लुम्बिनी प्रदेश सरकारले भब्य समारोह सहित मनायो गणतन्त्र दिवस

दाङ, लुम्बिनी प्रदेश सरकारले १८औँ गणतन्त्र दिवसलाई विविध कार्यक्रम सहित भब्य रूपमा मनाएको छ । प्रभातफेरी, सांस्कृतिक झाँकी र मुख्य समारोह आयोजना गर्दै लुम्बिनी प्रदेश सरकारले दिवसलाई गौरवपूर्ण रूपमा मनाएको हो । गणतन्त्र दिवस मुल समारोहमा लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले लाेकतान्त्रिक गणतन्त्र नेपालको गौरव र महत्त्वपूर्ण उपलब्धि भएको बताउँनुभएको छ । उहाँले नेपालकाे याे महत्त्वपूर्ण उपलब्धि नेपाली जनताको त्याग एवं बलिदानपूर्ण संघर्षबाट सम्भव भएको कुरा उल्लेख गर्नुभयाे।

गणतन्त्र दिवस कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले समावेशी, समानुपातिक, न्यायसंगत र उत्तरदायी शासनको अभ्यास सुदृढ गर्न गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले गणतन्त्रले अधिकारसँगै कर्तव्य बोध गराएको उल्लेख गर्दै सेवा प्रवाह,सुशासन र समृद्धि निर्माणमा सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँनुभयो ।उहाँले लुम्बिनी प्रदेश सरकार कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, युवा उद्यमशीलता तथा स्वरोजगारलाई प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिनुभयो । संघीयताको अभ्यासलाई प्रभावकारी बनाउन संघ,प्रदेश र स्थानीय तहबीचकाे समन्वय र सहकार्य आवश्यक रहेको समेत उल्लेख गर्दै प्रदेश सरकारले त्यस दिशामा प्रतिबद्धतापूर्वक काम गरिरहेको बताउँनुभयो ।

प्रदेश मुख्यमन्त्री आचार्यले अघिल्ला पुस्ताको योगदानको कदर गर्दै भावी पुस्तालाई समावेशी, समतामूलक र आत्म गौरवयुक्त समाज हस्तान्तरण गर्ने संकल्प गर्नुपर्ने धारणा राख्नुभयो ।गणतन्त्र दिवस कार्यक्रममा प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले गणतन्त्र जनताको शासन प्रणाली भएको उल्लेख गर्दै यसको संस्थागत सुदृढीकरण तथा विकासमा जोड दिनुभयो । उहाँले राजनीतिक संघीयता प्राप्त भए पनि प्रशासनिक तथा वित्तीय संघीयताको व्यवहारिक कार्यान्वयन अपरिहार्य रहेकाे धारणा समेत व्यक्त गर्नुभयो ।कार्यक्रममा पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले गणतन्त्रको मूल उपलब्धि संघीयता भएको उल्लेख गर्दै यसको लक्ष्य विकास भएको बताउँनुभयो । उहाँले अधिकार प्रदेशमा हस्तान्तरण गर्न संघीय सरकारको प्रतिबद्धता आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो`संघीय सरकार मुठ्ठी कसेर बस्नु हुँदैन । अधिकार दिन मुठ्ठी फुकाउनु जरुरी छ ।´विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले गणतन्त्रलाई सुदृढ गर्दै जनताको आधारभूत आवश्यकता सम्बोधन गर्नुपर्ने बताउँनुभयो । उहाँले अधिकार मात्र नभई कर्तव्यको अभ्यास समेत आवश्यक रहेको धारणा राख्नुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालको स्वागत मन्तब्यबाट सुरु भएको गणतन्त्र दिवस कार्यक्रमकाे बरिस्ठ शाखाअधिकृत गंगाधर पाण्डेकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *