रामपुर नगरपालिकाकाे ब्याज अनुदानबाट ९७ जना युवा उद्यमी लाभान्वित

पाल्पा, रामपुर नगरपालिकाले सुरु गरेको उद्यमबाट युवालाई स्वराेजगार बनाउनलाई ल्याएको ब्याज अनुदानबाट रामपुरका ९७ जना युवाहरू विभिन्न उद्यम व्यवसाय गरेर आत्मनिर्भर बन्दै लाभान्वित भएका छन् । नगरपालिकाले वैदेशिक राेजगारमा गएर फर्केका युवाहरूलाई स्वदेशमा केही गर्नका लागि र विदेश जान लागेका युवाहरूका लागि लक्षित गरेर ल्याएको स्वरोजगार कार्यक्रम मार्फत ब्याज अनुदानबाट युवाहरू लाभान्वित भएका हुन् ।

नगरपालिकाकाे युवा लक्षित कार्यक्रमबाट विभिन्न व्यवसाय एवं उद्यम गरेर यहाँका ९७ युवा लाभान्वित भएकाे नगरपालिकाले जनाएको हाे । रामपुर नगरपालिकाले हालसम्म रु.१ करोड ११ लाख ६९ हजार ८ सय २८रूपैयाँ बराबरको रकम लगानी गरेको र त्यसले देशमै केही गर्ने चाहना भएका युवालाई लाभ पुगेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताउँनुभयाे । उहाँका अनुसार चालु आर्थिक वर्षमा नगरभित्रका ४४ जना युवाहरूलाई कार्यक्रममा छनौट गरिएको बताउँदै उक्त छनाैटमा परेका युवाले फलफूल खेती, तरकारी खेती, फलफूल वा पुष्प नर्सरी, कुखुरापालन, माछापालन, बाख्रापालन,मौरीपालन, च्याउखेती, बङ्गुर पालन,गाईभैँसी पालन कृषि उद्यम व्यवसाय गर्नका लागि नगरपालिकाले ब्याज अनुदानकाे उपलब्ध गराउँदै आएको कृषि शाखा प्रमुख गैरले बताउँनुभएकाे हाे ।

तोकिएको मापदण्ड र कार्यविधिमा रहेर व्यवसाय गर्ने युवालाई यस कार्यक्रममा समावेश गरिदै आएको समेत शाखा प्रमुख गैरेले जानकारी दिनुभयाे । यो कार्यक्रम गत वर्ष २०७६/०७७ देखि सुरु भएको हो । सुरुमा रु पाँच लाखबाट ब्याज अनुदान दिन थालेको कार्यक्रममा नगरपालिकाले हाल रु ३० लाखसम्म अनुदान दिने गरेको छ । विदेश जाने तयारीमा रहेका,विदेशबाट फर्केका युवालाई गाउँमै बसेर व्यवसाय गर्न प्रोत्साहन गराउने उद्धेश्यले ब्याज अनुदान कार्यक्रम ल्याइएको रामपुर नगरप्रमुख रमणबहादुर थापा बताउँनुहुन्छ ।“युवालाई लक्षित गरेर ल्याइएको यस कार्यक्रममा केही उद्यम, व्यवसाय गर्छु भन्ने युवा लाई सहज भएको छ,आफूले कारोबार गरेका नगरपालिका भित्रका कुनै पनि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण झिकेर व्यवसायमा लगानी गर्ने,बैङ्कको खातामा नगरपालिकाले ब्याज बुझाउने कार्य गरिरहेको छ,यसले ब्याज बुझाउने तनाव व्यवसायीमा हटेको छ” उहाँले भन्नुभयाे ।

दुई वर्षसम्म युवा स्वरोजगार कार्यक्रम मार्फत ब्याज अनुदान प्राप्त गरि सकेका युवा उद्यमीहरुले पुनः कार्यक्रममा सहभागी भई ब्याज अनुदानका लागि प्रस्ताव पेस गरेमा फेरि समितिले पूर्व सञ्चालित व्यवसायमा न्यूनतम मापदण्ड पूरा गरी थप कर्जा रकममा ब्याज अनुदान दिने व्यवस्था समेत रहेको नगरप्रमुख थापाले जानकारी गराउँनुभयाे । अनुगमन समितिले बेलाबेलामा व्यवसायको अनुगमन गरी मापदण्डअनुसार व्यवसाय सञ्चालन भए नभएको मूल्याङ्कन गरेर मात्रै सम्बन्धित व्यवसायीहरूको बैङ्क खातामा रकम उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको हाे । मापदण्ड अनुसार काम नगरेको ठहर गरेमा सो रकम रोक्का गरिने समेत नगरपालिकाले जनाएको छ ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *