प्रदेश संवाददाता देउखुरी दाङ, लुम्बिनी प्रदेश सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम बजेट बहुमतले पारित गरेको छ । प्रदेशको छैटौँ अधिवेशनको आठौँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सभाका सदस्यहरूले बहुमतका साथ पारित गरेको हो ।प्रदेश सभा बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गरेकोमा सभामुख तुलाराम घर्तिमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियाे । उक्त प्रस्ताव ध्वनिमतका आधारमा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख तुलाराम घर्तिमगरले घोषणा गर्नुभएको हाे ।
प्रदेश सरकारले प्रदेशको समग्र विकास गर्ने गरी कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकास लगायत क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । यही जेठ ५ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई महत्त्वपूर्ण छलफल र विचार राख्नुहुँदै प्रदेश सांसदले प्रदेशको विकासका लागि उत्कृष्ट भन्दै त्यसलाई बजेट मार्फत सम्बोधन गर्न समेत सुझाव राख्नुभएको थियोे ।मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयाे । शनिबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रदेश सरकारले कार्यान्वयनका लागि प्रभावकारी अनुगमन व्यवस्था मिलाइने जानकारी दिनुभयाे ।


मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम सरकारको दिशा निर्देशन गर्ने कार्यक्रम भएकाले पनि आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रमगत र आयोजनागत रूपमा सम्बोधनको विनियोजन विधेयक ल्याउने बताउँनुभयाे । उहाँले यस पटकको नीति तथा कार्यक्रम वास्तविक धरातलमा आधारित, कार्यान्वयन योग्य रहेको र विगतका योजनाहरूको विश्लेषण, साधन स्रोतको सीमा, अन्तर सम्बन्ध तथा तीन तहका सरकारबीचको समन्वय र साझेदारीको संवैधानिक दायरा मनन गरेर तयार पारिएको जानकारी दिए । सरकारले वस्तुनिष्ठ र कार्यान्वयन योग्य बजेट बनाउने तयारी गरिरहेको पनि मुख्यमन्त्री आचार्यले स्पष्ट पार्नुभयाे । दुई दिनसम्मको बैठकमा जारी छलफलमा चालिस जना प्रदेश सभाका सांसदले सुझाव सहित आ–आफ्नो धारणा व्यक्त गर्नुभएकाे थियाे ।
