पाल्पा, तानसेन आफैँमा सुन्दर एवं मनमोहक ठाउँ हाे जुन ठाउँले धेरै प्रतिभाहरु जन्माएको छ । यसै प्रसङ्गमा पाल्पाली माटोले जन्माएको एक कुशल प्रशासक, साहित्यकार, गीतकार हुनुहुन्छ डा.दामोदर रेग्मी । उहाँसंग रहेर धेरै गायक गायिकाहरू एवं संगीतकारले स्वदेश र विदेश भित्र धेरै ख्याति कमाउन सफल हुनुभएकाे छ । डा.रेग्मीसंग गीत संगीतको बारेमा कुरा गर्ने हो भने उहाँसंगै नारायण रायमाझी तथा बद्री पंगेनी लगाएत थुप्रै अग्रज अनुज व्यक्तित्वहरूले पाल्पाको नाम उज्ज्वल गराउन सफल हुनुहुन्छ ।
वरिष्ठ प्रशासनविद् एवं नवोदित गीतकार डा.रेग्मी संभावना बाेकेर गीतकारको रुपमा उदाउनु भएको छ। उहाँद्वारा लिखित थुप्रै गीतहरूकाे रेकर्डिङ सहित लेखेका गीत बजारमा चर्चामा रहेका छन् । सिरेटोले छुदै छुन्न गीति संग्रह लगायतका उहाँको कैयन गीतहरुको स्वरांकन र म्यूजिक भिडियो सार्वजनिक भए पछि उहाँअहिले नेपाली संगीतमा एउटा आशालाग्दाे गीतकारको रुपमा सु-प्रसिद्ध हुनुहुन्छ। पछिल्लो समय गीत संगीतकाे क्षेत्रमा निकै व्यस्त रहनुभएका उहाँ अहिले निकै व्यस्त रहनुभएकाे छ ।
उहाँको गीत संगीतलाई सुन्दा, हेर्दा उहाँ मूलत: सकारात्मक सोँच सहित सन्देश दिएको र गीतहरुलाई मर्मस्पर्शी शब्द भाव रहेको कारणले पनि चर्चा हुने गरेको छ। डा.रेग्मीका हरेक शब्दमा नयाँ खाेज र सन्देशले लोकप्रिय गायक गायिका र संगीतकार संगको सहकार्य नै उहाँद्वारा रचना गरिएका गीतका विशेषताहरु हुन् । उहाँले शब्द रचना गर्नुभएको गीत ख्याति प्राप्त एवं लोकप्रिय कलाकारहरूकाे रुचिमा पर्दछन् । उहाँको गीतमा आनन्द कार्की मुरलीधर, आनि छोइंग डोल्मा, प्रताप दास, अनु चौधरी, सुरेश लामा जस्ता लोकप्रिय गायक गायिकाले स्वर दिइसक्नुभएको छ भने किरण कंडेल, डि.वि लामा, किर्ती न्यौपाने, वि.पि वाग्ले जस्ता लोकप्रिय संगीतकारको साथ डा. रेग्मीले पाउँनुभएकाे छ । गीत लेख्ने काम कसरी सुरु गर्नुभयो भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, “तानसेनको सेन माध्यमिक विद्यालय पढ्दा नियमित रुपमा हुने अतिरिक्त क्रियाकलापहरुमा भाग लिने जाँगर तथा साहित्यिक सहभागीताले लेखन कार्यतर्फ प्रेरित गर्याे र त्यहीँबाट मेरो लागि लेख्ने यात्रा सुरु भयो ।”
नियमित हुने क्रियाकलाप बाट सुरु भएको लेखन कार्यले भविष्यमा कुनै साहित्यकार तथा गीतकार कवि वा लेखक बनाैला भन्ने कुनै पूर्व निर्धारित उद्देश्य पनि थिएन र साेही अनुसारकाे लेख्ने कार्य गरिएको पनि थिएन । पछि कुनै घटना विशेषले गीत लेख्न प्रेरित भइयो यसै क्रममा केही गीतहरु समेटेर सिरेटोले छुदै छुन्न नामक गीति संग्रह पनि तयार हुन पुग्यो उहाँ बताउँहुन्छ । उहाँका गीतहरु सकारात्मक सोँच धारमा वहेको देखिन्छ यसको कारण बुझ्ने क्रममा उहाँ बताउँनुहुन्छ रचनाहरु जुनसुकै हुन् ती रचनाहरूले समाजका सकारात्मक सन्देशहरू प्रवाह गर्न सक्नु पर्दछ भन्नुभयो । “मैले लेख्ने गरेका प्रशासन तथा व्यवस्थापनका सयौँ लेखहरुमा यो प्रवृत्तिलाई समाउने प्रयास गरेको छु । यो धार मैले लेखेका गीतहरुमा पनि प्रतिवम्वित भैरेहेको बताउँदै उहाँले यसको पृष्ठपोषण पाठक, श्रोता र दर्शकबाट प्राप्त गर्ने गरेको छु।” उहाँले भन्नुभयो । मेरो गीति संग्रह सिरेटोले छुदैछुन्न गीति संग्रहमा रहेका अधिकांश शब्द र गीतहरु यहि धारमा रहेका छन् । यही कारणले गर्दा हाेला गायक गायिका र संगीतकारले गीत रुचाएर गाउने र संगीत दिने गर्नुभएको उहाँले कुराकानीमा भन्नुभयो । साथै श्रोता दर्शकबाट पनि यी गीतहरु अत्यधिक रुचाउने गरेको भेटिन्छ, सकारात्मक प्रतिक्रिया दिइरहनु भएको छ यस कारणले पनि यसै धारलाई निरन्तरता दिने उत्प्रेरणा मिलेको उहाँ बताउँनुहुन्छ ।
कुराकानी थप भन्नुहुन्छ, “आम मानिसहरु जस्तै गीतकारहरु पनि यहीँ समाजका व्यक्ति हुन्,समाजमा विभिन्न किसिमका घटिरहेका घटनाहरूले उहाँहरु पनि उत्तिकै प्रभावित हुन्छ पुग्छन्। ती घटित घटनाको विषयबस्तु उहाँहरुको लेखनको मूल श्रोत नै सामजिक परिवेश र सो परिवेश भित्रका पर्यावरणहरु हुन्।” लेखक कहिले पनि सामाजिक परिवेश र पृष्ठभूमिबाट बाहिर जानै सक्दैन । ती परिवेशहरुमा केही आकर्षकपना, नयाँपना सिर्जनशीलता र साजसज्जा थपेर पाठक श्रोता तथा दर्शकको मन आकर्षित गर्ने क्षमता सर्जकहरुमा भने पक्कै हुन्छ । गीत वा कुनै रचना सामाजिक परिवेशलाई शव्दमा रुपान्तरण गर्ने कला मात्र होइन यसले सामजिक जीवनका पक्षलाई समेत कल्पनाको आकर्षक आवरणमा प्रस्तुत गरिदिन्छ ।
गीतकारहरु कहिलेकाहीँ त्यो कथाको पात्र मै हुँ कि भन्ने अनुभूतिका साथ गीत सिर्जना गर्ने गर्दछन् । कथाको पात्रको रुपमा आफूलाई उभ्याएको हुन्छन् साेही आधारमा रहेर गीत वा कविता सिर्जना गरियो भने त्यो रचना बढी वास्तविकतामा आधारित हुन्छ । उहाँको शब्द रहेको ‘अलिकति हाँस्नु तिमी अलिकति म हाँसुला‘, ‘बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुँला’ बोल रहेको गीत अति नै चर्चित रहेका गीतहरू हुन । यसमा नेपाल आइडल बाट चर्चित प्रताप दास र नेपालकी अल्काइ याग्निकको नामबाट परिचित रहनुभएकी अनु चौधरीको स्वर रहेको र संगीतकार डि. वि. लामा रहेका छन् । रामहरि खड्का र सृष्टि खड्काको सुन्दर अभिनय र नितिन चन्दको निर्देशनले म्यूजिक भिडियो धेरै राम्रो बनेको उहाँ इ-उत्तरदायित्व डटकमसंगकाे कुराकानीमा डा.रेग्मी बताउँनुहुन्छ ।
यसै गरि उहाँले रचना गरेको एउटा गीतको शीर्षक जिन्दगीको पाठशालाले धेरै पढायो शब्दको गीत पनि धेरै चर्चित रहेको छ। यो गीतले पनि सकारात्मक सोँच र आशावादिताको सन्देश दिएको छ। गीतको शब्द भावलाई न्याय गर्नलाई आनि छोइंग डोल्माबाट स्वरांकन गराएको उहाँ बताउँनुहुन्छ । यस गीतमा किर्ती न्यौपानेको संगीत रहेको छ भने वरिष्ठ कलाकार मिथिला शर्माको अभिनय र कृष्णदेव रुपाखेतीको निर्देशन रहेको छ ।
“एक अञ्जुली मायाको उपहार छरिदेउ, त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ अबोध निश्चल त्यो नयनमा समाइदेउ, फूलैफूलको बाटिकामा प्रेमवर्षा गराइदेउ” बोलको गीतले रेकर्डिंग हुने पहिलो सौभाग्य पाएको थियो उहाँ बताउँनुहुन्छ । यस गीतमा गायक आनन्द कार्कीको स्वर र वरिष्ठ संगीतकार किरण कडेलको सुमधुर संगीतले साथ पाएको छ । यसको म्यूजिक भिडियोमा दीपेन्द्र खत्री र सोनु ढुंगाना तथा गायक स्वयम् आनन्द कार्कीको सुन्दर अभिनय रहेको उहाँ बताउँनुहुन्छ । सेलिब्रेटी संगीतकार गायक गायिका एवं कलाकारहरूसंगकाे सहकार्य गर्नुभएको पाल्पाली गीतकार डा. दामोदर रेग्मी गायन, संगीत र अभिनय क्षेत्रमा नाम कमाएका मुरलीधर संग सहकार्य गरेको समेत गीतकार डा. दामोदर रेग्मी बताउँनुहुन्छ। मुरलीधर नेपाल आउँदा जहिले पनि केही गीत गाएरै जाने गर्नुहुन्छ उहाँले मरो शब्दमा समेत गीत गाउने चाहना गर्नुभयो अनि मैले मेरा सिर्जनाहरू पूरै गीतिसंग्रह उहाँलाई थमाए उहाँ त त्यहि नै मेरा गीत हेर्दै गुन्गुनाउन पो थाल्नु भयो, केही दिन भित्र मुरलीधरले दुइ तीन वटा गीतको डमि तयार गर्नुभयो । “मेरो गीति संग्रहको नाम पनि यसै गीतबाट रहेकोले यो गीत मुरलीधर जस्तो लोकप्रिय संगीतकार र गायकले गाइदिनुपर्छ भन्ने मेरो भनाइमा उहाँ सहमत हुदै गीत साह्रै नै कर्णप्रिय बन्यो मुरलीधरले एउटा राम्रो संगीत र स्वर तयार गरिदिनु भयो । गीत सार्वजनिक भएपछि सकारात्मक प्रतिक्रियाहरु आउन थाले । यसरी मुरलीधरसंग मेरो सहकार्य हुन पुग्यो” डा.रेग्मी भन्नुहुन्छ ।
त्यस्तै उहाँको अर्को सहकार्य कोकिलकण्ठी गायिका समीक्षा अधिकारीसंग पनि भएको छ । उहाँको शब्द, डि.वी लामाको संगीतमा “डाँडापारी घाम डुव्यो तिमी किन आएनौ, चराहरु बास बसिसके तिमी अझै आएनौ” बोलको गीतमा समीक्षा अधिकारीको स्वरमा आउन सफल भएको छ । डि. वि. लामाको संगीतमा सुरेश लामा र दीपाको यो मनको चाहना बोलको गीत आइसकेको छ जसको म्यूजिक भिडियोमा प्रभात पाल ठकुरी र अप्सना बलामीको सुन्दर अभिनय रहेको छ ।
यसै गरि उनको शव्दमा चर्चित संगीतकार वि. पि. वाग्लेले समेत संगीत दिएका छन् वाग्ले संगको सहकार्यमा डा.रेग्मीको देशप्रेममा आधारित बालगीत आएको छ । अहिले उहाँ आफ्नो गीतहरुको अडियो संग्रह इन्द्रेणी ल्याउने तरखरमा रहनुभएकाे छ । तिहारको आसपासमा गीतहरुको अडियो संग्रह इन्द्रेणी आउने कुरा उहाँले कुराकानीमा भन्नुभयो ।
यसै गरि आनि छोइंग डोल्माको स्वर एवं मिथिला शर्माद्वारा अभिनय रहेको जिन्दगीको पाठशालाको धेरै पढायो बोलको चर्चित गीतको म्यूजिक भिडियो समेत शीघ्र सार्वजनिक हुने क्रममा रहेको उहाँ कुराकानीमा बताउँनुहुन्छ । धरै चर्चित र लोकप्रिय गायक गायिका र संगीतकार तथा कलाकारहरुसंग सहकार्य गरेका गीतकार डा.रेग्मीको बारेमा ती गायक गायिका र संगीतकार तथा कलाकारहरुको अनुभूति पनि सकारात्मक रहेको पाईन्छ ।
गायन संगीत र अभिनय क्षेत्रका कुशल प्रतिभा मुरलीधर गीतकार डा. दामोदर रेग्मीको गीति संग्रहको मूल शीर्षक सिरेटोले छुदै छुन्नमा आफ्नो संगीत र स्वर रहेको रहन पाउनु र प्रशासकको सफल भूमिका निर्वाह गर्दै गीत संगीतको क्षेत्रलाई समृद्ध बनाउने कर्ममा होमिनु भएका डा.रेग्मी संगको सहकार्य एउटा राम्रो अनुभूतिमा रुपान्तरण भएको समेत मुरलीधर बताउँनुहुन्छ। डा.रेग्मी एक कुशल प्रशासनविद एवं सिद्धहस्त गीतकार रहेको उहाँ भन्नुहुन्छ । एक कुशल तथा चर्चित प्रशासनविद तथा गीतकार डा. दामोदर रेग्मीको पहिलो गीत स्वरांकन गर्ने अपूर्व अवसर पाउनु खुशीको कुरा रहेको कुरा वरिष्ठ गायक आनन्द कार्की बताउँनुहुन्छ । गीतकार डा.रेग्मीका गीतहरु शब्द चयनका दृष्टिले अब्बल का छन्, लोकप्रिय गायक उहाँको अनुभूतिलाई यसरी बताउँनुहुन्छ । गीतकार डा. रेग्मीको शब्द रहेको जिन्दगीको पाठशालाले धेरै पढायो बोलको गीतकी गायिका आनि छोइंग डोल्मा गीतका शब्द र भाव वाट प्रभावित भएर सो गीत गाएको र यो गीत मेरो अर्को गीत फूलको आँखामा फूलै संसार जस्तै पूर्ण रुपमा सकारात्मक सोँचमा रहेको बताउँनुहुन्छ ।
कुशल प्रशासनविद् र ऊर्जा जगाउने र सकारात्मक सोँचको अति राम्रो गीत लेख्नु भएको छ गीतकार डा. रेग्मीका सबै गीतहरु अति नै सुन्दर रहेका छन्, गायिका आनि छोइंग डोल्मा बताउँनुहुन्छ । यसै गरि यस गीतमा अभिनय गरेकी कलाकार मिथिला शर्मा पनि गीतका शब्द अति मर्मस्पर्सी भएको र सकारात्मक रुपमा जीवन जिउँन प्रेरणा दिने भएकोले यसमा अभिनय गर्न पाउनु खुशीको कुरा रहेको उहाँ बताउँनुहुन्छ । कुशल प्रशासनविद् ,वरिष्ठ गीतकार डा.रेग्मीकाे याे सिर्जना अति नै राम्रो र सुन्दर रहेको छ कलाकार शर्मा बताउँनुहुन्छ । यस गीतका भिडियो निर्देशक कृष्णदेव रुपाखेती यस्तो गीत एक जुगमा एक पटक आउँछ यसको जन्मदाता गीतकार डा.दामोदर रेग्मी, गायिका आनि छोइंग डोल्मा, संगीतकार किर्ति न्यौपाने र कलाकार मिथिला शर्मा संगको सहकार्यवाट इतिहास रच्ने अवसर प्राप्त भएको उहाँहरू बताउँनुहुन्छ ।
यसै गरि अर्का लोकप्रिय संगीतकार किर्ति न्यौपाने कम गीत स्वरांकन भएपनि ती गीतहरुको गुणस्तरको कारणले वढी चर्चा पाउन गीतकार डा.रेग्मी सफल हुनु भएको छ यस्तो सिर्जनशील गीतकारसंग सहकार्य गर्न पाउनु एउटा राम्रो अवसर भएको संगीतकार किर्ति न्यौपाने बताउँनुहुन्छ। उहाँ नेपाली गीत संगीत क्षेत्रका आशालाग्दो गीतकार हुनुहुन्छ संगीतकार किर्ति न्यौपाने कुराकानीमा भन्नुभयो । गीतकार डा.दामोदर रेग्मीको गीतहरु शव्द चयनका दृष्टिले अति मार्मिक रहेका छन् एकल र युगल गायन दुवै प्रकारका गीतका शब्दहरुमा उहाँको अति नै दख्खल रहेको र उहाँका शब्दमा संगीत दिदा आफूलाई आनन्द लाग्ने गरेको संगीतकार डि. वि. लामा बताउँनुहुन्छ । आनन्द कार्कीको स्वर रहेको एक अञ्जुली मायाको उपहार छरिदेउ गीतका संगीतकार किरण कडेल गीतकार डा.रेग्मीको गीतका शव्दहरु उत्कृष्ट रहेको बताउँनुहुन्छ। यसै गीतमा अभिनय दिएका दीपेन्द्र खत्री एक अञ्जुली मायको उपहार छरिदेउ गीतको भिडियो छायांकन गर्नु पूर्व उक्त गीतका भावलाई न्याय गर्ने गरि गीतका शव्द एवं भाव बुझ्न मेरै प्रयास गरेको र गीतका शव्द र भाव उत्कृष्ट रहेको बताउँनुहुन्छ ।निर्देशक सियोन श्रेष्ठको पनि डा. रेग्मीका गीतका शब्द र भाव उत्कृष्ट रहेको बताउँदै उहाँ यो मनको चाहना गीतका कलाकार प्रभात पाल ठकुरी र अप्सना वलामी तथा निर्देशक उत्तम श्रेष्ठ सिसिर गीतकार डा. दामोदर रेग्मीका शव्द अनुरुपको छायांकन र अभिनयको लागि पोखराको मनमोहक स्थान छनौट गरिएको बताउनुभयो । उहाँको गीतका शव्दहरु अति नै भावपरक रहेको उहाँहरुको भनाइ रहेको छ । गीतकार डा.दामोदर रेग्मीको ‘अलिकति हांस्नु तिमी अलिकति म हांसुला’ बोलको गीतमा अभिनय गरेका कलाकार रामहरि खड्का गीतकार डा.दामोदर रेग्मीका सबै गीतहरु अति नै राम्रा रहेका छन् त्यसमध्ये ‘अलिकति हांस्नु तिमी अलिकति म हांसुला’ बोलको गीत सबै दृष्टिले अव्वल छ यसमा मैले अभिनय गर्न पाउनु खुशीको कुरा हो भन्दछन् । गीतमा अभिनय गरेकी सृष्टि खड्का, गायक प्रताप दास र गायिका अनु चौधरी ‘अलिकति हांस्नु तिमी अलिकति म हांसुला’ बोलको गीतका शब्दहरु अति नै मर्मस्पर्शी छन् र गीत अति नै सुन्दर बनेको कुरा बताउँनुहुन्छ ।
गीत संगीतको क्षेत्रमा पाइला चालेका पाल्पाली गीतकारको कलम अझै सक्रिय र चलायमान बन्दै जाने नै छ । गीत संगीतमा रहेको नयां आवद्धतासंगै नेपाली संस्कृतिको उन्नयन पाल्पा तथा पाल्पालीहरूकाे गरिमा बृद्धि गर्नमा उहाँको भूमिका प्रभावकारी बन्दै जानेछ यो पाल्पालीकाे अपेक्षा रहेको छ। (डा. दामोदर रेग्मीसंगको कुराकानीमा आधारित सामग्री)