पाल्पा,रिब्दीकाेट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाकाे संयुक्त आयोजनामा रैनादेवी छहरा-५ मुझुङ्गकाे कटाैँचेपानीमा दाेस्राे सुन्तला महाेत्सव हुने भएको छ। रिब्दीकाेट तथा रैनादेवी छहरा गाउँपालिकाबाट उत्पादन हुने सुन्तलाको बजार प्रवर्द्धन गर्न जिल्लामा दाेस्राे पटक सुन्तला महोत्सव-२०८१ आयोजना गर्न लागिएको हाे ।
पश्चिम भेगमा रहेको रिव्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले संयुक्त रूपमा पहिलो पटक याे दाेस्राे सुन्तला महोत्सव हुन लागेको रिब्दीकाेट गाउँपालिका वडा नम्बर-७ पालुङ्गमैनादी वडाअध्यक्ष दानबहादुर कुँवरले जानकारी दिनुभयाे । उहाँले भन्नुभयो यहीँ मङ्सिर २२ र २३ गते रैनादेवी छहराकाे मुझुङ्गस्थित रहेको कटाैँचेपानी खेलमैदानमा संयुक्त रूपमा दाेस्राे सुन्तला महाेत्सव-२०८१ हुने जानकारी गराउँदै वडा अध्यक्ष कुँवरले यसअघि रिब्दीकाेटकाे पालुङ्गमैनादीमा पहिलो पटक गरिएको सुन्तला महोत्सवकाे भब्यरूपमा सम्पन्न भएको समेत जानकारी दिनुभयो । सुन्तला अत्याधिक उत्पादन हुने क्षेत्रमा महोत्सव गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
सुन्तलाको बजार प्रवर्द्धन गर्न सुन्तलाकाे उत्पादनमा बृद्धि एवं ब्रान्डिङ् गर्ने उद्धेश्य र किसानलाई हौसला प्रदान गर्नका लागि महोत्सवकाे आयोजना गर्न लागेको रैनादेवी छहरा र रिब्दीकाेट गाउँपालिकाले जनाएको छ । पाल्पाको रिव्दीकोट र रैनादेवी छहरा गाउँपालिका अत्यधिक सुन्तला उत्पादन हुने क्षेत्र हुन् । यहाँका अधिकांश किसानले सुन्तला उत्पादनबाट वार्षिक एक लाख देखि बीस लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेको मैनादी कृषि सहकारीका अध्यक्ष वेनबहादुर पुनले बताउँनुभयो । सुन्तला पाकेर हरेक किसानको सुन्तला बगैँचा यतिबेला पहेँलपुर बनेको उहाँले बताउँनुभयो । यो वर्ष किसानले बोटबाटै ६५ देखि ७० रुपियाँ प्रतिकिलो सुन्तला बिक्री गरिरहेकाे उहाँले भन्नुभयो । बजारसम्म पुर्याए प्रतिकिलो एक सय रुपैयाँ माथि पर्ने गरेको छ सुन्तला किसान पुन भन्नुहुन्छ ।
अहिले पाल्पाकाे उत्पादित सुन्तला तानसेन, भैरहवा, पोखरा, बुटवल, नारायणघाट,काठमाडौँ जनकपुर र भारतीय बजार गाेरखपुर समेत निर्यात हुने गरेको छ । ४४ वर्षअघि देखि यसक्षेत्रमा सुन्तला खेती सुरु भएको थियो । त्यसपछि बिस्तारै यस भेगका हरेक घरका किसानले सुन्तलाको व्यावसायिक खेती सुरु गरेको रिव्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउँनुभयो । पछिल्लो समयमा अन्य खेती छाडेर पनि सुन्तला खेती गर्ने किसानहरूको सङ्ख्या पनि बढ्दै गएको उहाँले बताउँनुभयो ।