हुप्सेकोटबाट ३० करोड भन्दा बढीको काँक्रो बिक्री

नवलपुर, नवलपरासी पूर्व हुप्सेकाेट गाउँपालिकाबाट ३० करोड रुपैयाँ बढीको काँक्राे बिक्री भएको छ । हुप्सेकोट गाउँपालिका मात्रै ३० करोड ५० लाख रुपैयाँ बराबरको काँक्रो बिक्री भएको हो । त्यस्तै,नवलपुरकाे कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिका गरेर कुल ३८ करोड रूपैयाँ बराबरको काँक्रो बिक्री भएको हाे ।नवलपुरकाे हुप्सेकाेट र कावासाेतीमा स्थानीय जातको भक्तपुरे काँक्रो खेती राम्रो हुनेहुँदा किसानले दुई सिजनकाे काँक्रो खेती गर्दै आइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय परियोजना कार्यान्वयन इकाई नवलपुर कृषि अधिकृत रणबहादुर महतोले बताउँनुभयाे । उहाँले चालु आर्थिक वर्षको दुई सिजनमा हुप्सकोट गाउँपालिका एवं कावासोती नगरपालिकाका किसानहरूबाट सामूहिक तथा व्यक्तिगत फर्महरूबाट ४ हजार ७६ मेट्रिक टन काँक्रो उत्पादन भएको समेत जानकारी दिनुभयो ।

नवलपुर हुप्सेकाेट, कावासाेती क्षेत्रका १४ वटा कृषि समूह एवं व्यक्तिगत फर्महरूले उत्पादन गरेको काँक्रो बिक्रीबाट कूल ३८ करोड रूपैयाँ बराबरको कारोबार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय परियोजना कार्यान्वयन इकाई नवलपुरका कृषि अधिकृत महतोले जानकारी दिनुभयो । व्यक्तिगत फर्मतर्फ हुप्सेकोट-३ मा रहेको थमन कृषि फर्मले मात्रै ८० लाख रुपैयाँको काँक्रो बिक्री गरेको कृषि अधिकृत महतोले बताउँनुभयो । यस्तै अन्य कृषि समूहमा सबैभन्दा बढी हुप्सेकोट गाउँपालिका-१ मा रहेको सुनौलो महिला कृषक समूहले ८ करोड ५० लाख रूपैयाँको काँक्रो बिक्री गरेको छ भने हुप्सेकोट-१ मा रहेको शक्ति कृषक समूहले ८ करोड र कावासोती-४ मा रहेको हात्तिबुडे कृषक समूहले ६ करोड रूपैयाँ बरारको काँक्रो बिक्री गर्न सफल भएको कृषि अधिकृत महताेले जानकारी दिनुभयो ।

यस वर्ष काँक्रोको राम्रो मूल्य पाएकाे कारण पनि राम्रो आम्दानी भएको कावासोती-४ मा रहेको हात्तिबुडे कृषक समूहका अध्यक्ष छनबहादुर रजालीले बताउँनुभयो । उहाँको समूहमा २८ घरधुरी आवद्ध रहेकाे समेत जानकारी गराउँनुभयाे । उहाँले मात्रै ३ बिगा क्षेत्रफलमा तरकारी खेती गर्दै आउँनुभएको छ । समूहगत कृषि खेतीमा करिब ४० बिगा क्षेत्रफलमा तरकारी खेती गर्दै आएकाे र त्यसमा किसानहरूले बोडी, घिरौँला, खुर्सानी, भिण्डी, घिउ सेमी र टमाटर खेती गर्दै आएकाे उहाँले बताउँनुभयाे । उहाँले तरकारी मध्ये काँक्रो खेती भने बढी हुने गरेको छ भन्नुभयो । सामुदायिक तरकारी खेती सिजन र अपसिजनमा समेत हुने गरेको समूहका किसान रजालीले बताउँनुभयो । उहाँले यस वर्ष काँक्रोको मूल्य राम्रो पाएको समेत बताउँनुभयो । अपसिजनमा प्रतिकेजी एक सय रूपैयाँभन्दा बढीमा बिक्री भएको र सिजनमा प्रति केजी ३५ रूपैयाँसम्म बिक्री हुने गरेको रजालीले बताउँनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई नवलपुरले हुप्सेकाेट गाउँपालिका, कावासोती नगरपालिका मध्यविन्दु नगरपालिकामा तरकारीकाे खेती गर्नका लागि ( सुपरजोन ) कार्यक्रम सञ्चालन गरेको छ । सुपर जोनमा आवद्ध भएका किसान तथा कृषि समूहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले सिँचाइको प्रबन्ध गर्ने, जैविक मल निर्माण र प्रयोगलाई प्रोत्साहन गर्ने, कृषि खेतीमा यान्त्रीकरणमा जोड दिँदै आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नवलपुरले किसानलाई निःशुल्क प्राविधिक सेवा प्रदान गर्ने, उत्पादन भएको कृषि बस्तुलाई बजार प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने काम गर्दै आएको कृषि अधिकृत महतोले जानकारी दिनुभयो । उहाँले नवलपुरमा तरकारी जोन कार्यक्रम लागू भएपछि काँक्रो खेती गर्ने किसानहरूको सङ्ख्यामा समेत वृद्धि भएको उहाँको भनाइ रहेको छ ।

अहिले नवलपुर क्षेत्रमा २२० हेक्टर जमिन क्षेत्रफलमा काँक्रो खेती गरिएको छ । उहाँका अनुसार नवलपुरको हुप्सेकोट एक नम्बर वडामा पर्ने जुकेपानी क्षेत्रमा धेरै काँक्रो खेती हुँदै आएको छ, त्यसका अलवा गाउँपालिकाको गिरुबारी, वेलुवा क्षेत्र र कावासोती नगरपालिका चारको हसौरामा काँक्रो खेती बढी हुने गरेको उहाँले बताउँनुभयो । यहाँ उत्पादन भएको काँक्रोको मुख्य बिक्री बजार काठमाडौँ र पोखरा हो उहाँ भन्नुहुन्छ । त्यस बाहेक स्थानीय बजारमा समेत उच्च खपत हुने गरेको छ ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *