संशोधित विनियोजन ऐन तथा न्यायिक प्रतिवेदन पारित गर्दै सम्पन्न : तानसेन नगरसभा

पाल्पा, तानसेन नगरपालिकाकाे १६ औँ नगर अधिवेशन तथा नगर सभाले विभिन्न ऐनहरू संशोधन पारित गर्दै प्रतिवेदन सहित नगर सभा सम्पन्न गरेको छ। नेपालको संविधान अनुसार संघीय व्यवस्था अनुरुपकाे संसदीय अभ्यास सहित तानसेनले १६ औँ नगर अधिवेशन तथा नगर सभा सम्पन्न गरेको हो। नगर सरकारकाे हिउँदे अधिवेशनको रुपमा हेरिने नगर सभाले विभिन्न विनियोजन ऐन – २०८१ (संशोधन विधेयक) र न्यायिक समितिको प्रतिवेदनलाई सर्वसहमत रुपमा पारित गरेको छ ।

तानसेन नगरपालिकाकाे १६ औँ नगरफसभामा नगर-उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले छलफलका लागि नगर सभामा प्रस्तुत गर्नुभएको संशोधन विधेयक र न्यायिक समितिको प्रतिवेदनलाई नगर सभाका सदस्यहरूबाट आ-आफ्नो दृष्टिकोण सहितको विचार राख्नुहुँदै प्रस्तुत प्रस्ताव सर्वसहमत रुपमा पारित भएको नगर प्रमुख एवं सभाका अध्यक्ष सन्तोषलाल श्रेष्ठले पारित भएको घोषणा गर्नुभयो । सभाअध्यक्ष एवं नगरप्रमृुख श्रेष्ठले पारित भएको संशोधन विधेयकमा आर्थिक वर्ष२०८१/०८२ को लागि नगर कार्यपालिका, वडा कार्यालय, विषयगत शाखाले गर्ने सेवा तथा कार्यका निम्ति अनुसूची –१ मा उल्लेखित चालु खर्च, पूँजीगत खर्च र वित्तिय व्यवस्थापनको रकम समेत गरि १अरब ५३ करोड ६ लाख ७८ हजार ६ सय २४ रुपैयाँमा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने उल्लेख गर्नुभयो ।

त्यस्तै १६ औँ नगरसभा हिउँदे अधिवेशनमा नगरउप-प्रमुख एवं न्यायिक समिति संयोजक सिंजालीले यस ६ महिनाको अवधिमा न्यायिक समितिबाट सम्पादन भएको काम कर्तव्य र गतिविधि समावेश विषय न्यायिक समितिको प्रतिवेदन नगर सभामा प्रस्ताव पेस गरेकोमा सभाबाट सर्वसम्मत रुपमा पारित भएको थियोे ।१६औँ नगर सभा तथा हिउँदे अधिवेशनमा नगर सभा सदस्य माधव बस्यालले संशोधन विधेयक र न्यायिक समितिको प्रतिवेदन माथि टिप्पणी एवं सुझाव सहितको धारणा राख्नुभएको थियाे । उहाँले प्रस्ताव गरिएको संशोधन विधेयकमा आफ्ना वडाका कुनै पनि कार्यक्रमहरू नपरेको भन्दै गुनासो गर्दै न्यायिक समितिको प्रतिवेदन उत्कृष्ट भएको तर सडक दुर्दशाका कारण आम जनताले पाएको अन्यायमा न्याय नपाएको धारणा नगर सभामा बताउँनुभयाे। ।

सभामा नगर सभा सदस्य धनकुमारी विष्टले तानसेन–१० मा गणेशको मूर्ति बेवारिसे अवस्थामा राखिएको प्रति गुनासो गर्नुभयो । उहाँले सभामा मुर्तिको व्यवस्थापन गर्नुपर्ने र चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट समेत कटौती गर्नुभएको भन्दै याे राम्रो नभएको बताउँनुभयाे । सभा सदस्य विष्टले भन्नुभयाे ‘मूर्ति व्यवस्थापन नगर्ने भए किन स्थानीयबाट पैसा उठाउन लगाइयो ?, सभामा प्रश्न गर्दै तानसेनमा राखिएको मुर्ति किन तेल्घा लगियो ?, व्यवस्थापन कहिले गर्ने हो ?, भन्दै जनताले माग गरेका याेजना किन छुट्याइएको बजेट कटौती किन गरियो ?, अब जनतालाई हामीले के भन्ने ?’ गुनासो सहित धारणा राख्नुभएको हाे ।

नगर सभामा सदस्य माधव बस्यालले तानसेन पर्यटकीय स्थल भनिएको छ तर यहाँ अहिलेसम्म कुनै पनि क्षेत्रमा डिजिटल गेट बनाउन नसकिएको बताउँनुभयाे । उहाँले माण्डव्य सरोवरको उचित प्रयोग गरी आर्थिक विकास गर्ने दिशामा ध्यान दिन नगर सभामा धारणा राख्दै आग्रह गर्नुभयाे । नगर सभाका सदस्यहरुले सभामा आ-आफ्नो विचार सहित राखेका जिज्ञासाहरुको जवाफ दिर्दै सभाका अध्यक्ष एवं नगर प्रमुख सन्तोषलाल श्रेष्ठले गणेशमूर्ति व्यवस्थापन र कानुनी जटिलता,आर्थिक अस्पष्टता रहेकाले थप अनुसन्धान गरेर मात्र मूर्ति व्यवस्थापन गर्ने बताउँदै उहाँले उक्त बजेट कटौती गरिएको बताउँनुभयाे । नगर प्रमुख श्रेष्ठले पहिले जनताका अत्यावश्यक आवश्यकता परिपूर्ति गरेर मात्र डिजिटल गेटकाे परिकल्पना एवं बनाउने सकिने कुरामा उल्लेख गर्नुभयाे । १६ औँ नगर सभा हिउँदे अधिवेशनकाे नगरप्रमुख श्रेष्ठको अध्यक्षतामा अधिकृत भरत आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *