पाल्पा, रिब्दीकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को कार्य सम्पादनमा भएको प्रगति विवरण सहित आर्थिक वर्षकाे पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ गरेको छ । रिब्दीकाेट गाउँपालिकाकाे आयोजना र सञ्चार मन्च पाल्पाको समन्वय तथा सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा रिब्दीकाेट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले चालु आर्थिक वर्षमा गाउँपालिकाबाट कार्य सम्पादनमा भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले आन्तरिक आम्दानी, योजना सम्झौता लगायत गाउँपालिकाबाट प्रवाह गरिएको सेवा सुविधाका विषयमा सार्वजनिक सुनुवाइमा प्रगति प्रतिवेदन पेस गर्दै जानकारी गराउँनुभएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमका लागि पाल्पा सञ्चार मञ्चले गाउँपालिकाकाे वडातहबाट संकलन गरिएको नागरिक सन्तुष्टि सर्भेक्षण र बर्हिगमन अभिमतको प्रतिवेदन समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।




नागरिक अभिमत सहित गाउँपालिकाकाे सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले हार्थोक-छहरा सडक खण्डमा स्तारेन्नतिको काम कहिलेबाट सुरु हुन्छ ? भन्ने प्रश्न राख्दै गाउँपालिकाले निर्माण गरेको औद्योगिक ग्रामको कार्य प्रगतिको अवस्था,सुन्तला महोत्सव कृषकमैत्री नभएको गुनासो र पर्यटकीय क्षेत्रको विकास गर्दै आन्तरिक आम्दानी बढाउने के कस्तो योजनालाई प्राथमिकता दिनुपर्ने हाे? अकबरे खुर्सानी र बेसार विक्री वितरणका लागि गाउँपालिकाले मूल्य र बजारको सुनिश्चिता गर्नुपर्ने, विकास निर्माणका काममा ढिलासुस्ती हुने र भएका कामको गुणस्तरीयता माथि प्रश्न राखेको तथा लिफ्टिङ्ग खानेपानी योजना छिटो सम्पन्न गर्नुपर्ने,मास्टर प्लान अनुसार काम गर्नुपर्ने,तामाखानीका विषयमा विषय विज्ञ सहित अध्ययन गर्नुपर्ने,उपभोक्ता समितिलाई जिल्ला दररेटका कारण परेको समस्या समाधानमा सहजीकरण गर्नुपर्ने,कृषिक्षेत्रकाे उत्पादनमा प्राथमिकता तोकेर काम गरिएको भएपनि अनुगमन समयमा नभएको,रोजगारी सिर्जना हुने काम गर्नुपर्नेमा नभएको जस्ता गुनासाहरू सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरूको जिज्ञासा एवं गुनासो रहेको थियोे । गाउँपालिकाले कृषकलाई मात्र नभई कृषि सहकारीलाई पनि अनुदानको व्यवस्था गर्नुपर्ने, समन्वय तथा सहकार्य गर्नुपर्ने,दस शैयाको अस्पताल निर्माण कहिले हुन्छ, स्वास्थ्य संस्थामा नागरिक वडा-पत्रमा तोकिएको औषधिकाे सहज उपलब्ध हुनुपर्ने लगायतका विषयमा जिज्ञासा राख्दै प्रश्न गर्नुका साथै सुझाव राख्नुभएको थियाे ।
नागरिकहरूबाट विषयगत रुपमा उठान गरिएका प्रश्नहरूकाे जनप्रतिनिधि सहित विषयगत शाखाका प्रमुखहरुले जवाफ दिनुभएको थियो ।सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले गाउँपालिकाले सकेसम्म नागरिकलाई सहज हुनेगरी काम गरिरहेको बताउँनुभयो । उहाँले आफूहरुले गलत नगर्ने र काम गर्दा केही कमजोरी देखिएमा तत्काल सुझाव दिन आग्रह समेत गनुृभयो । साथै सुन्तला महोत्सवमा भएको खर्च विवरण छिटै सार्वजनिक गर्ने प्रतिबद्धता समेत जनाउँनुभयो । गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत नागरिक प्रतिवेदनले आफूलाई केही काम गरे जस्तोअनुभूति भएको बताउँनुभयो । उहाँले नागरिकका लागि गरेको कामको परीक्षण गर्ने कमिकमजोरीलाई सुधार गर्न यस्ता कार्यक्रम आयोजना हुने भएकोले प्राप्त सुझावहरुलाई आत्मसाथ गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रमकाे संचार मन्च पाल्पाका सचिव कमल अधिकारीले सहजीकरण गर्नुभएको थियो ।



