी वर्ष देखि आवश्यक व्यवस्था गर्ने घोषणा गर्नु भएको हो ।
सीताकुण्ड मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा उहाँले आमामी वर्ष देखि विवाह पञ्चमीमा रामपुर नगरपालिका वडा नं. ५ पञ्चेबाजा सहित बेहुला भएर सीताकुण्ड जाने र वडा नं ४ र ३ माईती पक्ष भएर स्वागत गर्ने परम्पराको थालनी गरिने बताउँदै यसको व्यवस्थापन नगरपालिकाले गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सीताकुण्डको महत्व बारे सबैलाई बुझाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले आर्थिक विकासको लागी पर्यटन सँग जोडिनु आवश्यक रहेको बताउँदै सीताकुण्डलाई पर्यटन संग जोड्न आवश्यक पूर्वाधार निर्माणको काम भैरहेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले हरेक मानिसलाई धार्मिक र आध्यात्मिक ध्यानले ज्ञान प्राप्त हुने बताउनु भयो ।
वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर रानाले सीताकुण्डको धार्मिक ऐतिहासिक पौराणिक महत्व रहेकोले यसको संरक्षणमा सबै लाग्नु पर्ने बताउनुभयो । लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले रामघाट र सीताकुण्ड लगाएत भगवान राम र सीता संग सम्बन्धीत रामपुर क्षेत्रका धार्मिक र पर्यटिय क्षेत्रहरुलाई एकीकृत रुपमा बिकास गर्नुपर्ने बताउनुभयो । उहाँले धार्मिक ग्रन्थहरुमा उल्लेख भएको सीताकुण्ड संग सम्बन्धित लेख संस्कृतमा र नेपालीमा लेखेर ठूलो बोर्ड सौजन्य गर्ने बताउनुभयो ।रामपुर अस्पतालका पूर्व अध्यक्ष तथा युवा सामाजसेवी रामप्रसाद ढकाल रमेशले सीताकुण्डको छुट्टै महत्व भएको यसको विकास लागि नगरले विशेष रुपमा हेर्नुपर्ने बताउनुभयो । उहाँले सीताकुण्डको विकासका लागी याहाँका स्थानीयहरु नै सक्रिय रुपमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै रामपुर नगरपालिका-३ का वडा अध्यक्ष दामोदर पाठकले नगर प्रमुख थापाले सीताकुण्डको धार्मिक पर्यटन प्रवर्द्धनका लागि गर्नु भएको घोषणाको स्वागत गर्नु भएको थियो । सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चुल बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रम सीता माध्यमिक विद्यालयका साहायक प्रध्यानाध्यापक जिवन पराजुलीको स्वागत र दुर्गेश मल्लको सञ्चालनमा भएको थियो ।