-विवेक ज्ञवाली
सुजित मैनालीद्वारा लिखित ‘सती (इतिहास र मीमांसा)’ नेपाली समाजमा उन्मूलनपूर्व विद्यमान सतीप्रथाको अन्तर्य बुझ्न अति महत्त्वपूर्ण छ । यस पुस्तकमा सतीप्रथाको उद्भव, उदयदेखि उन्मूलनसम्मका विविध घटनाक्रमलाई प्रस्तुत गरिएको छ । यसमा विभिन्न समाजशास्त्री, अध्येता, अनुसन्धाता, लेखक तथा अन्य विशिष्ट व्यक्तित्वहरूको मतलाई अनुमोदन वा खण्डन गरी ठोस निष्कर्ष पेश गरिएको छ । आठ अध्यायमा सिमित यस पुस्तकमा सतीप्रथालाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । किंवदन्ती, अनुश्रुति र अभिलेखका आधारमा प्राचीन कालमा चलेको यस कुकृत्यलाई कसरी नारीमाथि दमन गर्ने अस्त्रका रूपमा प्रयोग गरिएको थियो भन्ने कुरा पनि देखाउन खोजिएको छ ।
कथावस्तु:
सतीप्रथा पुरुषप्रधान समाजले रचना गरेको क्रुरतम् अस्त्र हो जसले पत्नीलाई आफ्ना पतिप्रति निष्ठावती बन्न प्रेरित गर्छ । स्त्रीहरूलाई कठोर अनुशासनमा बाँध्न र पतिको मृत्युपश्चात उनीहरूलाई परपुरुषगामिनी बन्न रोक्नकै लागि पतिको शवसँग दग्ध गरिन्थ्यो । सतीप्रथा संस्थागत हुनुमा छिमेकी राज्यहरूको प्रभाव पनि उत्तिकै थियो । सतीप्रथालाई राजघरानामा सत्ता प्राप्तिको माध्यम पनि बनाइयो । राजाको मृत्युपछि शासनसत्ता उनकी रानीहरूको हातमा नजाओस् भन्नकै लागि पनि उनीहरूलाई सती पठाइन्थ्यो । राजपरिवारमा चलाइएको सतीप्रथाको चलन कालान्तरमा जनसमुदायमा पनि उत्तिकै प्रचलित हुन पुग्यो र पछि सती पठाउनुलाई वैभवका रूपमा समेत हेर्न थालियो । मृतक राजा भए उनकी रानीहरूलाई मात्रै ‘सती’ भनेर प्रतिबिम्बित भएको पाइन्छ, तर त्यसो होइन ! उनका शवसँग दग्ध हुने वा गरिने सबै ‘सती’ कहलिन्छन् । राजाकी सेविका(कमारी)हरूलाई पनि सति पठाइन्थ्यो । सती जानू स्वेच्छा हो या वाध्यता भन्ने प्रसङ्गमा पनि मत–मतान्तर भइरहन्छ तर स्वेच्छाले चितारोहण गरेका भनिएका सतीहरू पनि समाजमा स्थापित मूल्य–मान्यता, धर्म र संस्कृतिको साङ्लोले बाँधिएका हुन्थे त्यसैले यस प्रथालाई ‘सांस्कृतिक हत्या’को संज्ञा दिइएको छ । विभिन्न कालखण्डमा सतीप्रथालाई निरुत्साह गर्नका लागि नियम–कानून बनाइए र त्यसैको फलस्वरूप वि.स. १९७७ मा चन्द्र शमशेरले यस प्रथालाई उन्मूलन गरे ।
निष्कर्ष:
सतीप्रथाले नारीहरूमाथि पुर्खौँदेखि भइरहेको शोषण बारे चित्रण गर्दछ । सतिप्रथा जस्ता अनेकौँ प्रथाहरू नेपाली समाजमा अझै पनि स्थापित छन् । यस पुस्तकले सतिप्रथाका माध्यमबाट पाठकहरूसमक्ष समाजमा स्थापित कुकृत्यहरूलाई निर्मूल पार्न पनि आह्वान गर्दछ ।