पाल्पा, तानसेन नगरपालिका -९ तिन्टीआँप, दमकडामा रहेको मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राष्ट्रिय सहकारी बैंक लिमिटेडबाट सम्मानित भएको छ।राष्ट्रिय सहकारी बैंक लिमिटेडको एक्काइसौं वार्षिकोत्सबकाे अवसरमा लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएको हाे ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो एक्काइसौं वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट प्रादेशिक सदस्यकाे रूपमा मदनपाेखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड टिन्टीआँप पाल्पालाई सम्मान गरेको सहकारी संस्थाका अध्यक्ष धनश्याम घिमिरेले बताउनुभएको हाे । उहाँका अनुसार सहकारी संस्थाले सहकारीको विकास,प्रवर्द्धन एवं सामाजिक साँस्कृतिक क्षेत्रकाे रुपान्तरणमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उत्कृष्ट प्रादेशिक सदस्य (बचत तथा ऋण बाहेककाे कारोवार गर्ने लुम्बिनी प्रदेशका सदस्य संस्थाहरुमध्ये) उत्कृष्ट सम्मान / पुरस्कार विधामा सम्मानित गरिएको सहकारी बैंकका प्रदेश प्रमुख नारायण बेल्वासेले बताउँनुभएकाे हाे । सहकारी बैंकले सहकारीका अध्यक्ष घनश्याम घिमिरेलाई उत्कृष्ट सहकारी संस्था सम्मान सहित प्रामाण-पत्र प्रदान गरेको छ । प्रमाणपत्र बुझेपछि अध्यक्ष घिमिरेले सम्मानले सहकारी अभियानमा थप सक्रियता सहित अभियानमा लाग्न प्रेरणा मिलेको बताउँनुभएकाे छ।