प्रदेश संवाददाता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य टोली औँपचारिक चीनकाे भ्रमणमा जान लाग्नुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहितको टाेली यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनका लागि चीन भ्रमणमा जान लाग्नुभएको हाे । उहाँको नेतृत्वमा सात सदस्य सहितको प्रतिनिधि मण्डल चीन भ्रमणमा जान लागेको हो । लुम्बिनी प्रदेश सरकारकाे देउखुरीमा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले चीन भ्रमणका लागि स्वीकृती प्रदान गरेको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन सिछुवानमा भाग लिन लुम्बिनी प्रदेश मुख्यमन्त्री आचार्य सहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ लगायत सात सदस्यीय टोली चीनकाे भ्रमणमा जाने भएको हाे । भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्त बीच पारिस्परिक सहयोग एवं सद्भाव अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकास योजनाहरूलाई अघि बढाउन र द्विपक्षीय सहयोग तथा सहकार्य सम्वन्धमा उच्चस्तरीय भेटवार्ता हुने जनाइएको छ । लुम्बिनी प्रदेश सरकार र सिछुआन प्रान्तबीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने उद्देश्यले वि.सं. २०७६ सालमा भगिनी सम्बन्ध कायम भएको थियो । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र चीनकाे सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको हो ।