पाल्पा, रूरूक्षेत्र धाम रिडीमा प्रथम शालीग्राम महाेत्सव सुरु भएको छ । रुरुक्षेत्र धाम रिडीमा आयोजना गरिएको ‘प्रथम रुरुक्षेत्र धाम शालीग्राम महोत्सव-२०८२’ को उद्घाटन गनुहुँर्दै लुम्बिनी प्रदेश मुख्यमन्त्री आचार्यले आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने गरी लुम्बिनी प्रदेश सरकारले काम गरिरहेकाे छ भन्नुभयो । उहाँले यहाँका ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण,प्रवर्द्धन प्रचारप्रसारलाई प्राथमिकतामा राखेको बताउँनु भएको हाे । ‘घुम्न जाऔं बर्दिया’, ‘पाणिनि तपोभूमि सम्मेलन’ र ‘रुरु शालीग्राम महोत्सव’ यसै उद्देश्यले आयोजना गरिएको पनि मुख्यमन्त्री आचार्यले स्पष्ट पार्नुभयो । महाेत्सव उद्घाटनका बाेल्दै उहाँले लुम्बिनी प्रदेशका मठ मन्दिर र धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढ्दो क्रममा रहेको जानकारी दिनुभयो ।
यस्तै मुख्यमन्त्री आचार्यले धार्मिक आस्था, नैतिक आचरण तथा संस्कृतिको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताउँनुभयो । उहाँले अहिले समाजमा बढ्दो अराजकताको कारण औंल्याउँदै असल संस्कार,संस्कृति र मूल्य-मान्यताहरूको जगेर्ना गर्न जरुरी रहेको धारणा राख्नुभयो । `मुलुकमा अराजकता छाइरहेको छ, अराजकता छाउनुको पछाडिको एउटा कारण भनेको हामीले धर्म भुल्यौं,नैतिकता भुल्यौं,संस्कृति भुल्यौं । यी भुलेका कारणले गर्दा आज युवाहरू अराजकतातिर धकेलिएका छन्´ मुख्यमन्त्री आचार्यले भन्नुभयो-`त्यसैले हामीले धर्म संस्कृतिको संरक्षण गर्न जरुरी छ । त्यो उद्देश्य राखेर पनि प्रदेश सरकारले यी साँस्कृतिक धार्मिक सम्पदा संरक्षण कार्यक्रमहरूलाई अगाडि बढाएको हो ।´




उद्घाटनमा मुख्यमन्त्री आचार्यले ऐतिहासिक सम्पदाहरूको संरक्षण,सम्वर्द्धन र प्रवर्द्धनबाट समृद्धिको यात्रा तय गर्न सकिने धारणा राख्नुभयो । लुम्बिनी प्रदेश तपोभूमि भएको उल्लेख गर्दै उहाँले भन्नुभयो लुम्बिनीका विभिन्न जिल्लाहरूका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई दर्शाउँदै अहिले रुरुक्षेत्रको शालीग्रामलाई समग्र विश्व जगतमा पुर्याउन सकिने र धार्मिक पर्यटकहरू भित्र्याउन सक्ने आधार रहेको स्पष्ट पार्नुभयो ।उहाँले गौतम बुद्धको जन्मस्थल लुम्बिनी,पाणिनि ऋषिको जन्मस्थल र संस्कृत व्याकरण लेखन स्थान पाणिनि तपोभूमि लगायत प्रदेशका धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई एक आपसमा जोड्ने गरी सरकारले योजना समेत अघि बढाएको जानकारी दिनुभयो ।
नेपालका चार प्रमुख धार्मिक धामहरूमध्ये एक रुरुक्षेत्रमा ‘शालग्राम दिवस’ को अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देही र तानसेन नगरपालिकाको सहकार्य तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो ।प्रथम शालीग्राम महोत्सवमा यहाँकाे विविध धार्मिक,सांस्कृतिक एवं धार्मिक पर्यटनमूलक कार्यक्रमहरू समावेश गरिएका छन् । ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण रुरुक्षेत्रमा आयोजना गरिएको महोत्सवले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा भइ पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । पहिलोपटक आयोजना गरिएको प्रथम शालीग्राम महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ ।



