प्रेस चौतारी नेपाल पाल्पा शाखाद्वारा सञ्चार श्रमिक सम्मानित

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाले १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा जिल्लास्थित सञ्चार माध्यमहरुमा कार्यरत श्रमिकहरुलाई सम्मान गरेको छ । प्रेस चाैतारी नेपाल पाल्पाले अन्तर्राष्ट्रिय श्रमिक दिवसकोअवसर पारेर पाँच जना सञ्चार श्रमिकहरुलाई सम्मान गरेको हो । प्रेस चाैतारीकाे सम्मानित हुनेहरुमा सूर्यबहादुर थापा, राजेश शाही, मानबहादुर भुजेल,कम्प्युटर अपरेटर सिर्जना बोहोरा र निरञ्जन पौडेल रहनुभएकाे छ । ठूूलो पदमा बस्ने, टाठाबाठाहरुलाई मात्र समाजमा सम्मान गर्ने परम्परालाई तोड्दै प्रेस चौतारी नेपालले सञ्चार गृहमा रही पर्दा पछाडीका हिरोहरुलाई खोजी खोजी सम्मान गरेको हो । प्रेस चाैतारीले विशुद्ध श्रमिकहरूकाे कामकाे प्राेत्साहनका लागि सम्मान गरेको छ।

पाल्पा रामपुरमा कार्यरत सम्मानित मानबहादुर भुजेल शारिरिक रुपमा फरक क्षमताका व्यक्ति हुनुहुन्छ । उहाँ पृथ्वी टेलिभिजन रामपुरमा क्यामेरामेनको रुपमा काम गर्दै आउनुभएको छ । उहाँले प्रेस चाैतारी नेपालले आफु जस्ता श्रमिकहरुलाई खोजीखोजी सम्मान गरेकोमा खुसी व्यक्त गर्नुभयाे । काम गर्दै गएपछि कहिँ न कहिँबाट सम्मानित भईदो रहेछ उहाँ भन्नुहुन्छ, “आज म सम्मानित हुन्छु भनेर सोचेको पनि थिएन । तर मलाई प्रेस चौतारीले सम्मान गर्‍याे म एकदमै खुसी छु”, सम्मानित भुजेलले भन्नुभयाे ।

सम्मानित अर्का व्यक्ति हुनुहुन्छ- सूर्यबहादुर थापा । उहाँ पाल्पाकाे पुरानो प्रेसमा सिसाका अक्षरहरु मिलाएर पत्रिका छाप्ने व्यक्ति पनि हुनुहुन्छ । पाल्पामा पहिलो कम्प्युटर अपरेटर भएर पत्रिका डिजाईन गर्ने व्यक्तिको पहिचान बनाएर थापा पछिल्लो क्रममा ओझेलमा रहनुभएकाे थियाे । विभिन्न पत्रिकाहरुमा तीस बर्ष भन्दा बढी समय काम गरियो आज प्रेस चौतारी नेपाल पाल्पा शाखाबाट सम्मानित हुँदा आत्मसम्मान बढेको थापाले भन्नुभयो । पाल्पाबाट प्रकाशित हुने प्रायः सबै जसाे पत्रपत्रिकाका एक्ला वितरक हुन राजेश शाहीले विहान ६ बजेदेखि राती ६ बजेसम्म तानसेनमा पत्रिकाका ग्राहककोे घरघरमा पत्रिका वितरण गर्दै आउनुभएकाे छ । वितरण काम गरि रहनुभएका शाही सञ्चार श्रमको कदर स्वरूप चाैतारीले सम्मान गरेको हो । “म दिन भरी पत्रिका बोकेर बजार डुल्छु तर आज प्रेस चौतारीले सम्मान गर्दा खुसी लागेको छ ” पत्रिका वितरक शाहीले भन्नुभयो ।

अर्की सम्मानित सिर्जना बोहोरा लामो समयदेखि पाल्पामा बसेर सञ्चार गृहमा पत्रपत्रिकाको कम्युटर सेटिङ्ग डिजाइनको काम गर्दै आउनुभएको महिला हुनुहुन्छ । उहाँ सञ्चारकर्मी महिलाको प्रतिनिधित्व गर्दै सम्मानित हुँदा सञ्चारमा काम गर्ने जोश जागर बढेको सम्मानित बोहोराले बताउँनुभयाे । रेडियो प्राविधिक निराजन पौडेलले दस वर्ष भन्दा बढी समय पाल्पाका विभिन्न रेडियोहरुमा काम गरिसकेकाेले अनुभवी एवं कुशल प्राविधिक हुनुहुन्छ ।

सम्मानित हुनुहुने सञ्चार गृहका सञ्चार श्रमिक पाँचै जनालाई प्रेस चौतारी नेपालले एक दिनको ज्याला बराबरको पारिश्रमिक समेत प्रदान गरेको छ । उहाँहरुलाई विना पारिश्रमिक सम्मान कार्यक्रममा बोलाउदा उहाँहरुको श्रमकाे ज्याला गुम्ने भएकाले प्रेस चौतारी नेपाल पाल्पाले एकदिन बराबरको पारिश्रमिक पनि उपलब्ध गराएको हो । चाैतारीकाे सम्मान कार्यक्रममा नेकपा एमाले पाल्पा अध्यक्ष ओमबहादुर घर्तिमगर, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य मिलन विश्वकर्मा, नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष कमलराज तिमिल्सेना, नेकपा एमाले पाल्पाका प्रचार विभाग सचिव रेखीराम राना, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारीका अनुशासन आयोगका पुर्व केन्द्रीय उपाध्यक्ष भगवान भण्डारी लगायतले प्रेस चौतारी नेपाल पाल्पा शाखाले गरेको सञ्चार श्रमिक सम्मान कार्यक्रम अत्यन्त नौलो र प्रभावकारी भएको बताउनुभएकाे छ ।

चौतारी शाखा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, उपाध्यक्ष शोभाकान्त पाठकको स्वागत एवं सचिव दयाराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *