पाल्पा, रामपुर नगरपालिका वडा नं. १ पाल्पामा नागरिकमा स्वास्थ्य सेवा पहुँच बृद्धिका लागि स्वास्थ्य सेवा विस्तार कार्यक्रमको सोमबार शुभारम्भ गरिएको छ । स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका नागरिकहरुको सुविधाका लागि वडा नं. १ को बर्दाकोटमा स्वास्थ्य सेवा विस्तार गरिएको हो । स्वास्थ्य संस्था सम्म पुग्न धेरै समय लाग्ने भएकाले वर्दाकोट गाँउमा अब हरेक महिनाको २ दिन गाँउमै स्वास्थ्यकर्मी सहितको टोलीले स्वास्थ्य सेवा दिने भएको छ ।
बर्दाकोटमा सेवाको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्वास्थ्य मानविय स्वास्थ्य जीवनको महत्वपूर्ण विषय भएको भन्दै नगरबासीको स्वास्थ्य सेवा र सुविधाका लागि रामपुर नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सिमित स्रोत र साधनका विच पनि नागरिकलाई सहज र सरल रुपमा सेवा प्रदान गर्दै आई रहेको उल्लेख गर्नुभयो । स्वास्थ्य सेवा लिन पाउने नागरिकको नैसर्गिक अधिकारको सुनिश्चितताका लागि स्वास्थ्य संस्थाबाट टाढा रहेको बर्दाकोट गाँउमा सेवा विस्तार हुनु नागरिकको लागि सुखद पक्ष रहेको बताउनुभयो । साथै महिनाको २ दिन दिईने सेवालाई छिट्टै प्रत्येक दिन नियमित सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले ग्रामिण क्षेत्रका जनतालाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले विस्तार गरिएको सेवाबाट स्वास्थ्य लाभ लिन अनुरोध गर्नुभयो । सामान्य जाँच तथा उपचारका लागि पनि धेरै समय खर्चेर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै वडा कार्यालयले विस्तार गरेको स्वास्थ्य सेवा कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले वडा कार्यालय र आफु संधै वडाबासीको आवश्यकताको विषयमा गम्भिर रहेको भन्दै गाउँमा बसेका ज्येष्ठ नागरिक संगै अन्य वडाबासीको सुविधाका लागि गाउँ गाउँमा स्वास्थ्य सेवा विस्तार गरिएको बताउनुभयो । स्वास्थ्य सेवा लिन जानका लागि समय खर्चिनु पर्ने र हिँडेर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै सेवा सहजताका लागि गाउँमै मासिक २ दिन स्वास्थ्य जाँच तथा उपचार एवं सामान्य औषधि वितरण गरिने उहाँले बताउनुभयो । साथै उहाँले वडाको हरेक विकास र वडाबासीलाई सहज र सरल रुपमा सेवा दिन संधै तत्पर रहेको उल्लेख गर्नुभयो । वर्दाकोटमा भएको कार्यक्रममा समाजसेवि पुन बहादुर सारुले सामाजिक सुरक्षा भत्ता संगै स्वास्थ्य सेवा पनि घर आँगन मै प्रदान गरेकोमा धन्यवाद दिंदै सेवा लिन पाउँदा खुशी लागेको बताउनुभयो ।
रामपुर नगरपालिका वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणको अध्यक्षतामा भएको सेवा विस्तार तथा पोषाक वितरण कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यपालिका सदस्य देवका पोखरेलको स्वागतबाट शुरु भएको स्वास्थ्य सेवा विस्तार तथा पोषाका वितरण कार्यक्रमको सञ्चालन वडा सचिव प्रेम पाठकले गर्नु भएको थियो। सेवा विस्तार शुभारम्भका अवसरमा १८ जना नागरिकले स्वास्थ्य जाँच तथा उपचार सेवा लिएको गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले जानकारी दिनुभयो। अब बर्दाकोटबासीले महिनाको २ दिन पाहुना घरबाटै स्वास्थ्य सेवा पाउने भएका छन् । सेवा शुभारम्भ कार्यक्रमका अवसरमा स्थानीय बर्दाकोट आमा समूहलाई वडा कार्यालयले मगरी पोषाक समेत वितरण गरेको छ । बर्दाकोट आमा समूहका महिला दिदिबहिनीहरुलाई ५८ सेट मगरी पोषाक वितरण गरेको हो ।