काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच मुलुकको औद्योगिक विकासका लागि वैज्ञानिककाे सहकार्य गर्ने विषयमा छलफल नास्ट र महासंघ बीच भएको छ । वैज्ञानिक सहकार्य सम्वन्धि छलफलमा नास्टका तर्फबाट महासङ्घसँग सहकार्यका लागि विभिन्न अनुसन्धान तथा विकास, प्रविधि,नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधि शोधवृत्ति, छात्रवृत्ति, अनुसन्धान गर्नका लागि अनुदानमा सहकार्य गर्ने प्रस्ताव पेश भएको छ ।
नास्टका उपकुलपति प्राध्यापक डा.दिलीप सुब्बा एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बीच अनुदान एवं सहकार्यका विभिन्न क्षेत्रबारे छलफल भएको हो । नास्टले महासङ्घसँग गरेको प्रस्तावमा नवप्रवर्तन वृत्ति,युवा वैज्ञानिकलाई अनुसन्धान सहयोग, ब्रेन पुलिङ, स्नातकोत्तर शोध अनुदान, वैज्ञानिक सङ्घसंस्था आर्थिक सहयोग, वैज्ञानिक यात्रा अनुदान, विद्धतवृत्ति जस्ता कार्यक्रम सञ्चालन गर्नमा औद्योगिक क्षेत्रले आर्थिक योगदान मार्फत साझेदारको भूमिका निर्वाह गर्न सक्ने विषयहरू रहेका छन् ।यस्तै उद्योग क्षेत्रबाट इच्छा गरिएका विषयहरूमा उद्योगको प्रायोजनमा नास्टबाट अनुसन्धान तथा विकासका परियोजना सञ्चालन गर्न सकिने, अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना र सञ्चालनमा साझेदारी तथा नवप्रर्वतन लगायत विषयमा नास्टले सहकार्यका लागि नेपाल उद्योग वाणिज्य महासंघसंग प्रस्ताव गरेको छ ।