गुल्मी, मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक खण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मी दरबार गाउँपालिकासम्म सडक कालोपत्रेकाे काम गर्न सुरु गरिएको हो ।रुरुक्षेत्रदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडक यही आउँदो फागुन २५ सम्म कालोपत्र गर्ने काम सकिने मदन भण्डारी राजमार्ग सडक आयोजना कार्यालय गुल्मीका सूचना अधिकारी एवं इञ्जिनियर हुमनाथ पौडेलले जानकारी दिनुभयाे ।
“रिडीदेखि २५ किलोमिटरसम्म ढलान र अस्फाल्ट गर्ने कार्यक्रम छ,अहिलेसम्म आठ किलोमिटर सम्पन्न भइसकेको छ,अब १७ किलोमिटर बाँकी छ,मौसमले साथ दियो भने यस आर्थिक वर्षमा १८ देखि १९ किलोमिटर गर्ने कार्यक्रम छ”, उहाँले भन्नूभयाे । निर्माण कम्पनीले रुरुक्षेत्र गाउँपालिका, छत्रकोट र गुल्मीदरबार क्षेत्रमा ‘ग्रेड कटिङ’ र मोड सुधारको काम अन्तिम चरणमा पुगेको जनाएको छ । सम्झौताअनुसार कटिङ, नाली, संरचना निर्माण र ग्राभेलको काम दु्रतगतिमा भइरहेको छ । २५ किमी सडकअन्तर्गत २ किमी ढलान र ६ किमी सडक कालोपत्रे भइसकेको सडक आयोजना कार्यालय गुल्मीका सूचना अधिकारी हुमनाथ पौडेलले बताउँनुभयाे । उक्त सडकखण्डमा हालसम्म ७०प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भइसकेको छ ।
सडक निर्माणका क्रममा गत दुई वर्ष यस क्षेत्रका नागरिकले धुलो र हिलोको समस्या भोग्नु परेको थियो । सडक निर्माणका लागि २०७९ फागुन २६ गते निर्माण कम्पनीले समानान्तर–एलाइट जेभीले रु एक अर्ब ५० करोडको लागतमा रिडी–रुन्खादह सडकको ग्रेड कटिङ, मोड सुधारसँगै कालोपत्र गर्ने सम्झौता भएको थियो ।