समुदायसंग सहकार्य सुदृढ बनाउन सामुदायिक प्रहरी बीच साझेदारी कार्यक्रम सम्पन्न

पाल्पा, शान्तिपूर्ण, सुरक्षित र सहिष्णु समाज निर्माणमा प्रहरी र समुदायबीचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले पाल्पामा सामुदायिक प्रहरी बीच साझेदारी कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरी सहित निस्किएको कार्यक्रम कोणसभा गरेर सम्पन्न भएको थियो । पाल्पा मेट्रोसिटी हस्पिटल, होराइजन डेन्टल क्लिनिक, रामतुलसी नमूना माध्यमिक विद्यालय सहित विभिन्न संघसंस्थाको सक्रिय सहभागिता रहेको कार्यक्रममा समुदायमा सुरक्षाको अनुभूति दिलाउने विषयमा गहन रूपले छलफल गरिएको थियो ।

कोण सभा कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले प्रमुख अतिथी रहनु भएको हो ।कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सभाका सदस्य श्रेष्ठले बोल्दै “सुरक्षित समाज निर्माण प्रहरीको मात्र दायित्व होइन,यसमा हामी सबैको सहकार्य र सहभागिता जरुरी छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमले नागरिक र सुरक्षाकर्मी बीचको सम्बन्धलाई अझ बलियो बनाउँछ” उहाँले भन्नूभयाे ।

कार्यक्रमका विशेष वक्ता प्रहरी निरीक्षक रामबहादुर नेपालीले महिला हिंसा,आत्महत्या,लागूपदार्थ दुरुपयोग लगायत विषयमा कानुनी जानकारी प्रस्तुत गर्दै भन्नुभयो । “नेपालको संविधान र लागू कानुनहरूले महिला हिंसा,घरेलु हिंसा,जबरजस्ती करणी,यौन दुव्र्यवहार लगायतका अपराधलाई गम्भीर रूपमा लिएको छ। घरेलु हिंसा (अपराध तथा सजाय) ऐन,२०६६ अनुसार पीडित महिलाले नजिकको प्रहरी कार्यालयमा उजुरी दिन सक्नेछन् र पीडकलाई कानुनी कारबाही गरिन्छ।” उहाँले आत्महत्याका घटनाहरूका पछाडि लुकेका मानसिक स्वास्थ्यका समस्याहरू, पारिवारिक दबाब, सामाजिक उपेक्षा जस्ता पक्षहरू बारेमा चर्चा गर्दै त्यस किसिमको समस्या हुनेले समयमै परामर्शका साथै सहयोगकाे आवश्यकता समेत रहने औँल्याउनुभयो । साथै लागूपदार्थ सम्बन्धि (नियन्त्रण) ऐन, २०३३ को व्यवस्था उल्लेख गर्दै लागू पदार्थ ओसारपसार, सेवन वा व्यापारमा संलग्न हुनेलाई पाँच वर्षदेखि आजीवन सम्मको कैद सजाय हुन सक्ने जानकारी दिनुभयो ।“प्रहरीलाई सधैं सजग राख्न र समाजलाई सुरक्षाको अनुभूति गराउन समुदायको सहयोग र सूचनाको आदानप्रदान अनिवार्य छ। अपराध नियन्त्रणको मूल चाबी सचेत नागरिक हुन्,” प्रहरी निरीक्षक नेपालीले थप बताउँनुभयो।कार्यक्रम प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठकाे सञ्चालनमा सम्पन्न भएको थियो।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *