नवराज ज्ञवाली पाल्पा, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जिल्ला अस्पताल पाल्पाको निरीक्षण गर्नुभएको छ । पाल्पा अस्पतालबाट हुने सेवाप्रवाह र बिरामीले पाइरहेको सेवा सुविधाबारेमा साेधपुछ गर्नुहुँदै उहाँले अस्पताल प्रशासन अवस्था लगाएत विषयमा जानकारी लिनुहुँदै निरीक्षण गर्नुभएको हो ।पाल्पा अस्पतालकाे निरीक्षणकाे क्रममा स्वास्थ्य मन्त्री सारुले अस्पतालका धेरै विषयहरूमा सुधार भएको बताउँनुहुँदै उहाँले पछिल्लो समय पाल्पा अस्पतालबाट विभिन्न विषयहरू सुधार गरेको बताउँदै अब केही थप सुधार गर्नुपर्ने आवश्यकता समेत रहेको बताउँनुभयो ।
स्वास्थ्य मन्त्री सारूले निरीक्षणकाे क्रममा पाल्पा अस्पतालका बिरामीसंगकाे भेटमा अस्पतालले दिएको सेवा बारेमा जानकारी लिनुहुँदै टिकटमा बस्नुपर्ने लाईन, ल्याब सेवा, डाक्टर नर्सहरूले दिने सेवा, अस्पताल प्रशासनको कार्यसम्पादन, सरसफाई जस्ता बिषयहरूमा प्रतिक्रिया लिनुभएकाे थियोे । उहाँले बिरामीहरूको प्रतिक्रिया लिएसंगै अस्पतालकाे सेवाहरू राम्रो हुँदै गएको अझ केही सुधार गर्नुपर्ने देखिएको बताउँनुभयो । अस्पतालको केही पक्षमा अझै सुधार गर्नुपर्ने देखिएको बताउँदै बिरामीकाे सहज सेवा प्रवाह गर्न व्यवस्थापकीय सुधारमा लाग्नुपर्ने निर्देशन समेत गरेको स्वास्थ्य मन्त्री सारूले बताउँनुभयो ।निरीक्षणमा स्वास्थ्य मन्त्री सारुले अस्पतालको व्यवस्थापन तथा सेवा प्रवाहमा सुधार गर्नका लागि आफूले मन्त्रालयबाट आर्थिक वर्ष २०८१/०८२ काे लागि अस्पताललाई पचास लाख रूपैयाँ बजेट विनियोजन गरेको जानकारी गराउँनुभयो । उहाँले त्यस सम्बन्धमा भईरहेको कामका बारेमा समेत जिज्ञासा राख्नुभएको थियो । पाल्पा अस्पतालबाट अझ धेरै सेवा विस्तार गर्ने अवस्था निर्माण गर्न मन्त्रालयले विशेष योजना बनाएर काम गरिरहेको समेत स्वास्थ्य मन्त्री सारूले बताउँनुभयाे ।
स्वास्थ्य मन्त्री सारुले अस्पतालका बिरामीहरुको अवस्थाका र सेवाकाे बारेमा प्रत्यक्ष जानकारी लिँदै सेवा प्रवाहमा देखिएका कमीकमजोरी जिज्ञासा र गुनासोका बारेमा समेत जानकारी लिनुभएको थियो । पाल्पा अस्पताल विकास समिति अध्यक्ष गुराँस आत्रेयले प्रदेश सरकार स्वास्थ्य मन्त्रालयकाे विनियोजित भइ प्राप्त भएको बजेट रकमले ओपिडी सेवा विस्तार एवं अप्रेसन कक्ष निर्माण गर्ने योजना बनाएको बताउँनुभयो । अस्पताल विकास समिति अध्यक्ष आत्रेयले त्यसका लागि स्टिमेट गर्ने कार्य भईरहेको भन्दै चाँडै नै निर्माण गरिने जानकारी दिनुभयो । उहाँले अस्पतालको श्रोत र साधनको उच्चतम प्रयोग गर्दै गुणस्तरिय सेवा प्रवाहमा अस्पताल विकास समिति लागि परेको स्वास्थ्य मन्त्री सारू समक्ष जानकारी गराउँनुभयाे ।
अध्यक्ष आत्रेयले अस्पतालको सेवा प्रवाह प्रति सर्वसाधारण नागरिकहरुको विस्वास बढ्दै गईरहेको बताउँदै अझ राम्रो गर्ने प्रयास गरिरहेको बताउँनुभयो ।