७७ वर्षीय अर्यालको लाेभ लाग्दो ड्रागन खेती :वार्षिक आम्दानी दस लाख गर्दै

गुल्मी, बडिगाड गाउँँपालिका-५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट( सिउँडी फल ) खेतीबाट वार्षिक दस लाख रूपैयाँ आम्दानी गर्न थाल्नुभएको छ ।बागलुङको बडिगाड गाउँँपालिकामा जन्मिनुभएका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका-१ भर्माचौर हो । त्यही ठाउँमा अर्यालले तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ । अर्यालले चार रोपनी जग्गामा तीन सय पोल गाडेर ड्रागन फ्रुटको खेती गर्दै आउनुभएको छ । उहाँको बगैँचामा रहेका हरेक पोलमा एक हजार दुई सय ड्रागन फ्रुटका बोटहरू रहेका छन् । अहिले तिनै सिउँडी फल बोटबाट मात्रै गत वर्ष बीस क्वीन्टल ड्रागन फ्रुट फल उत्पादन भएको ७७ वर्षिय अर्याल बताउँनुहुन्छ । यसपटक भने उहाँको बगैंचाले तीस क्वीन्टल ड्रागन फ्रुट उत्पादन हुने उहाँले अनुमान गर्नुभएको छ । बगैंचा विस्तार गर्नका लागि उहाँले गत वर्षदेखि ड्रागन फ्रुटका बिरुवा समेत उत्पादन गर्न थाल्नुभएको छ ।

अर्यालले बगैँचामा पन्ध्र जातका अठार हजार भन्दा बढी बिरुवा उत्पादन गर्नुभएको छ । उत्पादित बिरुवा पचास रूपैयाँदेखि दुई सय पचास रूपैयाँसम्ममा बिक्री गर्ने गरेको उहाँले बताउँनुभयो । उहाँले उत्पादित ड्रागन फलले बजार पाए पनि बिरुवाले भने बजार पाउन नसकेको अर्याल भन्नुहुन्छ । उहाँकाे बगैंचामा उत्पादन भएको ड्रागन फ्रुट अहिले बजारमा प्रतिकिलो पाँच सय रूपैयाँमा बिक्री हुने गर्दछ । गत वर्ष उहाँले ड्रागन फ्रुट बिक्री गरी दश लाख रूपैयाँ आम्दानी गरेको बताउँनुभयो । बडिगाड-५ ग्वालीचौरस्थित भानु माध्यमिक विद्यालयमा ३३ वर्ष प्राधानाध्यापकको जिम्मेवारी सम्हालेर १५ वर्ष अघि शिक्षण पेशाबाट अवकाश पाउनुभएका अर्याल यतिबेला ड्रागन फ्रुटकाे खेतीमा रमाउनुभएको छ ।

उमेरले ७७ वर्ष टेक्नुभएका अर्यालका छोरा रोजगारीको क्रममा अमेरिका र अष्टेलियामा हुनुहुन्छ । बुढेसकालमा छोरासँग देश विदेश घुमेर रमाउने समयमा पनि उहाँ गाउँँमै रहेर कृषि कर्ममा रमाइरहनु भएको छ । अर्यालको याे सक्रियताले गाउँँघरका धेरै व्यक्तिलाई प्रेरणा र ऊर्जा मिलेको छ । “सुरुमा मैले यो पेशालाई अगाँल्दा गाउँँलेलाई पत्यारै लागेन,धेरै जनाले यी पोल गाडेर याे के उपद्रो गर्न थाले होलान् बुढाले बुढेसकालमा नाक चिम्राउँथे, गाउँलेहरू अझ कतिले यो नहुने काम गर्यो भनेर भने । तर गरे त हुँदोरहेछ नि”, ७७ वर्षीय अर्यालले भन्नुभयो । आजभोलि तिनै नाक चिम्राउने र विश्वास नगर्नेहरु अर्यालले बगैँचामा ड्रागन फ्रुट उत्पादन गरेको देखेपछि अचम्मित हुन पुगेका छन् ।

अहिले व्यवसायिक रूपमा कृषि खेती गर्नेहरूका लागि स्थानीय सरकारहरूबाट पनि कृषकलाई अनुदान उपलब्ध गराउने नीति प्रायः सबै स्थानीयतहमा बनेको छ मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी भन्नुहुन्छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीले उहाँ ७७ वर्षीय वुवाले गरेको कृषि कर्मले समाजमा केही अवसर नै छैन भन्नेका लागि सन्देश दिएको छ। उहाँको रहर लाग्दो कृषि कर्मले बुढ्यौलीमा ओरालो लाग्दै गरेको उमेर,कपाल फुल्दै गर्दा पनि अर्यालको याे सक्रियता र हिम्मत जाेसजाँगर हेर्दा अझै पनि कुनै तन्नेरीहरूको भन्दा कम छैन ।कृषिमा पाउने कुनै पनि अनुदान आफूले कुनै स्थानीय तहबाट कुनै अनुदान नलिएको बताउँनुभयो । “यसमा बीस लाख रूपैयाँ बढी मेरो लगानी भइसकेको छ,यसले अबकाे २०/२५ वर्षसम्म राम्रो आम्दानी दिन्छ”, उहाँ भन्नुहुन्छ । अर्यालले बाँझिएको खेत बारीमा आफ्नै एकल प्रयासमा बाँझिएकाे जमिनमा मेहनत एवं पौरखले सिञ्चित गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ पछिल्लो समयमा धेरै व्यक्तिहरू गाउँँ छाडेर परिवारसँगै सहर पसेता पनि आफू आफ्नो दम्पतिका साथ हाँसी खुसीले गाउँँमै कृषि कर्ममा रमाइरहेको उहाँ बताउँनुहुन्छ ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *