पाल्पा,सहिद दिवसकाे अवसरमा साहित्यकार लेखक एवं कवि तेजनारायण ढकालको ‘मानव’ कविता संग्रह विमोचन गरिएको छ । सहिद दिवसको अवसरमा साहित्यकार लेखक एवं कवि ढकालद्वारा प्रकाशन गरिएको पुस्तकलाई तानसेनमा विमोचन गरिएको हो ।लेखकद्वारा प्रकाशन गरिएको कृति त्रिभुवन बहुमुखी क्याम्पस तानसेन, पाल्पा क्याम्पस प्रमुख एवं साहित्यका डा. टंकप्रसाद पन्थ, पत्रकार सेनानी मेघराज शर्मा, नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष कमल तिमिल्सिना, तानसेन बहुमुखी क्याम्पस प्रमुख एवं साहित्यकार पुष्कर अथक रेग्मी तथा कृति सर्जक तेजनारायण ढकालकाे अध्यक्षतामा भएको कार्यक्रममा उक्त कृतिलाई संयुक्त रूपमा विमोचन गरिएको थियोे ।
कृतिमाथि समीक्षात्मक गर्दै साहित्यकार पुष्कर अथक रेग्मीले ३३ वटा अनुष्टुप शैलीमा समाविष्ट रहेको बताउँदै कविताहरू सरल र विचार प्रधान भएको बताउँनुभयाे । उहाँले समीक्षात्मक विचार राख्नुहुँदै सर्जकले कवितामार्फत वर्तमान समयमा मानव क्रियाकलाप, नाता सम्बन्ध, वर्गीय चेतना, जीवन दर्शन लगायत सन्देश मुखरित गरेको छ भन्नुभयो । कृति विमाेचन कार्यक्रममा प्रमुख अतिथि एवं त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा क्याम्पस प्रमुख डा.टंक पन्थले नयाँ प्रतिभाबाट छन्दमा कृति प्रकाशन हुनु नेपाली भाषा साहित्यको लागि साझा सम्पत्ती हुने बताउँनुभयाे । उहाँले ढकालको कृतिबाट मानव शिर्षककाे कविता वाचन गर्दै राष्ट्रको योगदानका लागि स्रष्टाले आफ्नो सिर्जनाहरू मार्फत भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिदै विचार राख्नुभयाे।
विमाेचन कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिेना, वरिष्ठ पत्रकार मेघराज शर्मा, प्रगतिशिल लेखक संघ पाल्पाका अध्यक्ष रामप्रसाद अर्याल लगायतले कविताहरूमा समसामयिकताको यथार्थभाव, मानवीय स्वभाव, सद्भाव स्वतन्त्रता लगायतका विषयवस्तु सशक्तरूपमा अटाएको भन्दै स्रष्टा ढकाललाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।कार्यक्रम स्रष्टाएवं कृति प्रकाशक तेजनारायण ढकालको अध्यक्षता र पत्रकार, स्वतन्त्र पत्रकार संघ पाल्पा अध्यक्ष एवं साहित्यकार भोजराज भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



