सुर्तीजन्य पदार्थ प्रयोगमा न्यूनिकरणका लागि पूर्वखोलाकाे ११बुँदे प्रतिवद्धता जारी

पाल्पा, पूर्वखाेला गाउँपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न एघार बुँदे प्रतिवद्धता जारी गरेको छ । गाउँपालिकाले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्ने सम्वन्धी आफ्नै ऐन बनाउने पालिकामा देशकै पहिलो गाउँपालिका भएको हाे। पूर्वखोलाले सञ्जीवनी हेल्थ मिडियाको समन्वयमा भएको अन्तक्रिर्या पछि ११ बुँदे प्रतिवद्धता-पत्र जारी गरेको हो ।

सुर्तीजन्य पदार्थको कारणले लाग्ने कडा रोगको प्रकोप गाउँमा पनि भयावह रुपमा बढ्न थाल्यो । दैनिक जसो नै संघीय सरकारले दिने उपचार सहुलियत रकमका लागि निवेदन आउन थालेपछि हामीले सिफारिस गर्ने क्रम बढ्न थाल्यो अनि सिफारिसका लागि गरिने गाउँपालिकाकाे बैठक तथा त्यसपछि गरिने हस्ताक्षरले आफैमा पिडा दिन्थ्यो । कडा रोगबाट गाउँका भर्खरका युवा अनि प्रौडहरु प्रताडित हुँदै जाने, गाउँपालिकाबाट हामीले सिफारिस मात्रै गर्दै जाने हो भने त अवस्था झन् भयावह नै हुने भयो । त्यसैले यसको बेलैमा न्युनिकरण गर्नका लागि पनि हामीले आफ्नै कानून बनायौँ र यसलाई लागू गर्ने प्रयासमा अघि बढेका छौँ,’ एघार बुँदे प्रतिबद्धता-पत्रमा हस्ताक्षर पछि कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले भन्नुभयाे ।

उहाँले कार्यक्रममा पूर्वखोलाले यसअघि स्वास्थ्यका धेरै वटा इन्डिकेटरमा तोकिएको लक्ष्य पुरा गरेको जानकारी गराउँदै अब सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानून बनेको अब त्यस कानूनलाई कार्यान्वयनमा पनि सफल भएरै छाड्ने उहाँले एघार बुँदे प्रतिबद्धता-पत्रमा हस्ताक्षर गर्दै घोषणा गर्नुभयाे । ‘हामीले २०७६ सालमा जिरो होम डेलिभरी कार्यक्रमकाे घोषणा गर्दा धेरैले सम्भव नहुने कुरा भन्नुभएको थियाे। हामीले त्यसलाई दुई वर्ष भित्रै सफल कार्यान्वयन गरेर देखायौँ । अरु पनि यस्ता कयौं धेरै कार्यक्रम छन् हामीले सत् प्रतिशत नतिजा निकालेका छौँ । अब यसमा पनि हामी अवस्य सफल हुनेछौँ । यसका लागि हामी आज बहुपक्षीय छलफलको आयोजना गरेका हौँ,’ उहाँले भन्नुभयाे।

कार्यक्रममा माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले नसर्ने रोग नियन्त्रणका लागि पूर्वखोला गाउँपालिकाले थालेको प्रयास ७५३ वटै पालिकाहरूका लागि उदाहरणीय एवं अनुकरणीय रहेको भन्दै कार्यान्वयनका लागि सबै पक्षकाे आ- आफ्नो भूमिका महत्वपूर्ण हुने भएकोले सबैले सहयोग गर्नुपर्ने बताउँनुभयाे । नागरिकलाई स्वस्थ राख्न गाउँपालिकाले कानून बनाएर यसको कार्यान्वयनका लागि प्रशासनिक निकायमा पहल गर्छ र यसमा सम्पुर्ण रुपले साथ दिने काम आम नागरिकले गर्नुपर्दछ । यसर्थ पनि सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नैपर्छ‘ कार्यक्रममा उहाँले भन्नुभयाे।

पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराईले पूर्वखोलालाई सुर्तीजन्य पदार्थको कुलतमा कोही नलागुन, भन्ने उद्धेश्य र लागेकाहरुले पनि निस्किउन भनेर नै कानून ल्याइएको भन्दै यसलाई सबैले पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयाे । पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले नयाँ पुस्तालाई धूमपान र सुर्तीजन्य पदार्थको कुलतबाट जोगाउनका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी ऐन जारी गरेको बताउँदै यसलाई कार्यान्वयनमा ल्याउनका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताउँनुभयाे । ‘आज छिमेकीहरूको सन्तान धूमपान तथा सुर्तीजन्य पदार्थको कुलतमा फसे भने भोली आफ्नै सन्तान पनि सोही कुलतमा लाग्न सक्छन् । त्यसैले यसको प्रयोगले नियन्त्रण तथा निषेध गर्न आवश्यक छ, यसलाई व्यवस्थित गर्न कानूनको आवश्यकता हुन्थ्यो । हामीले त्यहि बनाएका हौँ । अब यसलाई सवै मिलेर प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्छ,’ उहाँले भन्नुभयाे।

अन्तक्रिर्या कार्यक्रममा वडाअध्यक्ष, गाउँकार्यपालिका सदस्य, छिमेकी पालिकाका अध्यक्ष, प्रमुख एवं प्रतिनिधिहरु, जिल्ला प्रशासन कार्यालय पाल्पा प्रतिनिधि, ईलाका प्रहरी कार्यालयका प्रमुख र राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, शिक्षक महासंघ, उद्वुद्ध कलेज संगै पूर्वखाेला गाउँपालिकाका सबै माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानध्यापक, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधि, व्यापारी, नागरिक समाज प्रतिनिधि र महिला समूह, विद्यार्थी, सामाजिक संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा स्थानीय युवाहरुको सहभागिता थियो । कार्यक्रममा उपस्थित हुनुभएको सबैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा.भक्त केसी, सूर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी काम गर्ने अग्रणी संस्था एक्सन एड नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले प्रस्तुतिकरण सहितको प्रशिक्षण दिनुभएकाे थियाे ।

सुर्तीजन्य पदार्थ न्यूनीकरण कार्यक्रमकाे प्रस्तुतिकरण गर्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा.भक्त केसीले पूर्वखोला गाउँपालिकाले आफ्नै ऐन बनाउने सम्वभवत देशकै पहिलो गाउँपालिका रहेको बताउँनुभयाे। उहाँले बहुपक्षीय सहभागिताबाट ऐन कार्यान्वयनमा सहजता आउने बताउँनुभयाे । कार्यक्रमकै क्रममा उहाँले संघीय सरकारले बनाएको कानून, कार्यान्वयनकाे अवस्थाका बारेमा प्रस्तुति तथा प्रशिक्षण दिनुभएकाे थियाे ।

कार्यक्रममा अर्का विज्ञ आनन्दबहादुर चन्दले नागरिकलाई सुर्ती रोज्ने कि स्वास्थ्य रोज्ने विषयमा प्रस्तुतिकरण गर्नुहुँदै भन्नुभयाे। गाउँपालिकाले सुर्तीजन्य पदार्थको न्यूनीकरणमा देखाएको सक्रियता र कानून निर्माणको प्रशंसा गर्नुभयाे । उहाँले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी ऐन बनाएर देशकै पहिलो तथा नमूना गाउँपालिका भईसकेकोले यसलाई प्रभावकारी कार्यान्वयनका लागि बहुपक्षीय समन्वयको खाँचो रहेको बताउँनुभयाे । उहाँले पूर्वखोला गाउँपालिकाको याे कदमले अन्य पालिकालाई समेत सिकाई हुने बताउँनुभयाे ।कार्यक्रममा सञ्जीवनी हेल्थ मिडियाका प्रमुख एवं नेपाली हेल्थ डटकमका सम्पादक रामप्रसाद न्यौपानेले नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ रहेकोले यसको नियन्त्रण गर्न स्थानीय निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै बनिसकेको कानूनकाे कार्यान्वयन गर्नमा सबैको साथ आवश्यक रहेको बताउँनुभयाे । उहाँले कानून कार्यान्वयन अघि यसबारेमा जनचेतना फैलाउन पनि आवश्यक रहेको बताउँनुभयाे ।कार्यक्रममा नेकपा (एमाले) का तर्फबाट निलकण्ठ भट्टराई, नेपाली कांग्रेसबाट विष्णुकुमारी आचार्य, नेकपा माओवादी केन्द्रबाट सहभागी भएका भीमबहादुर सारुले सुर्ती नियन्त्रण सम्वन्धी गाउँपालिकाले बनाएको कानून कार्यान्वयनमा सहयोग गर्ने बताउँनुभएकाे थियोे ।

यस्तै गाउँपालिका प्रवक्ता मेहरसिंह थापा, शिक्षक महासंघका अध्यक्ष रमेशचन्द्र न्यौपाने, जिल्ला प्रशासन कार्यालय पाल्पा प्रतिनिधि, ईलाका प्रहरी कार्यालयका प्रतिनिधिले समेत सुर्तीजन्य पदार्थको नियन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता जनाउँनुभएकाे थियाे । यसअघि पूर्वखाेला गाउँपालिकाले नसर्ने रोगको अवस्था बारेमा सचेतता कार्यक्रम गर्दै सुर्तीजन्य पदार्थको प्रयोग यसबाट परेको असरबारे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले कार्यक्रममा प्रस्तुतिकरण दिनुभएकाे थियाे । उहाँले सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर,मुटुरोग,मिर्गौला, मधुमेह,स्वास-प्रश्वास,दम जस्ता कडा रोगहरु सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने गरेको भन्दै यसलाई न्युनिकरण गर्नका लागि गाउँपालिकाले ऐन जारी गरेको बताउँनुभयाे । उहाँले गाउँपालिकाले कानून निर्माण गरेसंगै कार्यान्वयन गर्नका लागि स्वास्थ्य सचेतना कार्यक्रम पनि संगसंगै अघि बढाएकाेले अब याे प्रभावकारी कार्यान्वयन हुने समेत बताउँनुभयाे । उहाँले अन्तरक्रिया कार्यक्रम गर्नुको उदेश्यबारेमा प्रकाश पार्नुभएकाे थियाे।

कार्यक्रममा गाउँपालिकाबाट निर्माण गरिएको सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बनेको ऐन कार्यान्व्यनका लागि कसले कहिले के भूमिका खेल्न सकिन्छ भनेर समूहगत छलफल गरिएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *